नेकपा (एकीकृत समाजवादी) र नेकपा राष्ट्रिय एकता अभियान बीच एकता घोषणा

नेकपा (एकीकृत समाजवादी) र नेकपा राष्ट्रिय एकता अभियान बीच एकता घोषणा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन ३ गते शनिवार ०९:५२

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई बलियो बनाउन नेकपा एकता राष्ट्रिय अभियानसँगको एकता महत्त्वपूर्ण रहेको बताउनुभयो ।

उक्त एकता घोषणाले वामपन्थीहरूका बीचमा एकता चाहनेहरूमा खुशीको सञ्चार गराएको छ ।

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच एकीकरण भएको छ । एकता घोषणा समारोहमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियानबीच साउन २ गते एकीकरण भएको हो ।
समारोहमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गर्नु भएको थियो । यो एकता घोषणाले वामपन्थी एकता चाहनेहरूका बीचमा खुशीको सञ्चार गराएको छ ।
गौतमले एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्र्नुहुँदा उपस्थिति नेता तथा कार्यकर्ताहरू निकैबेर हुटिङ गरेका थिए । उहाँलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत नेताहरूले स्वागत गर्नु भएको थियो ।
गौतमले पार्टी एकीकरण हुँदा ज्यादै खुसी भएको बताउनु भयो । गौतमले भन्नुभयो, ‘अलि अलि पनि होइन, ज्यादै धेरै व्यक्त गर्न सक्दिनँ,’ त्यही भाव उहाँले नेताहरूसँग खुशी साटासाट गर्दा गर्नु भएका अंकमालमा पनि देखिएको थियो । सो अवसरमा समाजवादीका अध्यक्ष नेपाल र अभियानका संयोजक गौतमले एक आपसमा अंगालो मार्नु भएको थियो भने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल तथा महासचिव घनश्याम भूसालसँग अंकमाल गरी गौतमले खुशी साट्नु भएको थियो ।
उहाँले थप भन्नुभयो, ‘मेरो पार्टी अफिस सैँबु आवासक्षेत्रमा छ, धेरै टाढा होइन । त्यहाँबाट एकीकृत समाजवादीको कार्यालयसम्म आइपुग्न चार वर्ष लाग्यो, चार वर्षपछि मैले भनेजसरी हामी एकीकृत हुँदैछौं ।’
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई बलियो बनाउन नेकपा एकता राष्ट्रिय अभियानसँगको एकता महत्त्वपूर्ण रहेको बताउनुभयो । तर नेकपा (एमाले)सँग एकताको कुनै सम्भावना नरहेको नेपालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिलेको विन्दुमा उभिएर भन्दा नेकपा एमालेसँग एकताको कुनै सम्भावना छैन । त्यहीँभित्रको अवस्था देखिरहेका छौँ । त्यसप्रति लसपस कसैको छ भने, आशा अपेक्षा छ भने मेरो भन्नु केही पनि छैन ।’
उहाँले आफूले त्यहाँभित्रकै अवस्था राम्रोसँग देखेको भन्दै एमालेसँग एकता हुन्छ की ! भनेर भ्रम नपाल्न आग्रह गरे । उहाँले कम्युनिस्टहरू बिग्रिएपछि धेरै गन्हाउने गरेको भन्दै त्यही अवस्था अहिले आफूले देखिरहेको उल्लेख गर्नु भयो । गन्हाएपछि साह्रै खत्तम हुँदो रहेछ । त्यस्तो नहोस् । हामी चाहन्छौँ । सबै सुध्रिउन् । हामी चाहन्छौँ, सबै सही बाटोमा अघि बढौँ । विगतमा आफूबाट कमजोरी भएका छन् भने सच्याउन्, पुनरवलोकन गरुन् । कमी, कमजोरी स्वीकार गर्ने आँट गरुन् उहाँले भन्नुभयो ।
पार्टीलाई बलियो बनाउन नेपाल राष्ट्रिय एकता अभियानसँगको एकताको भूमिका महत्त्वपूर्ण रहने भन्दै बिग्रिएकाहरूले आफूले गरेको गल्तीको महसुस गरेर सच्चिन र सुध्रिन जरुरी रहेको उल्लेख गर्नु भयो । उहाँले आफूहरू कसैप्रति आग्रह पालेर नबस्ने पनि स्पष्ट्याउनु भएको थियो । अध्यक्ष नेपालले आफ्नो पार्टीलाई सिध्याउन नेकपा एमालेले प्रयत्न गरिरहेको समेत उल्लेख गर्नु भयो ।
एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनालले दम्भ र घमण्ड छाडेको खण्डमा वामपन्थी एकता हुनसक्ने बताउनु भयो । उहाँले आ–आफ्ना स्वार्थ र घमण्ड त्याग्ने हो भने अहिले नै वामपन्थीहरूको सरकार बन्ने सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले थप भन्नुभयो, ‘कम्युनिष्टहरू एकतावद्ध भएर जाने हो भने अहिले पनि संसद्मा हामी १३२ भन्दा बढी सिटमा छौं । एकआपसमा राम्रो समझारी हुने हो भने अहिले पनि वामपन्थी सरकार यो देशमा बन्न सक्छ । तर, जुन प्रकारले दम्भ, घमण्ड, आत्मकेन्द्रीत चिन्तन भएका मानिसहरूले कतिपय वामपन्थी समूहहरूको नेतृत्व गरिराखेका छन्, त्यो बाधक बन्ने गरेको छ ।’
त्यस्तै एकीकृत समाजवादीको महासचिव घनश्याम भुसालले सही विचार, नीति, सिद्धान्तको आधारमा कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाएर छाड्छौं, बलियो बनाउँछौं, निर्णायक शक्तिको रुपमा उठाउँछौं भन्ने आफूहरूको संकल्परत रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेताहरूले दुवै पार्टीबीच भएको एकता घोषणा कम्युनिस्ट आन्दोलनका लागि कोशेढुंगा सावित हुने दाबी गर्नु भएको थियो ।
गौतमले यसअघि नै एकीकृत समाजवादीसँग एकीकरण गर्ने तयारी गरेता पनि नेकपा एमालेले उहाँलाई प्रलोभनमा परेपछि समय लम्बिएको थियो । लामो समयदेखि दुवै पार्टीका नेताबीच पार्टी एकीकरणका लागि औपचारिक तथा अनौपचारिक छलफलमा गरिएको थियो ।
विसं २०७७ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अलग भएका दुवै पार्टीले छुट्टाछुट्टै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका थिए । नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि केही समय तटस्थ रहनु भएका गौतमले आफ्नै नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्नु भएको थियो ।
उक्त पार्टीका पार्टी अध्यक्ष नेपाल, सम्मानित नेता खनालपछि नेता गौतमको मर्यादाक्रम व्यवस्थापन गरिएको छ ।
राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न दुवै पार्टी सैद्धान्तिक रूपमा सहमत भएपछि एकताका लागि वातावरण बनेको हो ।
एकताका बारेमा संक्षिप्त प्रतिक्रिया दिनु हुँदै एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् मनाङ– लमजुङका इन्चार्ज रामबाबु अधिकारीले यो एकताले नेपालमा छरिएर रहेको कम्युनिष्ट आन्दोलनलाई एकता बद्ध बनाउने सन्देश दिएको छ, वामपन्थीबीचको एकताले नै समाजवादी क्रान्तीको कार्यभार पुरा गर्न सम्भव छ भन्नुभयो । उहाँले ऐले पनि संसदमा वामपन्थीहरूको १३२ सिट (झण्डै बहुमत) रहेको तथ्यबाट सत्य पत्ता लगाउन वाम एकतामा जोड दिदै अझै नीति निष्ठ, सिद्धान्त निष्ठ र कार्यदिशा निष्ठ एकताबाट समाजवादी क्रान्तिको कार्यभार पुरा गर्न सकिन्छ भन्ने उल्लेख गर्नु भयो । त्यसका लागि कार्यगत एकता हुँदै पार्टी एककरणको दिशामा लाग्नु पर्नेमा उहाँको जोड थियो ।
राष्ट्रियसभा गृहमा आयोजित समारोहमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमलगायत दुबैतर्फका नेता कार्यकर्ताहरूको व्यापक सहभागिता थियो ।

प्रकाशित मिति २०८२ श्रावण ३, शनिबार ०९:५२ गते
हजुरको प्रतिक्रिया