काठमाडौं– नेपाली कांग्रेसमा महाअधिवशेनको सरमर्गी बढेको छ । पार्टीका महामन्त्री गगन थापाले २०८३ को मंसिर भित्रै १५ औं महाधिवेशन हुने बताउनु भएको छ । महामन्त्री थापाले पार्टी केन्द्रीय समिति बैठकको अन्तिम दिन आफ्नो धारणा राख्दै २०८३ भन्दा पछाडि लान नहुने असार २३ गते बताउनु भएको हो ।
उहाँले त्यसपछि महाधिवेशन गर्न संवैधानिक र कानूनी आधार समेत नरहने बताउँदै भन्नुभयो, ‘त्यसैले ८३ मंसिरसम्म पनि नपु¥याई सकेसम्म छिटो हामीले ग¥यौं भने स्थानीय निर्वाचनको तयारीका लागि पार्टीले आन्तरिक काम गर्न पाउँछ ।’
पार्टीमा कोही महाधिवशेनको पक्षधर र कोही पक्षमा नभएको जस्तो गरी नेताहरूले प्रचार गर्ने गरेको भन्दै आपत्ति थापाले जनाउ दिनु भएको छ । थापाले जोड दिदै भन्नुभयो, ‘कोही महाधिवेशन गर्ने पक्षको, कोही महाधिवेशन नगर्ने पक्षको, कोही छिटो गर्ने, कोही ढिलो गर्ने, जुन कुरामा हामी कोही पनि छैनौं ।’
विगतमा महाअधिवेशन हुने कार्यतालिका निश्चित भएपछि पनि क्रियाशीलको पोको खोल्ने गरिएको उल्लेख गर्दै यसपटक विधान अनुसार काम गरिएको उहाँको कथन थियो ।
महाधिवेशनबारे आफूलाई केही भन्न आवश्यक नभएको जानकारी दिदै क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक समेत रहनु भएका थापाले समुदाय, नवीकरणको अवस्था, मतदाता लगायतका आधारमा नयाँ सदस्यताको जिल्लागत प्रतिशत तोकिने बताउनु भयो । नवीकरण कति भयो र मतदाता, मतदान कति प्राप्त भयो त्यस आधारमा नयाँ सदस्यताको फर्म जिल्लालाई दिने बताउँदै उहाँले, ‘उदाहरणका रुपमा सबभन्दा बढी रिन्यु भएको चितवन थियो । अब हामीले संघीय निर्वाचनको परिणामहरू राखेर पनि यसलाई यसरी हेर्न पनि सक्छौं ।’ भन्ने उल्लेख गर्नुभयो ।
८० प्रतिशत हाराहारीमा क्रियाशील सदस्यता नवीकरण हुने दावी :
महामन्त्री थापाले ८० प्रतिशत हाराहारीमा क्रियाशील सदस्यता नवीकरण हुने दावी गर्नु भएको छ । आफ्नो क्षेत्र (काठमाडौं– ४) ले क्रियाशील सदस्यता नवीकरण गरेर केही महिना अघि नै सकेको उदाहरण दिदै थापाले क्रियाशील सदस्यता नवीकरणको कार्य भइरहँदा नेताहरूले आफ्नो क्षेत्रको अवस्था के छ ? ख्याल गर्न आग्रह गर्नु भएको थियो । ‘१३ औं महाधिवेशनबाट १४ औं महाधिवेशनमा आउँदा पनि ८१.२ प्रतिशत मात्र क्रियाशील सदस्यता नवीकरण भएको थियो । कोही विदेश जाने, कोही निधन हुनेजस्ता केही कारण थिए ।’ थापाले स्मरण गराउनु भएको थियो । उहाँले यसपटक ८० प्रतिशत हाराहारीमा क्रियाशील सदस्यता नवीकरण हुने देखिएको भन्दै यसलाई वृद्धि गर्न नेताहरूले निर्वाचन क्षेत्रमा मेहनत गर्नुपर्नेमा जोड दिनु भयो ।
नेताहरूलाई थापाले आग्रह साथ भन्नुभयो, ‘महाधिवेशनको बारेमा केही पनि भएको छैन भन्ने कृपया पार्टीका जिम्मेवार नेता साथीहरूले बाहिर नभन्दिनु होला भन्ने मेरो अनुरोध छ, त्यो हो भनेदेखि ठ्याक्कै के भयो भने, महाधिवेशनको सुश्चितता भन्ने हो भनेदेखि पार्टीमा सभापतिलाई वा हामी कसैलाई पनि बोलाएर छलफल गर्न आवश्यक छ ।’
असोजमा बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र कार्यतालिका ल्याउँछ :
