पाँउदी(लमजुङ)– हरेक वर्ष साउनका सोमबारहरूमा हुने बोलबम यात्रा यसवर्ष लमजुङमा भव्य रूपमा सञ्चालन गर्ने तयारी थालिएको छ । लमजुङमा नवस्थापित धर्मनाथ धाम, राइनास नगरपालिका– ८ स्थित सर्वोदय सेवा आश्रममा हुने भएको पत्रकार सम्मेलनको आयोजना गरी आयोजक बोलबम जलयात्रा तयारी समितिले असार २२ गते बताएको हो ।
सनातन संस्कृतिका अनुयायीहरूले हरेक बर्ष साउन महिनाको सोमबारका दिन बोलबम यात्रा गर्ने गर्दछन् । धर्मनाथ धाममा पहिलो वर्षमै यो कार्यक्रम विषेश व्यक्तित्वहरूको सहभागितामा गरिने भएको सर्वोदय सेवा आश्रमका अध्यक्ष एवम् धर्मनाथ धामका परिकल्पनाकार कृष्णराज ओलियाले बताउनु भयो । उहाँका अनुसार बाह्य जिल्लाबाट तिर्थालु भक्तजनको उपस्थितिमा धर्मनाथ धामबाट बोलबम यात्रा हुन लागेको हो ।
उहाँले भन्नुभयो, ‘यसले धर्मनाथ धामको प्रचारप्रसार सँगै धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरीएको छ, यो मेला जिल्लामै पहिलो हो ।’
उक्त बोलबम जलयात्रा साउनको पहिलो सोमबार ५ गते सञ्चालन गर्ने कार्यक्रम रहेको अध्यक्ष ओलियाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त यात्राका लागि बोलबम समितिका अध्यक्ष दिपेन्द्र तिवारी तथा पूर्वसांसद सनातन ज्ञानविज्ञानका अभियन्ता शंकरप्रसाद पाण्डेको नेतृत्वमा देशका विभिन्न स्थानबाट करिब ८० जना भक्तजनको टोली साउन ४ गते लमजुङ आउने भएका छन् । भगवान शिवको महिमा र आस्था दर्शाउने भक्तजनहरू स्वच्छाले बोलबम यात्रामा सहभागी हुन सक्ने छन् ।
पाहुनाहरूको उक्त टोली साउन ४ गतेका दिन राइनसकोट हामस्टेमा बस्ने भएको आश्रमका उपाध्यक्ष सुकदेव रिसालले बताउनु भयो ।
साउनको चारवटै सोमबार धर्मनाध धाममा रहेका १०८ धारामा स्नान, पुजाअर्चना, कथावाचन, भजन किर्तन सहित शिवलिङ्गमा जलार्पण लगायत धार्मिक अनुष्ठानका कार्यक्रम गरिने सर्वोदय सेवा आश्रमका प्रचारप्रसार संयोजक लक्ष्मीप्रसाद मिश्रले बताउनुभयो ।
उक्त अवसरमा प्रधान खाद्य उद्योगका प्रोपाइटर ध्रुवकुमार प्रधानले आफ्नो प्रधान परिवारका तर्फबाट यस सर्बोदय सेवाश्रम धर्मनाथ धाम परिसरमा प्रधान विश्राम चौतारी निर्माण गर्नुका साथै वैदिक विधि पूर्वक वर पिपल वृक्षका साथै समी, वेल र पारीजातको बिरूवा सपरिवारबाट रोपण गर्नु भएको छ । उक्त चौतारी निर्माणको लागत एक लाख रूपैंया रहेको आश्रमका सदस्य चिजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
धार्मिक स्थललाई मानव सेवासँगै जोडेर अघि वढ्ने क्रममा विभिन्न धार्मिक संरचना निर्माण गरिएको आयोजक संस्थाका कोषाध्यक्ष भुमिनन्द तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार साउन महिनाको प्रत्येक सोमबार धर्मनाथ धाममा सामूहिक रुद्रि पाठ पुजा गरिने कार्यक्रम तय गरिएको छ ।
-लक्ष्मी प्रसाद मिश्रकाे सहयाेगमा
प्रकाशित मिति २०८२ असार २२, आईतवार २१:४४ गते