काठमाडौं– गुटबन्दीले गाँजी रहेको नेपाली काँग्रेसमा १५ औं महाधिवेशन नजिकिदै गर्दा सभापति शेरबहादुर देउवा र महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको बाटो फरक हो ? अन्यथा तीनजनाका भनाइको अर्थ के हुन सक्छ ? नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समापनका क्रममा असार २३ गते तीनजनाका बीचमा मतभेद प्रष्ट देखिन्थ्यो, यतिबेला पार्टी भित्र त्यसको अर्थ खोज्न थालिएको छ ।
पार्टी कार्यालय सानेपामा बसेको बैठकको अध्यक्षता गर्नु भएका सभापति देउवाले महामन्त्री शर्मालाई मात्रै होइन, धारणा राख्ने क्रममा अर्का महामन्त्री गगन थापालाई समेत बिचमै रोक्ने काम भएको थियो ।
बैठकमा सभापति देउवा र महामन्त्री शर्माबीच नोकझोकनै चल्यो । महामन्त्री शर्माले देउवालाई प्रधानमन्त्री नबन्न र सम्मानजनक बहिर्गमनको बाटो रोज्न सुझाव दिनु भएको थियो । त्यसको प्रतिउत्तरमा सभापति देउवाले आफू कसरी अगाडि बढ्ने भन्ने विषयमा कसैलाई भन्न आवश्यक नरहेको बताउनु भयो ।
देउवाले दुवै महामन्त्रीलाई धारणा राख्ने क्रममा रोकेर ठट्यौली पारामा जबाफ दिएको विषय यतिबेला विशेष चर्चामा छ ।
शर्माले धारणा राख्ने क्रममा सभापति देउवालाई अब प्रधानमन्त्री नबन्न सुझाउँदै भन्नुभएको थियो, ‘नीति र सिद्धान्तमा एकता छ । विवाद या प्रतिस्पर्धा प्रधानमन्त्री पदका लागि या सभापति पदका लागि छ, तेस्रो पटक सभापति बन्न पार्टी विधानले दिँदैन । अब ०८३ असारमा आफू छैटौँ पटक प्रधानमन्त्री बन्नतिर नलागेर अरू साथीलाई बन्न मार्गप्रशस्त गरेर प्रशंसा जित्नुपर्छ सभापतिले । सम्मानजनक बहिर्गमनको बाटो सभापतिले रोज्नुभएमा त्यसले नेपालको राजनीतिमा अत्यन्तै सकारात्मक प्रभाव छोड्नेछ ।’
तर शर्माको उक्त भनाइ कांग्रेस र एमालेबिच २०८१ असार १७ गते भएको सात बुँदे सहमति विपरीत छ । ‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमालेका अध्यक्ष माननीय केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाले गर्ने ।’ सात बुँदे सहमतिको बुँदा नं.४ मा लेखिएको छ ।
त्यही सहमति बमोजिम ओली २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त हुनु भएको हो । ओली प्रधानमन्त्री भएको दुई वर्ष २०८३ असार २९ गते पुग्छ । त्यसपछि प्रधानमन्त्री बन्न मुख मिठ्याएर बख्नु भएका देउवालाई शर्माको त्यो भनाइले झस्काएको आम बुझाई छ ।
असार १३ गते नेपाली कांग्रेस चितवनले सेनानी स्वर्गीय गौरीदेवी प्रधानको सातौँ दिनको पूण्यतिथिमा आयोजित कार्यक्रममा देउवाले भन्नुभएको थियो ‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ । हाम्रो पार्टीको रोग नै यही हो । हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ । म रिटायर्ड हुन लाग्या छु । यो पार्टीलाई एक बनाउने इच्छा छ ।’
