चालु आवमा मर्स्याङ्दी गाउँपालिकाले गरेका सेवा प्रवाह बारे सार्वजनिक सुनुवाई

चालु आवमा मर्स्याङ्दी गाउँपालिकाले गरेका सेवा प्रवाह बारे सार्वजनिक सुनुवाई

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असार २५ गते बुधबार ०७:०५

कार्यक्रममा पालिकाको शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने, कृषकलाई हौसला दिने कार्यक्रम, कृषकहरू विच अन्तरक्रिया, विपद् जोखिम न्युनिकरणको लागि पूर्व तयारी कार्यक्रम, फोहोरमैला संकलन निश्चित समयमा निरन्तर गर्नुपर्ने, अपाङ्ग र विपन्न लक्षित प्रोत्साहन कार्यक्रम, कच्ची सडकको पिच गर्नुपर्ने सुझाव दिएका थिए ।

पालिकाको बेरुजु शुन्यमा झार्नतर्फ जनप्रतिनिधि र कर्मचारीको ध्यान केन्द्रित हुनुपर्ने सहभागीहरूको सुझाव थियो ।

भूलभूले(लमजुङ)– चालु आव २०८१/८२ को अवधिमा मर्स्याङ्दी गाउँपालिकाले गरेका विविध सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई गरिएको छ । पालिकामा भएका विकास निर्माणका योजना, सर्वाजनिक सेवा प्रवाह र विबिध कार्यक्रम सम्वन्धी आम नागरिकलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाई असार २३ गते गरेको हो ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा भएका यावत गतिविधिका बारेमा भुलभुले स्थित सामुदायिक भवनमा सर्वाजनिक सुनुवाई सञ्चालन गरिएको हो । सो अवसरमा सहभागी पालिकाबासीहरूले गाउँपलिकाले गरेका काम कारवाही सम्वन्धी गुनासो सहित आगामी आर्थिक वर्षमा गर्ने कामहरूमा सुधार गर्न सुझाव दिएका थिए ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाईमा उहाँले सो अवसरमा नागरिक समाजबाट आएका सुझाव तथा राखिएका जिज्ञासालाई उचित रुपमा मनन गर्दै आगामी दिनहरूमा गाउँपालिकाको विकास र समृद्धिसँगै नागरिक प्रतिको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा न्यायिक समिति र अपांगता सम्वन्धी आएका गुनासोलाई सम्बोधन गर्दै उपाध्यक्ष जुनामाया थापाले न्यायिक समितिले आफ्नो क्षेत्र अधिकार भित्र रहेर कार्यसम्पादन गरेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईले गाउँपालिकाको चालु आर्थिक वर्षको असार २० गतेसम्मको कार्यसम्पादन तथा प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो । प्रशासकीय अधिकृतले प्रस्तुत गर्नु भएका विषयबस्तु माथि सहभागीहरूले टिप्पणी सहित सुझाव दिएका हुन् । त्यस्तै, पालिकाको बेरुजु शुन्यमा झार्नतर्फ जनप्रतिनिधि र कर्मचारीको ध्यान केन्द्रित हुनुपर्ने सहभागीहरूको सुझाव थियो ।
दिइएको सुझावमा योजनाको गुणस्तरीय र प्रभावकारी कार्यान्वयनसँगै, कुषि र पशु विकासको क्षेत्रमा विशेष ध्यान दिन र स्तरीयतामा ध्यान दिनु पर्नेमा जोड दिएका थिए । पालिकाका अधिकाशं नगरिक कृषि पशुपालनमामै रहेकोले प्राविधिकहरू स्थालगत रुपमा उपस्थित भएर किसानको समस्या सम्वोधन गर्नुपर्ने उनीहरूको तर्क थियो । पालिका भित्र कतिपय योजनामा वजेट परेर पनि समयमै, गुणस्तरीय काम नभएको, पालिकाले सहकारीलाई नियमन नगरेको, युवा लक्षित कार्यक्रम ल्याउदा युवाहरूसँग समन्वयन नगरिएको गुनासो गरिएको थियो ।
उनीहरूले पालिकाको शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने, कृषकलाई हौसला दिने कार्यक्रम, कृषकहरू विच अन्तरक्रिया, विपद् जोखिम न्युनिकरणको लागि पूर्व तयारी कार्यक्रम, फोहोरमैला संकलन निश्चित समयमा निरन्तर गर्नुपर्ने, अपाङ्ग र विपन्न लक्षित प्रोत्साहन कार्यक्रम, कच्ची सडकको पिच गर्नुपर्ने बताएका थिए । रिएको र योजना छनोट गर्दा टोलबासीसँगै छलफल बिना छनोट हुने गरेको गुनासा समेत राखेका थिए ।
सो सार्वजनिक सुनुवाई गाउँपालिकाको आयोजना तथा रेडियो मर्स्याङ्दीको सहजिकरणमा सम्पन्न भएको हो । रेडियो मर्स्याङ्दीका समाचार प्रमुख बसन्ता भट्ट बानियाले सहजिकरण गर्नुभएको सो कार्यक्रममा रेडियोका निर्देशक मिना गुरुङले वहिर्गमन प्रतिवेदन तथा बजार प्रमुख खुशीमाया गुरुङले सार्वजनिक सुनुवाईको आचार संहिता प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा वडाअध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, विषयगत शाखा प्रमुखका साथ कर्मचारीहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, स्थानीय सेवाग्राहीहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रमले पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिताको आधारमा स्थानीय शासन सुदृढ गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति २०८२ असार २५, बुधबार ०७:०५ गते
हजुरको प्रतिक्रिया