काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रीय राजनीतिमा फर्किन नमिल्ने एमालेले निर्णय गर्न सक्ने सम्मावना बढेको छ । एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारी एमाले पार्टीमा फर्कन मिल्छ कि मिल्दैन ? पार्टीले निर्णय लिने बताउँदै त्यस्तो खुलासा साउन १ गते गर्नु भएको हो ।
प्रधानमन्त्री ओलीले पत्रकार विजयकुमार पाण्डेसँग ‘दिशानिर्देश’मा अन्तर्वार्ता दिँदै पूर्वराष्ट्रपति भण्डारीले पार्टी राजनीतिमा फर्कने विषयमा आफूसँग सल्लाह नगरेको दावी गर्दै ‘अहिले उहाँलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने अवस्था छैन’ भन्नुभएको छ । यसको अर्थ भण्डारी सक्रीय राजनीतिमा फर्किन मिल्दैन भन्ने पार्टीबाट निर्णय हुने सम्भावन बढाएको हो ।
पूर्वराष्ट्रपति भण्डारीलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसमा उहाँले अरूसँग मलाई थाहा छैन, मसँग सरसल्लाह गर्नुभएन र पार्टीमा आधिकारिक ढंगले सरसल्लाह गर्नुभएन, कुनै मौखिक वा लिखित पार्टीमा केही गर्नु भएको छैन ।’
पूर्वराष्ट्रपति भण्डारीले आजकै मितिदेखि पूर्वराष्ट्रपतिका हैसियतले पाउने सरकारी सुविधा समेत त्याग गरी एमालेको सदस्यता नवीकरण गरेको र त्यसबारेमा अध्यक्ष ओलीलाई जानकारी गराएको विभिन्न सञ्चारमाध्यमले यसअघि उल्लेख गरिसकेका छन् ।
त्यसबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसमा पार्टीले बसेर निर्णय गर्नुपर्छ। किनभने हामीले उहाँ आफ्नै हिसाबले राष्ट्रपतिमा जानुभएको होइन । हामीले पठाएको हो, राष्ट्रपति उम्मेदवार हुने भनेपछि पार्टी छाडेर जानुभयो, त्यसअघि हाम्रो उपाध्यक्ष नै हो ।’
पत्रकार पाण्डेद्वारा पूर्वराष्ट्रपति राजनीतिमा आएकोबारेमा पार्टीले संस्थागत निर्णय गर्छ कि गर्दैन ? भन्नेर जिज्ञासाको जबाफमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘निर्णय त गर्नैपर्छ, उहाँले प्रश्न उठाइसकेपछि र म आउँछु भनेपछि उहाँले नैतिक रूपमा आउन हुन्छ कि हुँदैन । गणतन्त्र, समाज, राजनीति, व्यवस्था र उहाँकै जीवनमा के असर पर्छ यी आदि सबै सोचेर उहाँलाई दिनुपर्छ सुझाव वा उहाँमाथि गरिनुपर्ने निर्णय पार्टीले गर्न त गर्छ नै ।’
आलीले थपभन्नुभयो, ‘उहाँले आफैले विचार गर्नुपर्छ जस्तो लाग्छ, खै के बोलिराख्नु भएको छ मैले त बाहिर …, उहाँले आउँछु भनेर सार्वजनिक रूपमा बोलेका कुरा हामीले जानकारीमा पाएका छौं, ती के हुन् उहाँसँग हामीले सोध्नुपर्छ, हामी निर्णय लिन धेरै ढिलो त गर्दैनौं ।’
भण्डारीलाई एमालेको अध्यक्ष हस्तान्तरण गर्ने अवस्था छैन भन्ने समेत ओलीले बताउनु भएको छ । अहिले भइरहेका गतिविधि एमाले अध्यक्ष भण्डारीलाई हस्तान्तरण गर्ने सुविचारित कुरा त होइन भनेर कतिपयले भन्ने गरेका छन् ? भन्ने प्रश्नको जबाफ दिएका प्रधानमन्त्री ओलीले हाँस्दै भन्न्नुभयो, ‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्ने अवस्था छैन । किनभने एक त उहाँ राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले ठानेको र मानेको अवस्था नै छैन । दोस्रो, पार्टी काम छाडेर उहाँ धेरै वर्ष नै बाहिर जानुभएको छ, नेतृत्वमा बसेर काम गरेको अनुभव छैन ।’
प्रकाशित मिति २०८२ श्रावण १, बिहीबार १८:२७ गते