काठमाडौं– एमाले अध्यक्ष केपि ओलीको इच्छा विपरित सक्रिय राजनीतिमा हाम फाल्नु भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको महाधिवेशनअघि पार्टीमा आफ्नो भूमिका केन्द्रीय समितिले निर्णय गरेअनुसार हुने बताउनु भएको छ । पार्टीले दिने जिम्मेवारी अनुसार काम गर्ने स्पष्ट्याउँदै भण्डारीले विधान महाधिवेशनमा आफ्नो उपस्थितिबारे पार्टीको निर्णय पर्खने असार ३१ गते बताउनु भएको छ ।
मदन भण्डारी फाउन्डेसनले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले भदौ १ गते हुने एमालेको विधान महाधिवेशनमा प्रतिनिधि मात्रै उपस्थित हुन पाउने भएकोले त्यहाँ भण्डारीको उपस्थितिबारे सञ्चारकर्मीले जिज्ञासा राखेका थिए । जवाफमा भण्डारीले महाधिवेशनअघि पार्टीको सर्वोच्च निकाय केन्द्रीय समिति हुने भएकोले त्यही कमिटीले गरेको निर्णयअनुसार आफ्नो भूमिका तय हुने धारणा व्यक्त गर्नुभयो । उहाँले विधानको दायराका बारेमा समेतका प्रसङ्ग उठाउँदै पछिल्ला महिनाहरू भएका गतिविधिका बारेमा समेत उहाँले धेरै कुरा खोल्नु भएको थियो ।
उहाँले पार्टीमा मात्र नभई एमालेको विधान महाधिवेशमा समेत आफ्नो भूमिका केन्द्रीय समितिले निर्णय गर्ने भनाइले सो दलभित्र नयाँ तरङ्ग ल्याएको छ । उहाँले भन्नुभयो, ‘असार १४ गते बोल्ने क्रममा आफ्नो धारणा स्पष्ट राखेकी छु कि मैले एमाले सदस्यता नवीकरण गरेकी छु, एमाले पार्टी परिवारमा जोडिएकी छु यहीं सक्रिय भएर देशको सेवा गर्छु ।’
उहाँले थप भन्नुभयो, ‘कुन संरचनामा के भूमिका हुने भन्ने कुरा पार्टीको माथिल्लो तहको नेतृत्वले निर्णय गर्ला, महाधिवेशन अघि केन्द्रीय समिति माथिल्लो निकाय हो त्यसले के निर्णय गर्छ भन्नेमा भर पर्छ ।’
विधान महाधिवेशनमा भाग लिने विषय सिद्धान्ततः विधानतः दशौं महाधिवेशनका प्रतिनिधिहरूले नै भाग लिने हो तर त्यसमा नयाँ प्रतिनिधिहरू पनि थपिएका छन् उहाँले उल्लेख गर्नुभयो । जबजलाई अघि बढाउन मदन भण्डारीले लागु गर्न पाउनुभएन, उहाँको रहस्यमय निधन भयो । त्यो अनुत्तरित प्रश्न छ । तर पनि पार्टी आफ्नो सिद्धान्तअनुसार अघि बढ्दै यो ठाउँमा आएको छ स्मरण गर्दै उहाँले भन्नुभयो, ‘केन्द्रीय कमिटीमा पनि सदस्यहरू मनोनीत हुनुभएको छ । उहाँहरू सबै दशौं महाधिवेशनका प्रतिनिधि हुनुहुन्थ्यो कि हुनुहुन्थेन, त्यो पार्टीले त्यसलाई छलफल गर्ला नै ।’
यो बीचमा जिल्ला अधिवेशनहरू पहिलाको विधान महाधिवेशनमा जिल्लाका प्रतिनिधिहरू धेरैले भाग लिनुभएको छ र जिल्ला अधिवेशनहरू भएका छन् । जिल्ला अधिवेशनमा अहिले आउने नेतृत्व हिजो दशौं महाधिवेशनका प्रतिनिधि थिए कि थिएनन् त्यो पनि पार्टीले त्यसमा छलफल गर्छ होला । केन्द्रीय समितिले केही निर्णय गर्छ होला उहाँको धारणा छ । ‘मेरो उपस्थिति उहाँहरूले कसरी गराउनुहुन्छ उहाँहरूमै भर पर्ने हो । आमन्त्रित हुन्छ वा विधान महाधिवेशनमा प्रतिनिधिका रूपमा हुन्छ या अरू कुनै रूपमा हुन्छ ?’, भण्डारीको भनाइ छ ।
यसैगरी, जनसंगठनहरूको पनि बीचमा धेरै अधिवेशन, सम्मेलनहरू भएका छन् र हिजो दशौं महाधिवेशनका जनसंगठनका प्रतिनिधिहरू अहिले जनसंगठनको पदाधिकारीमा कति आउन सक्नुभयो, भएन त्यसबारेमा पनि प्रष्ट हुनुपर्ने उहाँको कथन छ । जनसंगठनहरूमा पनि लोकतान्त्रिक अभ्यासहरू भएका छन् । त्यसैले अब नयाँ आएका प्रतिनिधित्व कसरी हुन्छ, त्यो छुटेकाहरूले जनसंगठनको प्रतिनिधिको रूपमा अथवा महाधिवेशन प्रतिनिधिको रूपमा कसरी आउने ? यो सबै कुरा केन्द्रीय कमिटीको छलफलको विषय हुनेछ ।
उहाँले भन्नुभयो, ‘म यहाँबाट यही सल्लाह दिनसक्छु । मेरो उपस्थिति उहाँहरूले कसरी गराउनुहुन्छ, त्यो केन्द्रीय कमिटीमै भर पर्ने कुरा हो । यसमा मेरो कुनै यही गर्नुपर्छ भन्ने छैन ।’ तर समग्रतामा देशभित्र पार्टीले जसरी जनताको तहमा काम गरिरहेको छ, त्यो तहको प्रतिनिधित्व गराउने कुरामा केन्द्रीय कमिटीले छलफल गरेर एउटा धारणा बनाउनेछ भन्ने मेरो विश्वास छ भण्डारीले भन्नुभयो ।
संसद् विघटनले मलाई पछ्याइरहन्छ :
अर्को एक प्रसङ्गमान पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घटनाले आफूलाई पछ्याइरहने बारे आफू जानकार रहेको बताएकी छन् । उहाँले संसद विघटन संविधानले गरेको व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले निर्णय गरेर आएको र कुनै दबाबमा नगरेको दोहो¥याउनु भएको छ ।
संसद विघटनको विषयमा संवैधानिक, राजनीतिक र इतिहासका कुराहरू छलफलको विषय हुनसक्ने बताउँदै भण्डारीले भन्नुभयो, ‘२०१७ सालको कुरा पनि इतिहासमा आइरहन्छ, पछि २०५१ मा पनि विघटन भएको छ त्यो पनि आइरहन्छ । म राष्ट्रपति भएको बेलामा पनि दुईचोटि संसद विघटन भएको छ, त्यो आइरहन्छ, तर त्यसलाई मैले कुनै दबाब भन्दा पनि मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन गरेको हो, जे व्यवस्था छ त्यही गरेको हो ।’ उहाँले थप भन्नुभयो, ‘यसमा दबाब थिएन । मैले संवैधानिक विधि व्यवस्था अनुसार मन्त्रिपरिषदले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन गरेको जानकारी गराउन चाहन्छु ।’
प्रकाशित मिति २०८२ असार ३१, मंगलवार १९:३१ गते