काठमाडौँ– नेपाली काँग्रेसमा गुटगत द्वन्द्व फेरि सतहमा आएको छ । संस्थापनपक्षले शेखर कोइराला समूहमाथि अनुशासनको डण्डा बर्षाएसँगै असार २५ गते त्यस्तो खुलासा भएको हो ।
कांग्रेसले २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने २३ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । नेपाली कांग्रेसको अनुशासन समितिले बहुमतको आधारमा नेता कार्यकर्तालाई कारबाही गरेको छ । अनुशासन समितिमा देउवा पक्षको बहुमत रहेको छ ।
पाँच सदस्यीय समितिमा ढुंगाना सहित केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले संस्थापन पक्षका हुन् । समितिमा संस्थापनइतरबाट सञ्जयकुमार गौतम र राजीव कोइराला सदस्य हुनुहुन्छ ।
अनुशासन समितिमा ५० जिल्लाबाट २१ सय उजुरी परेएका थिए । अधिकांश उजुरी चुनावमा अन्तर्घात गरेका विषयमा रहेको समितिले जनाएको छ ।
०७९ को निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाहीमा परेका २३ जनामध्ये ५ जनालाई एक वर्ष, १७ जनालाई ६ महिना र एक जनालाई ३ महिना साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको कांग्रेसका अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाले बताउनु भएको छ । उहाँका अनुसार कारबाही गरिएकामध्ये प्रदेश महामन्त्री, जिल्ला सभापति र पूर्व मन्त्रीसमेत छन् । पार्टीका लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल तथा पार्टीका खोटाङ जिल्लाका सभापति विष्णुकुमार राईलाई एक वर्ष साधारण सदस्यतासमेत नरहने गरी निलम्बित गरिएको छ ।
पूर्वमन्त्री तथा कास्कीका पार्टी महाधिवेशन प्रतिनिधि कुमार खड्कालाई समेत एक वर्ष साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको बताइन्छ ।
यसैगरी, तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई पनि कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) (घ) अनुसार १ (एक) वर्ष साधारण सदस्यसमेत नरहने गरी हटाइएको विज्ञप्तिमा उल्लेख छ ।
धनुषाका लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादव सोही जिल्लाको सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका– १ का रामबाबु यादव र मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव, कास्की जिल्ला क्षेत्र नं.२ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठलाई ६ महिना कारबाही गरेको उल्लेख छ । त्यस्तै छ महिनाको कारबाहीमा पर्नेहरूमा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका– २ का महाधिवेशन प्रतिनिधि भिमबहादुर शाह, निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर, धनगढी उपमहानगरपालिका– १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका–.२ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका– १ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगरपालिका– ५ का पूर्वमहाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरी हुनुहुन्छ । उहाँहरूलाई पार्टीको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) (घ) अनुसार ६ महिना कारबाही गरेको विज्ञप्तिमा भनिएको छ ।
यसैगरी, कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई ३ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
अनुशासन समिति संयोजक ढुङ्गानाले जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन– २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरी पराजित गराउने गलत मनसायका साथ सामाजिक सञ्जाल, अडियो÷भिडियो लगायत अनेकन हत्कण्डाहरू प्रयोग गरिएका प्रमाणहरूका आधारमा तपशील बमोजिमका पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निष्कासन÷निलम्बन गर्ने निर्णय गरिएको छ ।’
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता डा. शेखर कोइरालामाथि उद्योगपति तथा केन्द्रीय सदस्य विनोद चौधरीले गरेको कडा आलोचनापश्चात् कोइराला समूहका नेता तथा कार्यकर्तामाथि कारबाहीको डन्डा चलाइएको छ । चौधरीको आक्रामक प्रतिवाद र पार्टीभित्र उनको योग्यतामाथि उठेका प्रश्नहरूले नेपाली काँग्रेसभित्रको आन्तरिक कलह थप चुलिएको छ ।
केन्द्रीय सदस्य विनोद चौधरीले केही दिन अघिको केन्द्रीय समिति बैठकमा डा. शेखर कोइरालामाथि आक्रामक रूपमा प्रस्तुत हुनु भएको थियो । कोइराला पक्षले आफूविरुद्ध हृदयश त्रिपाठीलाई सघाउन भूमिका खेलेको आरोप लगाउँदै लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई बोकेर हिँडेको भन्दै चौधरी कोइरालामाथि खनिनु भएको थियो ।
