बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले लमजुङमा सञ्चालन गरेको हस्ताक्षर संकलन अभियानमा जनता समाजवादी पार्टीका नेता एवम् केन्द्रीय सदस्य, लमजुङ निवासी खेमजङ गुरुङले ऐक्यवद्धता जनाउनु भएको छ । उहाँले रविको पक्षमा हस्ताक्षर गर्दै असार २३ गते ऐक्यवद्धता जनाउनु भएको हो ।
गुरुङले रास्वपाको जिल्ला सल्लाहकार परिषदका संयोजक एवम् वरिष्ठ पत्रकार नवराज पहाडीलाई भेटेर रास्वपाका सभापति रवि लामिछानेको न्यायका लागि हस्ताक्षर संकलन अभियानमा दस्तखत गर्नु हुँदै ऐक्यवद्धता जानउनु भएको हो । सो अवसरमा उहाँले रास्वपाका सभापति रवि लामिछानेको सिघ्र रिहाई होस् भन्ने कामना समेत गर्नु भएको थियो ।
यसैगरी, सामाजिक अभियन्ता द्वय बालकृष्ण बराल (बेसीशहर) र कृष्णराज ओलियो(राइनास)ले पनि अभियानमा दस्तखत गर्नु भएको जानकारीमा आएको रास्वपा स्रोतले बताएको छ । स्रोतका अनुसार अपाङ्ग अभियन्ता चन्द्रकान्त पौडेल(अपाङ्ग संघका पूर्वकेन्द्रीय सदस्य)ले पनि सो अभियानमा ऐक्यवद्धता जनाउँदै दस्तखत गर्नु भएको छ ।
यतिबेला असारको चापले गर्दा हस्ताक्षर अभियान सुस्ताएको जस्तो प्रतीत भएको छ । तर बजारतिर हस्ताक्षर अभियानको हल्ला नभए पनि अभियान भित्रभित्रै चलिरहेको जिल्ला सल्लाहकार परिषदका संयोजक पहाडीले जानकारी दिनु भएको छ । उहाँका अनुसार सो अभियान अन्तरगत संगठन विस्तारको काम समेत भइरहेको छ । उहाँले भन्नुभयो, ‘असारको बेला छ, केही साथीहरू खेत रोपाइँमा समेत व्यस्त हुनुपर्ने भएका कारणले गर्दा अभियानमा सिथिलता आएको प्रतीत भएको छ तर यो जारी छ ।’
जिल्लामा हालसम्म हस्ताक्षर गर्नेको संख्या नौ हजार नाघेको रास्वपाका गण्डकी प्रदेश सचिवालय सदस्य हरि धितालले बताउनु भएकोछ । उहाँका अनुसार अन्य जिल्लामा जस्तो अभियानलाई गति दिन हामीले नसकेको अनुभूति भएको छ, तर अभियान जारी छ । उहाँले भन्नुभयो, ‘असार २८ गते बस्ने जिल्ला समितिको बैठक पनि यो अभियानले थप गति लिन्छ ।’
२८ गते जिल्ला समिति बैठक :
यसैबीच, रास्वपाको जिल्ला समितिको बैठक असार २८ गते बेसीशहरमा बस्ने भएको छ । सो बैठकले हस्ताक्षर अभियानलाई थप के कसरी प्रभावकारी बनाउने तथा संगठन विस्तारका साथमा वडा र पालिका अधिवेशनको रणनीति तय गर्ने भएको छ ।
प्रकाशित मिति २०८२ असार २४, मंगलवार १८:०२ गते