महामन्त्री गगन थापाले आगामी असोजमा बस्ने केन्द्रीय समिति बैठकबाट महाधिवेशनेका मिति र कार्यतालिका ल्याउने बताउनु भयो । महामन्त्री थापाले असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५ औं महाधिवेशनको मिति समेत तोक्ने बताउनु भएको होे । गत असार १६ गतेदेखि जारी केन्द्रीय समिति बैठकको समापनमा महामन्त्री थापाले असोजको केन्द्रीय समिति बैठकबाट महाधिवेशनका मिति तोक्ने र कार्यतालिका पनि पारित गर्ने बताउनु भयो ।
उहाँले सदस्यता नवीकरण गर्ने अवधि साउन मसान्तसम्मका लागि तोकिएको जानकारी दिदै भदौसम्म पनि सदस्यता नवीकरण गरेर नपठाउनेहरू महाधिवेशनमा नै छुट्न सक्ने उल्लेख गर्नुभयो । उहाँले नयाँ सदस्यता वितरण महाधिवेनको कार्यतालिकाभित्रै राखेर अघि बढ्ने जानकारी दिनुभयो ।
०८३ को असारमा प्रधानमन्त्री त्याग गर्नुस् : विश्वप्रकाश
यसैबीच, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवालाई २०८३ सालको असारमा काँग्रेसले पाउने प्रधानमन्त्री पद त्याग गरी अन्य कुनै व्यक्तिलाई अघि सार्न सुझाउनु भएको छ ।
सभापति देउवाले हालै चितवनमा गरेको सम्बोधनको प्रशंसा गर्दै सो बैठकमा महामन्त्री शर्माले ०८३ को असारमा प्रधानमन्त्री पद त्यागगरी सगरमाथाको उचाइ कायम राख्न सभापति देउवालाई सुझाव दिनु भएको हो ।
‘मेरो रिटार्यड हुने समय आयो, कांग्रेसलाई एक बनाउने इच्छा छ’ भनेर सभापतिज्यूले बोल्दा यति धेरै प्रशंसा भएको स्मरण गर्दै महामन्त्री शर्माले भन्नुभयो, ‘मेरो आग्रह छ– अवकाशसहित सभापतिले अभिभावकीय भूमिका निर्वाह गर्नुस्। शितल निवासबाट निस्केर पूर्वराष्ट्रपति राजनीतिमा हामफालेका बेलामा यो देशलाई साँच्चै अभिभावकत्व जरूरी छ ।’
सभापति देउवाले अभिभावकत्व लिँदै गर्दा सभापतिको पद र प्रधानमन्त्रीको कुर्सी कसले लिने भन्ने प्रश्न उठ्न सक्नेतर्फ लक्ष्य गर्दै महामन्त्री शर्माले भन्नुभयो, ‘अरूलाई मिलाउने सन्दर्भमा सभापतिले जे सोच्नु भएको छ, सभापतिको सोचलाई हामी सम्मान गर्छौं । सबैलाई एक बनाएर आफू प्रधानमन्त्री बन्ने पनि एउटा सुत्र हुन्छ, अर्को अरू कसैको नाम प्रस्ताव गर्ने र त्यो नाममा सबैलाई एक बनाउने, त्यो पनि एकताको सुत्र हुन्छ । मलाई लाग्छ– ‘सायद म दाबी गर्छु आदरणीय सभापतिको सबैभन्दा खुलेआम शुभचिन्तक विश्वप्रकाश शर्मा नै हो । जसले भन्छ– सभापतिज्यू सबै कुरा गरिसक्नु भएको छ, ०८३ को असारमा सरकारमा जाँदै गर्दा अरू कुनै साथीलाई प्रस्ताव गरेर सभापतिज्यूको उचाइ सगरमाथाको उचाइभन्दा माथि उठ्नुपर्छ ।’
एमालेसँग कांग्रेसले गरेको सहमतिमा २०८३ असारमा देउवा प्रधानमन्त्री हुने सहमति छ । महामन्त्री शर्माले प्रधानमन्त्री पद त्याग गर्न र अभिभावकत्व निर्वाह गर्न सभापति देउवालाई आग्रह गर्नु भएको बुझिन्थ्यो ।
सभापति देउवाले दुवै महामन्त्रीलाई मुडतोड जवाफ :
आफने सटिक समापन मन्तव्यमा सभापति देउवाले दुवै महामन्त्रीलाई मुडतोड जवाफ फर्काउनु भएको थियो । देउवाले गगनको भनाईतर्फ संकेत गर्दै ‘आफ्नो चार वर्षे नियमित कार्यकाल भएको, पार्टी विधानअनुसार एक वर्ष कार्यकाल थप गर्न पाउने र संविधान अनुसार थप ६ महिना थप्न पाउने नियम रहेको’ समेत सुनाउनु भयो ।
त्यस्तै अर्का महामन्त्री शर्मालाई जबाफ दिँदै सभापति देउवाले भन्नुभयो, ‘म के गर्छु मेरो कुरा हो, मैले कसैलाई पनि भनेर गर्ने होइन, म अप्ठेरो मानिस हुँ नि ! विचार गर्नुस् ।’
प्रकाशित मिति २०८२ असार २३, सोमबार २१:३७ गते