बेसीशहर– लमजुङमा अपाङ्गता भएका व्यक्तिका लागि सञ्चालन गरिएको दुई दिने आधारभूत पत्रकारिता तालिमको समापन भएको छ । अपाङ्ग संरक्षण समाज लमजुङको आयोजना र सूचना तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा सो तालिम असार १९ गते यहाँ समापन गरिएको हो ।
बेसीशहर नगरपालिका– ८ का वडाध्यक्ष पवित्रा थापा रानाको प्रमुख आतिथ्यतामा सो तालिमको समापन गरिएको हो । तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै आफूले अपाङ्गता भएका व्यक्तिका हकमा बजेटको प्रवन्ध गरी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो । उहाँले यो तालिम यहाँहरूको जीवन रुपान्तरणका लागि थप सहज बनाउने विश्वास आफूले लिएको उल्लेख गर्नुभयो । जुनकुनै पनि क्षेत्रमा सफल हुनका लागि सीप र मेहनतको जरुरी हुन्छ भन्दै उहाँले अब लमजुङमा फरक क्षमता भएका व्यक्तिहरूको पनि पत्रकारितामा पहुँच हुनेछ भन्ने धारणा राख्नु भयो । तपाईहरूका लागि एडभान्स तालिमको आवश्यक पर्छ भने पनि आफूले वडाबाट पनि त्यसको प्रवन्ध गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएकोछ ।
‘समावेसी र दिगो भाविष्यको पुर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार ।’ नाराका साथ सो तालिम सञ्चालन गरिएको हो । तालिममा अपाङ्गता भएका व्यक्तिहरू, तिनका अभिभावक तथा सहयोगीका लागि सो तालिम दिइएको हो । सो तालिममा १८ जनाले भाग लिएका थिए ।
समापनका अवसरमा तालिमका मुख्य प्रशिक्षक एवम् वरिष्ठ पत्रकार नवराज पहाडीले तपाईहरूलाई यो दुर्ई दिनको बसाईमा पत्रकारिताप्रति भोक जगाउन सकियो भन्ने लागेको बताउनुु भयो । उहाँले भोक मेट्नका लागि यहाँहरू सक्षम हुनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै तपाईहरूको चाहना भयो भने यहाँहरूलाई तातेताते गर्न आफू सदैव तयार रहेको जानकारी दिनु भयो ।
अर्को एक प्रसङ्गमा प्रमुख प्रशिक्षक पहाडीले हाम्रो देशमा जुन खालको विकासको गति हुनु पर्ने र सुशासनको प्रत्याभूति हुनुपर्ने हो त्यो नहुनुमा नेताहरू मात्र दोषी छैनन्, उनीहरूलाई उचित खबरदारी गर्न नसक्ने पत्रकार जगत पनि उत्तिकै दोषी छौं भन्ने अनुभूति छ भन्नुभयो । उहाँले त्यो अभाव यहाँहरूको भोलिका दिनमा यो क्षेत्रमा हुने क्रियाशीलताले केही हदसम्म भने पनि मेट्ने काम गर्नेमा आफू आशावादी भएको बताउनुभयो ।
सो अवसरमा प्रशिक्षक एवम् पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य किसान संगीत नेपाली, पत्रकार महासंघ गण्डकीका निवर्तमान सदस्य कमला केसीले शुभकामना व्यक्त गर्नु भएको थियो । तालिमका सहभागीहरू काशीराज गुरुङ, प्रमिला रेग्मीले आ–आफ्नो अनुभव व्यक्त गर्नु भएको थियो ।
आजको प्रशिक्षणमा पहाडीले विभिन्न घट्नासँग जोडिएका समाचार लेखन अभ्यास पत्रकारितामा प्रयोग हुने शब्द र तिनको चयन वा प्रयोग गर्ने तरिकाको उदाहरण सहित प्रस्तुत गर्नु भएको थियो । साथमा, जिल्लाका चार कार्यालयहरू मालपोत, प्रदेश अस्पताल, रेडक्रस शाखा र हातेमालो साकोसको स्थलगत अवलोकन गर्न लगाई प्राप्त प्रतिवेदनका आधारमा समाचार लेखन अभ्यास कार्य गराउनु भएको थियो ।
त्यस्तै, किसान संगीतले अन्तरवार्ता (इन्टरभ्यू) के हो ? कसरी लिने ? तयारी, प्रश्न बनाउने तरिका, अभिलेखन÷नागरिक पत्रकारिता, मोबाइल पत्रकारिता र डिजिटल माध्यम सामाजिक सञ्जालको उपयोग, गलत सूचना विरुद्ध सतर्कता÷क्रस– भेरिफिकेशन, अफ–द–रेकर्ड, गोपनीयता आदि बारेमा प्रकाश पार्नु भएको थियो ।
त्यस्तै, राससका जिल्ला प्रतिनिधि विराट न्यौपानेले डिजिटल साक्षरता, एआई बारेका साथै मोबाइलबाट समाचार संकलन, प्रशासण बारेमा सैद्धान्तिक र प्रयोगात्मक रुपमा जानकारी दिने काम गर्नुभएको थियो ।
तालिमको समापनमा आयोजक अपाङ्ग संरक्षण समाज लमजुङका अध्यक्ष चन्द्रकान्त पौडेलले कार्यक्रमका प्रमुख अतिथि, प्रशिक्षणका लागि सहयोगी सूचना तथा प्रविधि मन्त्रालय, प्रशिक्षकहरू तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । साथै सहभागीलाई पत्रकारिताका स्थापित गर्नका लागि सहयोग गर्ने समेत उहाँले उल्लेख गर्नुभयो ।
सो तालिममा पहिलो दिन पत्रकार महासंघका सस्थापक जिल्ला अध्यक्ष एवम् पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य नवीनराज कुइँकेल र पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसीले प्रशिक्षण दिनु भएको थियो ।
सो कार्यक्रमको सञ्चालन आयोजक अपाङ्ग संरक्षण समाज लमजुङका सचिव सिताराम बसेलले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८२ असार १९, बिहीबार २१:४५ गते