भव्य समारोहका बीच वडानं– २, सुन्दरबजार गण्डकी प्रदेशकै पहिलो बालमैत्री तथा पोषणमैत्री शासनयुक्त वडा घोषणा

भव्य समारोहका बीच वडानं– २, सुन्दरबजार गण्डकी प्रदेशकै पहिलो बालमैत्री तथा पोषणमैत्री शासनयुक्त वडा घोषणा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असार २१ गते शनिवार ०८:०५

बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन प्रर्वद्धनका लागि जस्तोसुकै परिस्थितिमा पनि निरन्तर लागिरहने प्रतिवद्धताका साथ कार्यक्रमका प्रमुख अतिथि कोइरालालगायतका सारोकारवालाहरूले हस्ताक्षर गर्नु भएको छ ।

‘सुन्दरबजार नगरको शान– बालमैत्री तथा पोषणमैत्री नगर हाम्रो अभियान’ भन्ने नाराका साथ सो कार्यक्रम भएको हो ।

परेवाडाँडा(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिका वडा नं २ बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले सो वडालाई गण्डकी प्रदेशकै पहिलो बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनयुक्त वडा घोषणा असार २० गते गर्नुभएको हो ।
‘सुन्दरबजार नगरको शान– बालमैत्री तथा पोषणमैत्री नगर हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजित भव्य समारोहमा उदघाटन मन्तव्य व्यक्त गर्दै मेयर कोइरालाले जिल्लाका अन्य वडाहरू पनि बालमैत्री घोषणा भए पनि परेवाडाँडा बालमैत्री र पोषणमैत्री दुबै एकैसाथ घोषणा भएको प्रदेशकै पहिलो वडा हो भन्नुभयो । मेयर कोइरालाले २०८४ सम्म नगरपालिकालाई बालमैत्री घोषणा गर्न आफूहरू लागि परिरहेको बताउनु भयो । उहाँले बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन पद्धतिलाई दिगो बनाई राख्न, बाल अधिकारको संरक्षण र सम्मान, आवश्यक लगानी सुनिश्चितता र बालवालिकाको सर्वोत्तम हितको प्रत्याभूतिको लागि सवै सरोकारवालाहरू विच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटनलगायतमा नगरपालिकाले जिल्लामै अग्रणी रुपमा कार्य गरी समृद्ध सुन्दरबजार बनाउने लागि परिरहेको उहाँको दावी थियो । एसइइमा गत वर्ष र यो वर्ष जिल्लाका पालिकामा टप गर्न सक्नु त्यसको उदाहरण हो भन्नुभयो । आउँदो वर्ष सबै वडा कार्यालयमा पक्की सकड पुग्ने उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाका प्रवक्ता समेत रहनु भएका वडा अध्यक्ष नविनकुमार श्रेष्ठले सुरुका दिनमा यो काम यसरी गर्नु पर्छ भन्ने ज्ञान नभएको हुँदा केही अप्ठेरो पनि अनुभूति भयो तर काम गर्न थालेपछि सम्भव छ भन्नेदेखियो र परिणाम यहाँहरूमा सामु छ भन्नुभयो । उहाँले सुन्दरबजार नगरपालिका– २ मा पाँच वर्ष मुनिका बालबालिकाको जन्मदर्ता दर सत प्रतिशत रहेको, विद्यालय उमेरका सबै बालबालिका विद्यालय पुगेका, बालविवाह नभएको, बालश्रममुक्त, बालबालिकाले पूर्ण खोप पाएका, बालमैत्री कक्षाकोठा, छात्रवृत्ति वितरण, पोषणयुक्त दिवा खाजा लगायतका ५१ वटा सूचक पूरा भएकाले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो भन्नुभयो ।
उहाँका अनुसार आफ्नो वडामा स्वास्थ्य चौकीबाट नियमित रुपमा मातृ तथा शिशु स्वास्थ्य सेवा प्रदान, पाँच वर्ष मुनिका बालवालिकाको पोषण अवस्था जाँच तथा किशोरी लक्षित महिनावारी शिक्षा लगायका कार्यक्रम नियमित सञ्चालन गरी पोषणमैत्री स्थानीय तह कार्यन्वयन निर्देशिका २०७८ ले तोकेका ३४ वटा सूचकहरू पुरा गरी पौषणमैत्री घोषणा गरिएको हो । उहाँले भन्नुभयो, ‘यो एक ऐतिहासिक कार्य भएको छ, यस कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सबैप्रति कृतज्ञ छौं ।’
