भानु जयन्तीमा महिलाहरूका बीचमा कविता प्रतियोगिता गरियो

भानु जयन्तीमा महिलाहरूका बीचमा कविता प्रतियोगिता गरियो

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असार २९ गते आईतबार ०६:२७

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्नेहरूलाई क्रमशः तीन, दुई र एक हजार नगद तथा सान्त्वना स्थान हासिल गर्नेलाई पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा सिर्जनशील आयआर्जन समूहकी अञ्जना घिमिरे बेसीशहर नगरपालिका– ३ मूलपानी पहिलो हुनुभयो ।

बेसीशहर– लमजुङमा २१२औ भानु जयन्तीको अवसरमा महिलाहरूका बीचमा कविता प्रतियोगिता गरिएको छ । जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– ८ स्थित आफ्नै पुस्तकालयको सभा हलमा लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले सो प्रतियोगिताको आयोजना असार २९ गते गरेको हो ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दिवाकर शर्माको प्रमुख आतिथ्यतामा भएको उक्त प्रतियोगिता आयोजक लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका अध्यक्ष नाराइनबहादुर सुयलको अध्यक्षतामा भएको हो ।
सो प्रतियोगिता पुस्तकालयद्वारा गठन गरिएको आय आर्जन समूह तथा सिकाई केन्द्र अन्तरगतका समूहका बीचका महिलाहरू बीच गरिएको पुस्तकालयका प्रशासन प्रमुख मधु अधिकारीले बताउनु भयो । उहाँका अनुसार त्यस्ता समूहको संख्या १५वटा रहेको छ । उहाँले भन्नुभयो, ‘प्रतियोतिगामा प्रतियोगी र अप्रतियोगी गरी २९ जनाले कविता वाचन गर्नु भएको थियो ।’
उक्त प्रतियोगितामा सिर्जनशील आयआर्जन समूहकी अञ्जना घिमिरे बेसीशहर नगरपालिका– ३ मूलपानी पहिलो, कर्पुरेश्वर आय आर्जन समूह बेसीशहर नगरपालिका– ८ को सेराकी कमला सेढाई दोस्रो, तथा प्रगतीशील आयआर्जन समूहका शिवदेवी बरालले तेस्रो स्थान हासिल गर्नु भएको निर्णायक समितिका संयोजक हरिप्रसाद अधिकारीले बताउनु भयो । उहाँका अनुसार कर्पुरेश्वर आय आर्जन समूहकी कल्पना सेढाईले सान्त्वना स्थान हासिल गर्न सफल हुनु भएको थियो ।
विजयीहरूलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्नेहरूलाई क्रमशः तीन, दुई र एक हजार नगद तथा सान्त्वना स्थान हासिल गर्नेलाई पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
विजयीहरूलाई पुरस्कार वितरण पछि आफ्नो उदघाटन मन्तव्यमा प्रमुख अतिथि शर्माले भानुभक्तको व्यक्तित्व एवम् कीर्तित्वका विविध आयाममा प्रकाश पार्नु भएको थियो । उहाँले आफ्ना हजुरबुबाबाट धेरै उपदेश एवम् प्रेरणा प्राप्त गरेको तर कहिलेकाहीँ सानो मान्छेबाट पनि प्रेरणा प्राप्त हुन सक्छ भन्दै घाँसी त्यसको उदाहरण भएको उल्लेख गर्नुभयो । उहाँले आफू लमजुङ आएको आठ महिना वितिसके पनि यस्तो रचनात्मक कार्यक्रममा भने पहिलो पटक भाग लिने मौका मिलेको भन्दै खुशी व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा पुस्तकालयका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, बृक्षारोपण अभियानका अध्यक्ष वासुदेव सेढाई, सोही पुस्तकालयका संस्थापक सदस्य अर्जुन अधिकारी, पत्रकार भरत घिमिरेलगायतले आआफ्ना धारणा सहित भानुभक्तको व्यक्तित्वमा प्रकाश पार्ने काम गर्नु भएको थियो ।
आयोजक पुस्तकालयका उपाध्यक्ष सुशीलचन्द्र अधिकारीले स्वागत गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको कार्यक्रमको सञ्चालक पुस्तकालयका प्रवक्ता एवम् पत्रकार वासुदेव थापाले सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ असार २९, आईतवार १८:२७ गते
हजुरको प्रतिक्रिया