राइनास नगरपालिका– ६ का १६ सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

राइनास नगरपालिका– ६ का १६ सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन १ गते बिहिबार १०:२०

आयोगका जिल्ला अध्यक्ष अधिकारीले पहिलो चरणमा १६ जनालाई क्रमशः १९१.०४ वर्गमिटर क्षेत्रफल बराबरको जग्गा व्यवसायिक र आवासीय प्रयोजनका लागि उपलब्ध गराइएको जानकारी दिदै अन्य ९ जनालाई पनि प्रक्रिया पुर्याएर छिटै पुर्जा प्रदान गरिने छ भन्नुभयो ।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ तथा आयोगको केन्द्रीय समितिका विज्ञ सदस्य डा. जगत बस्नेतले संयुक्त रुपमा ती लालपुर्जा वितरण गर्नु भएको हो ।

धमिलिकुवा(लमजुङ)– लमजुङको राइनास नगरपालिका– ६ को यस वडामा रहेको १६ परिजार दलित तथा सुकुम्बासीले जग्गाधनी दर्ता प्रमाण पत्र अर्थात लालपुर्जा पाएका छन् । भूमि समस्या समाधान आयोग जिल्ला समितिको आयोजनामा भएको एक कार्यक्रमका बीच उनीहरूलाई सो पुर्जा असार ३२ गते वितरण गरिएको हो ।
यहाँ आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ तथा आयोगको केन्द्रीय समितिका विज्ञ सदस्य डा. जगत बस्नेतले संयुक्त रुपमा ती लालपुर्जा वितरण गर्नु भएको हो ।
सो पुर्जा वितरण पछि कार्यक्रमका प्रमुख अतिथि डा. गुरुङले भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउनु राज्यको दायित्व भएको हुँदा त्यसै अनुसार काम भएको बताउनु भयो । उहाँले आगामी दिनमा बाँकी भूमिहिनहरूलाई समेत न्याय सुनिश्चित गरिने जानकारी दिनुभयो । धेरै लामो समयदेखि प्रतीक्षामा बसेका नागरिकको सपना आज केही हदसम्म पुरा भएको छ, राज्यले नागरिकको जीवनमा स्थायित्व ल्याउने कार्यलाई अझ गति दिनेछ भन्ने मन्त्री गुरुङले प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले मुलुकमा भूमिलाई व्यवस्थित गर्न सकेमा अधिकांश समस्या समाधान हुने समेत उल्लेख गर्नुभयो ।
आयोगको केन्द्रीय समितिका विज्ञ सदस्य डा. जगत बस्नेतले भूमिहीनलाई जग्गा वितरण गर्नु सामाजिक न्यायतर्फको महत्वपूर्ण पाइला हो भन्नुभयो । उहाँले आयोगले लिएको नीति तथा निर्णयको कार्यान्वयनमा आइपुग्दा यस्ता कार्यक्रमहरूले सकारात्मक सामाजिक रुपान्तरण ल्याउने र भूमिहीन मुक्तराट्र निर्माणमा टेवा पुग्ने उल्लेख गर्नुभयो । उहाँले भूमि वितरणका लागि नीतिगत प्रवन्धका बारेमा प्रकाश पार्नु हुँदै लमजुङको राइनास नगरपालिका– ६ नै पछिल्लो पटक आयोग गठन गरिएपछि जमिन खोजेर पुर्जा उपलब्ध गराउने पहिलो स्थानीय तह भएको जानकारी दिनुभयो ।
आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारीले राइनास नगरपालिका– ६ धमिलिकुवाका साबिक धमिलिकुवा– ३ नयाँ पौवा र धमिलिकुवा– ८ स्याउलीमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुम्बासीहरूलाई सार्वजनिक पर्ति जग्गाबाट लालपुर्जा वितरण गरिएको बताउनु भयो । उहाँले पहिलो चरणमा १६ जनालाई क्रमशः १९१.०४ वर्गमिटर क्षेत्रफल बराबरको जग्गा व्यवसायिक र आवासीय प्रयोजनका लागि उपलब्ध गराइएको जानकारी दिदै अन्य ९ जनालाई पनि प्रक्रिया पुर्याएर छिटै पुर्जा प्रदान गरिने छ भन्नुभयो । अध्यक्ष अधिकारीले भूमिहीन समस्याको दीर्घकालीन समाधानका लागि आयोग गम्भीर रूपमा लागि परेको छ भन्नुभयो । उहाँले वडाले प्रविष्ट गरेको विवरणको आयोगले छानबिन गरी लालपुर्जा वितरण गरिएको हो भन्दै यस अघिको कार्यकालमा भएका निर्णयलाई निरन्तरता दिँदै पुर्जा वितरणको स्थितिमा समिति आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार राइनास नगरपालिकामा ७८ जना सुकुम्बासी र २७२ जना अव्यवस्थित बसोबासी रहेकोमा करिब ५० जना दलित सुकुम्बासी रहेका तथ्यांक छ ।
सो अवसरमा उक्त नगरपालिकाका मेयर खड्ग गुरुङ, उपमेयर पुष्प खनाललगायत विभिन्न पार्टीहरूका प्रतिनिधिहरूले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । नापी अधिकृत विनोद श्रेष्ठले वितरण गरिएको जग्गा सार्वजनिक पर्ति जमिन भएको र यसलाई व्यवसायिक तथा आवासीय प्रयोजनका लागि कानुनी आधारमा प्रमाणिकरण गरिएको जानकारी दिनु भयो ।
राइनास नगरपालिका– ६ का वडाध्यक्ष गोविन्द चिलुवालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य सूचना लौडारीले गर्नु भएको थियो ।
लालपुर्जा वितरण गर्नु अघि भूमिहीनहरू बसोबास गरिरहेको स्थान र जमिन उपलब्ध गराउने स्थानको समेत अतिथिहरूबाट स्थलगत अनुगमन गरिएको थियो ।
कार्यक्रममा राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेल, मालपोत अधिकृत रामचन्द्र अधिकारीलगायत स्थानीय तहका जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापकहरू, संचारकर्मीहरू, सुरक्षा निकायका प्रतिनिधिहरू र लाभग्राहीहरूको सहभागिता रहेको थियो ।

बिराट न्यौपानेको सहयोगमा ।

प्रकाशित मिति २०८२ श्रावण १, बिहीबार १०:२० गते
हजुरको प्रतिक्रिया