कार्यक्रममा सुन्दरनगरपालिका प्रशासकीय अधिकृत रमेश घर्तीले बाल अधिकार र बालपोषणलाई अग्रस्थानमा राखेर काम गरेको हुँदा आजको परिणाम आएको हो भन्नुभयो । उहाँले यो कार्यमा सहयोग गर्नु हुने सबै बधाई योग्य हुनुहुन्छ । उहाँले वडानं– ८ पनि यस्तो घोषणाको तयारीमा रहेको जानकारी दिदै नगरपालिकाका बाँकी ९ वडामा पनि यसरी नै काम गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
सो घोषणामा सहजिकरण गरिआएको गैसस आरसिडिसिका संस्थापक अध्यक्ष राजेन्द्र बोहराले आजको दिन विशेष दिन भएको बताउनु भयो । उहाँले हामीले दोस्रो पुस्ताका लागि काम गरिरहरेका छौं यो गर्वको कुरा हो र हामी सबै बधाईका पात्र छौं भन्नुभयो ।
सो अवसरमा उक्त वडामा १३ वटा टोल विकास समिति क्रियाशील रहेको हुँदा सबैलाई सम्मान गरिएको थियो भने विभिन्न आमा समूह, युवा क्लब, विभिन्न उपसमितिका संयोजकहरू लगायत सहयोगी संस्था तथा व्यक्तिहरूलाई पनि प्रशंसापत्र वितरण गरिएको थियो ।
उक्त वडालाई बालमैत्री तथा पोषणमैत्री वडा निमार्ण तथा घोषणा गर्नको लागि आवश्यक सूचकहरू पूरा गर्ने सन्दर्भमा जिल्लामा क्रियाशील गैरसरकारी सस्थां ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी तथा वल्र्ड भिजनले सहजीकरण गर्दै आएको थियो ।
यस घोषणासँगै वडा नं २ ले पोषण तथा बालअधिकार क्षेत्रमा उदाहरणीय उपलब्धि हासिल गरेको छ । वडामा आमा समूह, युवा क्लब, विद्यालय, स्वास्थ्य संस्था तथा विभिन्न संघ–संस्थाको सहकार्यमा पोषण र बालअधिकार सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुँदै आएका छन् । साथै, स्वास्थ्य परीक्षण शिविर, पोषण शिक्षा तालिम, विद्यालय पोषण बगैंचा, सामुदायिक स्वच्छता अभियान लगायतका कार्यक्रमले पनि महत्वपूर्ण योगदान पु¥याएको वडा कार्यालयले जनाएको छ । स्थानीय सरकारको यस्तो कदमले समग्र नगरपालिकामा बालबालिका र आमाको स्वास्थ्य, शिक्षा, पोषण तथा अधिकारका सवालमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
सो अवसरमा विषयगत शाखा प्रमुख तथा कर्मचारीहरू, वडाअध्यक्षहरू, कार्यपालिका सदस्य तथा वडा सदस्य, कार्यक्रम संयोजक तथा कर्मचारीहरू, वल्र्ड भिजनका जिल्लाका संयोजक शुक्रराज गुरुङ, राजनीतिक दलहरूका प्रतिनिधि, आमा समूह, बालक्लव, शिक्षक विद्यार्थी, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।
बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन प्रर्वद्धनका लागि जस्तोसुकै परिस्थितिमा पनि निरन्तर लागिरहने प्रतिवद्धताका साथ कार्यक्रमका प्रमुख अतिथि कोइरालालगायतका सारोकारवालाहरूले हस्ताक्षर गर्नु भएको छ ।
उक्त भव्य कार्यक्रममा केही दृश्य भने दाँतमा ढुंगा लागे जस्तै देखिए । सो अवसरमा प्रस्तुत गरिएका कतिपय गीत र नृत्यहरू कार्यक्रमको उद्देश्य वा चरित्रसँग मेल खाने भने थिएनन् । पछिल्ला वर्षहरूमा संगीतको नाचमा एकल नाचलाई महत्व दिन छाडिएको भए पनि त्यहाँ त्यस्ता दृश्य देखिए । अर्कोतिर त्यसमा कुसुण्डे टोल विश्वकर्मा मिलिजुली गुठी संस्थाको तर्फबाट प्रस्तुत गीत र नाच राम्रो हुँदाहुँदै पनि गीतको बोल भने कार्यक्रम सुहाउँदो नभएको टिप्पणी गरिएको थियो । त्यो गुठी संस्थाका इन्द्रा विक, माया चुदारा र सरिता विकले गायन, दीपिका सुनारले नाच र सूर्य परियार र अर्जुन विकले बाध्यवादन प्रस्तुत गर्नु भएको थियो ।
यसैगरी दर्याम् दर्याम, कर्याम् कर्याम् भन्ने बोलकोे गीत लगायतका नाच र कार्यक्रमको सान्दर्भिकतासँग मेल नखाएको भन्दै दर्शकदीर्घामा एक अर्काबीच प्रश्न उठाउने काम भएको थियो ।
सोही वडाका नगर बाल सञ्जालका सदस्य द्वय विद्या ज्योती मावि कक्षा ८ का अनुपम गौली र कान्ति मन्दिर माविमा कक्षा १० की सुभेच्छा परियारले उक्त कार्यक्रमको आकर्षक रुपमा सञ्चालन गर्नुभएको थियो । उनीहरूको उदघोषण कलाको सबैले तारिफ गरेका थिए ।

प्रकाशित मिति २०८२ असार २१, शनिबार ०८:०५ गते
हजुरको प्रतिक्रिया