
काठमाडौँ– नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालको सदस्यता एक वर्षका लागि निलम्बन गरेको छ । गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका खनाललाई पार्टीले एक वर्षका लागि सदस्य समेत नरहने गरी अनुशासन समितिले असार २५ गते निष्कासन गरेको हो ।
नवलपरासीस्थित बर्दघाट नगरपालिका– १० मा स्थायी बसोबास गर्नु हुने खनाल नेता डा. शेखर कोइराला निकटका रुपमा चिनिनु हुन्छ ।
कांग्रेस सांसद एवं उद्योगपति विनोद चौधरीले खनालले गत निर्वाचनमा असहयोग गरेको भन्दै अनुशासन समितिमा उजुरी दिएका थिए । खनालकै विषयलाई लिएर केन्द्रीय समिति बैठकमा नेता कोइराला र केन्द्रीय सदस्य चौधरीबीच जुहारी समेत चलेको बताइन्छ ।
गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप खेप्नु भएका खनाललाई कारबाही गरेको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले पुष्टि गर्नु भएकोछ । संयोजक ढुंगानाले खनालले पुनरावेदन गर्न सक्ने जानकारी दिनुभएको छ ।
केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले प्रदेश महामन्त्री खनाललाई कारबाही गरेको पत्र आजै पठाएको जानकारीमा आएको छ । ढुंगानाले लुम्बिनी प्रदेश समितिलाई पत्र लेखेर कारबाहीको जानकारी दिनु भएको हो ।
त्यसो त ‘विक्रम खनालले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी परेको उजुरीमा नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिबाट स्पष्टीकरण सोधिएको सन्दर्भमा निजले दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएको’ अनुशासन समितिले उल्लेख गरेको छ ।
प्रकाशित मिति २०८२ असार २५, बुधबार १८:०४ गते