त्यही सन्दर्भ स्मरण गराउँदै महामन्त्री शर्माले बैठकमा भन्नुभएको थियो, ‘मेरो रिटायर्ड हुने समय आयो, कांग्रेसलाई एक बनाउने इच्छा छ भनेर सभापतिज्यूले चितवनमा बोल्दा यति धेरै प्रशंसा भयो । यो प्रशंसनीय छ । पार्टी एक बनाउँछु भन्नुभयो । यो पनि सकारात्मक कुरा हो । मेरो आग्रह छ– सभापतिज्यूले सबै कुरा गरिसक्नु भएको छ, ०८३ को असारमा जाँदै गर्दा अरू कुनै साथीलाई प्रस्ताव गरेर सभापतिज्यूको उचाइ सगरमाथाको उचाइभन्दा माथि उठ्नुपर्छ ।’
शर्माले सो भनाई राख्न नभ्याउँदै जङ्गिनु भएका देउवाले आफ्नो अवकाशबारे आफैँले बिचारेर अघि बढ्ने, कसैले भनेर नहुने उल्लेख गर्नु भयो । शर्माले आफ्ना धारणा व्यक्त गर्दै रहँदा बिचमै रोकेर देउवाले आफू कसरी अगाडि बढ्ने भन्ने विषयमा कसैलाई भन्न आवश्यक नरहेको बताउनु भएको थियो । ‘म के गर्छु, मेरो कुरा हो । मैले कसैलाई पनि भनेर गर्ने होइन,’ महामन्त्री शर्मालाई लक्षित गर्दै देउवाले भन्नुभयो, ‘म अप्ठ्यारो मानिस हुँ नि ! विचार गर्नुस् ।’ चुनौतीपूर्ण शैलीमा उल्लेख गर्नुभयो ।
देउवाद्वारा बोल्दा बोल्दै महामन्त्री शर्मालाई मात्रै होइन, अर्का महामन्त्री गगन थापालाई समेत रोक्ने काम भएको थियो ।
सोही बैठकमा महामन्त्री थापाले पहिला आफूलाई सभापतिलाई असहयोग ग¥यो भनेर आलोचना गरिन्थ्यो, अहिले सहयोग ग¥यो भनेर आलोचना गर्ने काम भइरहेको गुनासो गर्नु भएको थियो ।
थापाले यसो भन्दैगर्दा देउवाले बिचमै रोकेर भन्नुभयो, ‘होइन होइन, महामन्त्री मतिर लागेको होइन । म ऊतिर लागेको हो ।’ त्यसपछि केन्द्रीय समिति बैठकमा एकछिन हाँसोको फोहरा नै छुटेको थियो ।
महामन्त्री थापाले १५ औं महाधिवेशन निर्धारित समय अर्थात २०८२ को मंसिर भित्रै हुन्छ भन्ने उदघोषण गर्नु भएको थियो ।
महामन्त्री थापाको त्यस्तो धारणा सुनेपछि सभापति देउवाले पार्टीको विधान र आफ्नो कार्यकाल समेत सम्झाउनु भएको थियो । उहाँले भन्नुभयो, ‘मेरो सभापति पदमा नियमित कार्यकाल चार वर्ष हो । पार्टी विधानअनुसार एक वर्ष कार्यकाल थप गर्न पाइन्छ । संविधानअनुसार थप ६ महिना थप्न पाउने व्यवस्था छ ।’ यसको अर्थ समयमा महाधिवेशन हुन्न भन्ने नै भएको धेरैको बुझाई छ ।
त्यसो त कांग्रेसका नेताहरू भने देउवाले महामन्त्री शर्मालाई देखाएर ‘अर्ली महाधिवेशन’ भन्नेहरूलाई जबाफ दिएको बताउँछन् । ‘पार्टीमा युवा भनिएका नेताहरूले अर्ली महाधिवेशन गर्ने र छिटो महाधिवेशन गर्ने भनिरहेका छन् । केन्द्रीय समिति बैठकमा सभापतिले उनीहरूलाई महामन्त्रीहरूलाई जबाफ दिए जसरी कानुनले दिएको समयसम्म बस्छु । जति कराए पनि छोड्दिनँ भन्ने सन्देश दिनु भएको,’ रुपमा निष्कर्ष निकालिएको एक नेताले जानकारी दिएका छन् ।
त्यस्तै, देउवाको सो भनाइ आफू विरुद्धमा बोल्दै आएकाहरूलाई प्रहार भएको नेताहरूको आंकलन छ । कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘सभापति देउवाले म आफ्नो खुसीले अगाडि बढ्छु । कसैको सुझावमा होइन भन्नु नै तिमीहरूले भनेर केही हुन्न । मेरो निर्णय मैले नै लिन्छु भन्दै दिएको जबाफ हो ।’
प्रकाशित मिति २०८२ असार २४, मंगलवार २०:०२ गते