हस्ताक्षर अभियानलाई थप प्रभावकारी बनाउने रास्वापा जिल्ला समिति बैठकको निर्णय

हस्ताक्षर अभियानलाई थप प्रभावकारी बनाउने रास्वापा जिल्ला समिति बैठकको निर्णय

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असार २८ गते शनिवार ०८:१६

हालसम्मको हस्ताक्षर संकलन कार्य बजार केन्द्रीत भएको छ, अब अभियानलाई गाउँगाउँमा पुर्याउने समेत निर्णय गरिएको छ ।

जिल्लामा जिल्लामा २५ हजारभन्दा बढी हस्ताक्षर संकलन गर्ने लक्ष्य रहेको जानकारी दिइएको छ । हालसम्म १० हजारभन्दा बढी हस्ताक्षर संकलन भएको छ ।

बेसीशहर– लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वापा)ले सञ्चालन गरेको हस्ताक्षर अभियानलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने सो दलको जिल्ला समिति बैठकले निर्णय गरेको छ । रास्वपाको जिल्ला समितिको कार्यालयमा बसेको बैठकले असार २८ गते त्यस्तो निर्णय गरेको हो ।
सो अवसरमा पार्टीले आजका दिनसम्म सञ्चालन गरेको हस्ताक्षर संकलन अभियानको समीक्षा गरिएको थियो । अभियान सकारात्मक हुँदाहुँदै पनि उचित प्रकारको प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै थप प्रभावकारी बनाउने निर्णय गरिएको रास्वपाका जिल्ला सचिव रमा खड्काले बताउनु भयो । उहाँका अनुसार बैठकमा पालिकास्तरमा भएका हस्ताक्षर संकलन अभियानको समिक्षा गर्र्दै तथ्यांक संकलन गर्ने कार्य भएको थियो । उहाँले भन्नुभयो, ‘आजका दिनसम्म संकलन भएका हस्ताक्षरको संख्या १० हजार नाघेको छ ।’
हस्ताक्षर संकलन अभियानमा सम्बन्धित पालिका र वडा समितिलाई बढी सक्रिय हुन प्रेरित गर्ने गरी आउँदा कार्यक्रम अघि बढाइने भएको जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेलले बताउनु भयो ।
जिल्लामा २५ हजारभन्दा बढी हस्ताक्षर संकलन गर्ने लक्ष्य रहेको जानकारी दिदै सो दलका जिल्ला अध्यक्ष अशोक सापकोटाले साउन भरको अवधि बाँकी भएको र हालसम्मको हस्ताक्षर बजार केन्द्रीत भएको छ, अब गाउँगाउँमा अभियान पुग्दा त्यो संख्या सहजै पुग्नेछ भन्नुभयो ।
सो बैठकले जिल्ला संगठन विभागको रिक्त सदस्य पदमा डम्बरबहादुर केसी सुन्दरबजारलाई मनोनित गर्ने निर्णय भएको छ । त्यस्तै, गण्डकी प्रदेशको जनसम्पर्क विभागको सदस्यका लागि सुरेन्द्रलाल श्रेष्ठ(सुन्दरबजार)लाई सिफारिस गर्ने निर्णय भएको जिल्ला उपसभापति प्रकाश थापाले बताउनु भएको छ । उहाँका अनुसार प्रदेशको महिला संगठन विभागको उपप्रमुखमा सन्तोषी गौली (कुन्छा)लाई सिफारिस गर्ने निर्णय भएको छ ।
बैठकले जिल्लामा अधिवेशन गर्न बाँकी वडाहरूको अधिवेशन तयारी गर्ने निर्णय समेत गरिएको बताएको छ ।
सो बैठकमा रास्वपाका प्रदेश सचिवलाय सदस्य हरि धिताल, प्रदेश सदस्य तैमाया गुरुङ, जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, प्रदेशका स्टार्ट अफ विभागका प्रमुख गोविन्द गुरुङ, प्रदेश उद्योग वाणिज्य विभागका सदस्य ध्रुव ढकाल, जिल्ला सहसचिव एवम् संगठन विभागका प्रमुख बाबुराम अधिकारीको उपस्थिति थियो ।

त्यस्तै जिल्ला सदस्यहरू त्रय होमबहादुर राउत, मीना खड्का र सविता अधिकारी, बेसीशहरका नगर सभापति एवम् जिल्ला सदस्य कृष्ण राउत, सुन्दरबजार नगर समितिका सभापति एवम् जिल्ला सदस्य विमलप्रसाद अधिकारी, राइनास नगरका सभापति एवम् जिल्ला सदस्य धनबहादुर गुरुङको उपस्थिति रहेको थियो ।
सो बैठकमा उपस्थित हुनुहुने अन्यमा जिल्ला र्याट विभागका प्रमुख श्याम कोसी, रास्वपाको मर्स्याङदी गाउँपालिकाका सचिव चन्द्रप्रसाद घिमिरे, बेसीशहर नगरपालिका– ८ का वडा सभापति राजकुमार घिमिरे, यसैगरी, रास्वपाका सदस्य एवम् सयपत्री आमाविका प्रिन्सिपल ज्ञानेन्द्र शर्मालगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा सुन्दरबजार नगरपालिका, राइनास नगरपालिक तथा दूधपोखरी गाउँपालिकाबाट केही नयाँ व्यक्तित्वले पार्टी सदस्यता ग्रहण गर्नु भएको थियो । उहाँहरूलाई रास्वपाका जिल्ला सभापति सापकोटाले पार्टीको लोगो पहिराई स्वागत गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ असार २८, शनिबार २०:१६ गते
हजुरको प्रतिक्रिया