चर्दी(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका विरुद्धमा सरकारले साँधी रहेको राजनीतिक प्रतिशोधका विरुद्धमा सो दलले थालेको ‘जनताको हस्ताक्षर’ अभियानले थप उचाई लिइरहेको छ । लमजुङको मध्यनेपाल नगरपालिका– ३ को यस क्षेत्रमा साउन १ गते व्यापक सहभागिता रहेको पाइएसँगै त्यस्तो खुलासा भएको हो ।
करिब चार घण्टा सञ्चालन गरिएको हस्ताक्षर संकलन अभियानमा तीनसय बढीले हस्ताक्षर गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सचिव दिपेन्द्र श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार अभियान सोही ३ नं वडाका अध्यक्ष ध्रुव रिमालको नेतृत्वमा सञ्चालन गरिएको थियो । उहाँले भन्नुभयो, ‘आज करिब चार घण्टाको अवधिमा तीन सय बढी हस्ताक्षर संलकन भएको छ ।’
सो अभियानमा जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेल, जिल्ला संगठन विभागका सदस्य शेरबहादुर गुरुङ, वडानं ६ का सभापति लक्ष्मण (विष्णुनारायण) शाह, स्थानीय कृष्ण बगाले तथा मेडिकल व्यवसायी सुदीव घिमिरे, शिक्षक, कर्मचारी, बुद्धिजीवी आदिको सहभागिता रहेको थियो । सो अभियानमा काँग्रेस, एमाले, माओवादी आदिका नेता तथा कार्यकर्ताहरूले समेत स्वतः स्फूर्त रुपमा हस्ताक्षर गरेका थिए ।
माओवादी शहीद पत्नी जुना थापालगायतले स्वःस्फूर्त रुपमा अभियानको हस्ताक्षर संकलन केन्द्रमा आएर दस्तखत गर्नु भएको छ । कतिपयले खोजी खोजी खेतमा चालु रहेको रोपाईको काम समेत छाडेर दस्तखत गर्न आउनु भएको थियो ।
कतिपयले कसैले दस्तखत गरेको अन्य या भनुँ आफ्ना पार्टीका मान्छेले थाहा नपाउन् भन्ने ढंगले एकान्तमा भेटेर पनि हस्ताक्षर गरेको पाइएको नगर सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका अनुसार आजको कार्यक्रममा भएको सहभागिताले आफूहरूलाई थप उत्साहित बनाएको छ ।
यसअघि सो अभियान सोही नगरपालिका– ३ को सोतीपसल र आसपासका क्षेत्रमा सञ्चालन गरिएको थियो ।
प्रकाशित मिति २०८२ श्रावण २, शुक्रबार ०५:५९ गते