एकीकृत समाजवादी र वागदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियान एकता घोषणा तयारी

एकीकृत समाजवादी र वागदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियान एकता घोषणा तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असार २७ गते शुक्रबार ०५:३९

गौतमले भन्नुभयो, ‘साउन २ गते एकता घोषणा सभा हुन्छ । त्यसैमा जेजे हुने हो हुन्छ, एकतापछि नेकपा एकीकृत समाजवादी नै रहन्छ । हामी नेकपा एकीकृत समाजवादीमा एकीकृत हुने हो ।’

वामदेव गौतमको वरीयता नेकपा (एकीकृत समाजवादी)मा तेस्रो रहने भएको छ ।

काठमाडौँ– माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र पूर्वउपप्रधानमन्त्री तथा वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एकताबद्ध हुने भएको छ । गौतम र नेपालबीच पार्टी एकताबद्ध गर्ने औपचारिक रुपमा असार २७ गते सहमति भएको हो । नेपाल र गौतम बीच भएको सहमति पत्र सार्वजनिक गर्र्दै राष्ट्रियसभा गृहमा आउँदो साउन २ गते एकता घोषणासभा गर्ने भनिएको छ ।
एमालेमा बिग्रह चरम अवस्थामा पुगेपछि गौतमले उपाध्यक्षबाट राजीनामा दिएर बाहिरिनु भएको थियो । त्यसपछि नेता नेपालले एकीकृत समाजवादी गठन गर्नु भई नेतृत्व गर्नु भएको थियो । एमाले निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु भएका दुवै नेता बीच पार्टी समाहित गर्ने भएको हो ।
सहमतिपत्रमा भनिएको छ, ‘राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकतावद्ध हुने सहमति गरियो । साथै २०८२ साउन २ गते राष्ट्रिय सभा गृहमा भव्य समारोहको आयोजना गरी एकताको घोषणा गर्ने सहमति भयो ।’
गौतमले आफू नेतृत्वको अभियानलाई यसअघि नै समाजवादीसँग मिलाउन तयार भए पनि एमालेमा प्रवेश दिने आश्वासन पाएपछि रोकिनु भएको थियो ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र गौतमबिच पार्टी एकता गर्ने सहमतिसँगै एकीकृत पार्टीमा गौतमको वरीयताबारे पनि टुङ्गो लागेको हो ।
यसअघि समाजवादीसँग एकता गर्ने प्रयास भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न आश्वास दिएर भाड्ने काम गरे पछि उनीहरू एकता गर्ने लिखित समझदारीमा पुगेको बताइन्छ ।
वामदेव गौतमको वरीयता नेकपा (एकीकृत समाजवादी)मा तेस्रो रहने भएको छ ।
आलोकनगरमा पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएपछि गौतमको वरीयतामा पनि सहमति भएको उपाध्यक्ष गंगालाल तुलाधरले बताउनु भयो । उहाँका अनुसार हाल गौतमलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ । उपाध्यक्ष तुलाधरले भन्नुभयो, ‘पहिलो वरियतामा अध्यक्ष माधवकुमार नेपाल, दोस्रोमा सम्मानित नेता झलनाथ खनाल हुनुहुन्छ । त्यसपछि वामदेव गौतम तेस्रो वरियताको वरिष्ठ नेता रहने कुरामा सहमति भएको हो ।’
एकीकृत समाजवादीमा घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाल वरिष्ठ नेता हुनुहुुन्छ ।
एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले दुई पार्टीबिच एकता गर्ने सहमतिका क्रममा गौतमलाई तेस्रो वरियताको वरिष्ठ नेता बनाउने सहमति भएको बताउनु भयो ।
उहाँका अनुसार हाम्रो विधानमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता र वरिष्ठ उपाध्यक्ष लगायत पद रहने व्यवस्था छ । उहाँले भन्नुभयो, ‘वामदेव कमरेडलाई सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरीयतामा वरिष्ठ नेता दिने सहमति भएको छ ।’
यसैबीच, नेता वामदेव गौतमले एकीकृत समाजवादीको कार्यदिशा, विचार र सिद्धान्त मान्न आफू तयार भएर एकता गर्ने निर्णयमा पुगेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘साउन २ गते एकता घोषणा सभा हुन्छ । त्यसैमा जेजे हुने हो हुन्छ, एकतापछि नेकपा एकीकृत समाजवादी नै रहन्छ । हामी नेकपा एकीकृत समाजवादीमा एकीकृत हुने हो ।’
पाँच वर्षअघि २०७७ सालमा नेकपा विभाजन भएर एमाले र नेकपा माओवादी हुँदा कतै पनि नलागी नेकपा एकता अभियान थालेका नेता वामदेव गौतम अन्ततः माधव नेपाल नेतृत्वको समाजवादीमा समाहित हुने हुनु भएको हो । माधव नेपालले २०७८ मा नेकपा एकीकृत समाजवादी गठन गर्नु भएको हो ।
स्मरणीय छ, नेकपाकालमा ओली र प्रचण्डबिच अन्तरविरोध चुलिँदा गौतम प्रचण्ड÷माधवतिर लाग्नु भएको थियो । नेकपा एमाले विभाजित भएपछि गौतम ओलीसँग असन्तुष्ट बन्दै सो पार्टी छाड्नु भएको हो ।
नेपाल र झाँक्री एउटै मञ्चमा :
यसैबीच, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेतृ रामकुमारी झाँक्री एक कार्यक्रममा सँगै मञ्चमा देखिनुभएको छ । कीर्तिपुरमा आयोजित समाजवादी अखिलको बैठकमा दुवै जना उपस्थित भएका हुन् । नेपाल कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्छ भने झाँक्री संगठनकी इन्चार्जको रुपमा सहभागी हुनु भएको हो ।
पतञ्जलि योगपीठको जग्गा घोटालामा मुद्दा लागेपछि झाँक्रीले आफ्ना अध्यक्ष नेपालविरुद्ध यही असार १४ गते लुम्बिनीमा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा कडा अभिव्यक्ति दिनु भएको थियो । झाँक्रीले पार्टीमा ‘ठुलो संकट आएको र अब अध्यक्ष फेर्नुपर्ने’ बताउँदै ‘मरेको सिनु बोकेर हिँड्न नसकिने’ अभिव्यक्ति दिनु भएको थियो ।

प्रकाशित मिति २०८२ असार २७, शुक्रबार १७:३९ गते
हजुरको प्रतिक्रिया