उहाँका अनुसार मलाई हराउन हर प्रयास गर्ने लुम्बिनी प्रदेशको महामन्त्रीको पदमा आसिन भएर बस्ने मान्छेलाई बोकेर हिँड्ने नेताले यो पार्टीलाई हाँक्ने हो भोलिको दिन ? शेखर र विनोदबीच सवालजवाफ भएको करिब एक सातापछि कांग्रेसले शेखर समूहका नेता तथा कार्यकर्तामाथि कारबाहीको डन्डा वर्षाएको हो ।
चौधरीको आक्रामक भनाइको कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीदेखि युवा नेता गुरुराज घिमिरेले सामाजिक सञ्जालमार्फत आलोचना गर्नु भएको थियो । गुरुराज घिमिरेको बैठकमा कोइरालामाथि उठाइएका ८ वटा प्रश्नप्रति ध्यानाकर्षण भएको जनाउँदै चौधरीलाई केन्द्रीय सदस्य बनिरहँदा वैधानिक व्यवस्था, प्रक्रिया र मापदण्ड पूरा भए वा नभएकोमा विचार गर्न आग्रह थियो ।
उहाँले चौधरीले हिजोको दिनमा विक्रम खनालको स्थानमा निर्वाचनमा लडिरहँदा खनालको त्याग, लगानी र मर्ममाथि उपहास भएको विचार गर्न समेत अनुरोध गर्नु भएको थियो । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पनि उद्योगी चौधरीलाई उद्योगीको चन्दा र मजदुरको चन्दाबीचको भिन्नता प्रस्टाएका थिए ।
उहाँले भन्नु भएको थियो, ‘विनोद चौधरी जी चन्दा त मजदुरले पनि दिएको छ । उसले पार्टीको विचार र सिद्धान्त विजयको कामना गर्छ । तपाईंले पार्टी फेरि–फेरि पद किनेको हो, चन्दा दिएको होइन, ब्याजसहित उठाउनु भएको छ । पैसाले मात्र जित हुन्छ भन्ने घमण्ड हो भने चितवनमा उठेका उमेश श्रेष्ठलाई सोधिबक्स्योस् ।’
कांग्रेसको अनुशासन समितिले बहुमतको आधारमा संस्थापनइतरको असहमति बीच कांग्रेसबाट १८ जना निष्कासन सहितको कारबाही गरेको बताएको छ ।
उजुरी र अन्तर्घात सम्बन्धी विषयमा निर्णय भएको र केही सदस्यले समर्थन नगरेको समितिले जनाएको छ ।
कारबाहीमा परेका व्यक्तिहरूमा पूर्वमन्त्री, महामन्त्री, र जिल्ला सभापति समावेश छन् ।
प्राप्त उजुरी माथि निर्णय लिन ९ देखि १७ असारसम्म अनुशासन समितिको बैठक बसेको थियो । बैठकको निर्णय भन्दै संयोजक ढुंगानाले कारबाहीमा परेका नामहरू सार्वजनिक गर्नु भएको हो ।
अनुशासन समितिका सदस्य गौतमले अनुशासनको कारबाहीमा आफ्नो समूहको विमति रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘सर्वसम्मत निर्णय गरिएको होइन । बहुमतका आधारमा निर्णय भएको हो । कारबाहीप्रति हाम्रो समर्थन छैन, एकपटकका लागि सबैलाई सचेत बनाऔं भन्ने हाम्रो प्रस्ताव थियो । कारबाही नगरौं भन्ने पक्षमा हामी थियौं ।’
नेतृत्वको अन्यायविरुद्ध उभिएकै हुँ : खोटाङ सभापति
यसैबीच, नेपाली कांग्रेसबाट निकालिएका खोटाङ सभापति विष्णु राईले आफू ’इमान्दार कांग्रेसी’को साथमा रहेको बताउनुभएको छ । पार्टीको अनुशासन समितिले पार्टीबाट निष्कासन गरेको पत्र सामाजिक सञ्जालमा सार्वजनिक गर्दै राईले आफू पार्टी नेतृत्वको अन्यायविरुद्ध उभिएको उल्लेख गर्नु भएको छ । उहाँले भन्नुभएको छ, ‘राजनीतिमा सधैँ प्राप्तिमात्र हुँदैन, गुमाउनु पनि पर्छ । ३५ वर्षे निरन्तर राजनैतिक यात्रामा कहिले उकाली कहिले ओराली छिचोलियो, ०७९ सालको गठबन्धनका क्रममा खोटाङ कांग्रेसलाई केन्द्रीय नेतृत्वबाट सुनियोजित ढंगले भएको ठूलो अन्याय र अपमान बहोर्नु पर्दा म स्वाभिमानी कार्यकर्ता विष्णुकुमार राईलाई त्यो बिल्कुल सह्य हुने कुरो थिएन । त्यसको विरुद्धमा म डटेर लागेकै हुँ ।’
उहाँले त्यसबापत पार्टीले गरेको कारबाही सहर्ष स्वीकार्य रहेको समेत उल्लेख गर्नु भएको छ ।
उहाँले व्यङ्ग्यपूर्ण शैलीमा भन्नुभएको छ, ‘जसबापत केन्द्रले महत्त्वपूर्ण सम्मानपत्र पठाएको छ । हार्दिक ग्रहण गर्दछु, म सदैव स्वाभिमानी निष्ठावान् खोटाङे कांग्रेसीहरूको साथमा छु, रहनेछु ।’
डा शेखरद्वारा आफूपक्षीय नेताहरूको बैठक आह्वान :
यसैबीच, नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफूपक्षीय नेताहरूको बैठक आह्वान गर्नु भएको छ । पार्टी अनुशासन समितिले कारबाही गरेका नेताहरूमा अधिकांश आफ्ना पक्षका परेको भन्दै रुष्ट रहेका शेखरले भोलि बिहान ८ बजेका लागि बैठक बोलाउनु भएको हो । उहाँले आफ्नै सम्पर्क कार्यालय विशालनगरमा बैठक बसाउने हुनु भएको छ ।
शेखरले यसअघि हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा पनि अनुशासन समितिको भूमिकामाथि प्रश्न उठाउनु भएको थियो ।
प्रकाशित मिति २०८२ असार २५, बुधबार २२:१८ गते