बेसीशहर– सामाजिक विकास कार्यालय लमजुङद्वारा बेसीशहर नगरपालिका– ७ चण्डिडाँडा स्थित जनविकास माविमा १० दिने आइ.सि.टी.बुट क्याम्प तथा जब फेयर तालिमको समापनमा उत्कष्ट पाँच जना पुरस्कृत भएका छन् । असार १० गते सुरु भएको तालिमको समापन कार्यक्रममा असार १९ गते उक्त सम्मान गरिएको हो ।
युवाहरूलाई सुचना प्रविधिको प्रयोगमा दक्ष बनाउने उद्देश्यले आयोजना गरिएको आइ.सि.टि बुट क्याम्प तथा जब फेयर तालिमको आयोजना गरिएको सामाजिक विकास कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले वताउनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न स्थानबाट २४ जना शिक्षकहरूले भाग लिएको उक्त तालिममा प्रविण वाग्ले र कमल कुवँरले प्रशिक्षण दिनुभएको थियो । तालिम अवधिमा उत्कृष्ट सीप सिक्ने चार जनालाई पुरस्कृत गरिएको छ । मध्यनेपाल नगरपालिका– ३ का सर्वोदय मावि दुराडाँडाका शिक्षक रामकुमार श्रेष्ठ पहिलो, बागेश्वरी मावि दुधपोखरीका रेमन क्षेत्री दोस्रो तथा भक्ति नमुना मावि भोटेवडारकी सलिना तामाङ तेस्रो भएको आयोजकको भनाइ छ । यसैगरी, जनकल्याण माविका एसुप गुरुङ र कुशुमाकर माविका रोश्नी श्रेष्ठ सान्त्वना स्थान हासिल गर्नु भएको छ ।
पहिलो, दोस्रो र तेस्रो हुनेहरूलाई क्रमशः नगद १० हजार, ८ हजार, ५ हजार तथा सान्त्वना स्थान हासिल गर्ने दुई जनालाई तीन/तीन हजार नगद पुरस्कारका साथमा सहभागी सबैलाई प्रमाणपत्र दिइएको छ ।
समापन कार्यक्रम जिल्ला समन्वय समितिका लमजुङका प्रमुख पूर्णबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको हो । उहाँले अहिलेको युग सूचना प्रविधिको युग भएको हुँदा हरेक व्यक्तिमा प्रविधि सम्वन्धी ज्ञान सीप हुन आवश्यक रहेको बताउनुभयो । उहाँले रोजगारी सृजना, उद्यमशीलता विकासका लागि सुचना प्रविधिसम्वन्धी आधारभूत ज्ञान सीप अत्यावश्यक छ, १० दिनको अवधिमा सिकेको ज्ञानलाई सदुपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले जोड दिदै भन्नुभयो ‘सूचना तथा प्रविधि र अनलाईन सम्वन्धी प्रशिक्षण निकै उपयोगी र समयसापेक्ष रहेको भन्दै यस तालिमले युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुर्याउने छ ।’
तालिमको आयोजक सामाजिक विकास कार्यालयका प्रमुख मिताकुमारी थापाले डिजिटल क्षेत्रमा प्राविधिक सीप सुधार र युवाहरूको क्षमता अभिवृद्धि गर्नका लागि तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले कार्यलयले उद्यमशीलता विकासका लागि विभिन्न सीपमूलक तालिम, बालबालिकाका क्षेत्रमा विभिन्न क्षमता अभिवृद्धि र प्रतिभा पहिचान कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । १० दिनको उक्त तालिम सहभागीहरूलाई सुचना प्रविधि सम्वन्धी दक्षता हासिल गर्न, सकरात्मक प्रयोग र रोजगारीका लागि सहयोगी विश्वास लिइएको उहाँको भनाइ छ ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिवाकर शर्माको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन सामाजिक विकास कार्यालयका लेखा अधिकृत बलबहादुर अछामीले गर्नुभएको थियो ।
प्रकाशित मिति २०८२ असार २०, शुक्रबार ०९:२१ गते