पाउँदी(लमजुङ)– लमजुङका नवस्थापित धार्मिक गन्तव्य धर्मनाथ धाममा पहिलो सोमबार साउन ५ गते गरिने बोलबम यात्राको तयारी अन्तिम चरणमा पुगेको छ । उक्त कार्यक्रमको पूर्वसन्ध्या एवम् तयारीकै क्रममा लमजुङ साईक्लिङ संघद्वारा तेस्रो लमजुङ कोरा साईक्लिङ च्यालेन्जको प्रदर्शन सोही स्थान अर्थात सर्वोदय सेवाश्रमबाट साउन ३ गते सुरु गरिएको छ ।
लमजुङ साईक्लिङ संघले आयोजना गरेको तेस्रो लमजुङ कोरा साईक्लिङ च्यालेन्जको कार्यक्रम बिहान ७ बजे सम्पूर्ण साईक्लिष्टहरूलाई सर्बोदय सेवाश्रम धर्मनाथ धाममा भेला भई सुरु गरिएको थियो । सेवाश्रमबाट तार्कुघाट नेपाल डाँडा, पाउँदी हुँदै सुन्दरबजार अस्पतालमा पुगेको टोली लमजुङ कृषि क्याम्पस गेट हुँदै पैह्रेमा आउँदा त्यहाँ स्थित तामाङ समाजले आफ्नै सभाहलमा स्वागत कार्यक्रम गरेको थियो ।
त्यहाँबाट हिडेको सो टोलीलाई भोटेओडार स्थित समुताँ गुम्बा समितिले पनि आफ्नै सभाहलमा स्वागत कार्यक्रम गरेको थियो । त्यसपछि त्यहाँबाट हिडेको टोली भोटेओडार बगैंचा, अकला मन्दिर उदिपुर कालिका मन्दिर हुँदै गाईखुरे झरनामा आएर समापन गरिएको हो । यो समाचार तयार गर्दैगर्दा समापन कार्यक्रम चलिरहेको लमजुङ साईक्लिङ संघका जिल्ला अध्यक्ष प्रभुराम प्रधानले बताउनु भयो । उहाँका अनुसार सो साइकिल यात्रामा ४२ जना सहभागी मध्ये तीन जना महिला छन् । उहाँले भन्नुभयो, ‘यो हाम्रो प्रतियोगिता हैन, सहभागी सबै विनर हौं ।’
सो साइकाल दौडका सहभागीहरूको रुटमा पर्ने बीच बीच भागमा नास्ता, पानि, दहि, फलफूल, खाना, खाजाको व्यवस्था गरिएको थियो ।
वर्तमान सांसद भण्डारी र पूर्व सांसद पाण्डे सहभागी हुने :
साउन ५ गते सर्वोदय सेवाश्रम स्थित धर्मनाथ धाममा हुने बोलबम यात्रामा संघीय सांसद शंकर भण्डारी तथा पूर्वसांसद एवम् सनातन संस्कृतिका अभियन्ता शंकर पाण्डेको उक्त कार्यक्रममा सहभागिता हुने भएको आश्रमका अध्यक्ष एवम् बोलबम यात्राका संयोजक कृष्णराज ओलियाले बताउनु भएको छ । उहाँका अनुसार स्याङजाको वालिङ, पाल्पा तथा बुटबलबाट एक एक बस तीर्थालुहरू भोलि साउन ४ गते नै यहाँ आइपुग्ने कार्यक्रम रहेको छ ।
ओलियाले भन्नुभयो, ‘वालिङको बोलबम यात्रा समितिले विगतको २२ वर्षदेखि निरन्तर रुपमा यस्तो यात्रा गरिरहेको छ । त्यसको नेतृत्व सो समितिका अध्यक्ष दिपेन्द्र तिवारीले गर्दै हुनुहुन्छ । त्यसैले पनि यसको विशेष महत्व छ ।’
यो कार्यक्रमले लमजुङलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास गराउन सकिने प्रसस्त सम्भावनको साथै शिव महिमाको उजागर गर्ने विश्वास गरिएको ओलियाको भनाइ छ । उहाँका अनुसार चारवटै सोमबार बोलबम यात्राको विशेष मेला यहाँ लाग्ने भएको छ । ती सबै दिनमा यो क्षेत्र आसपासमा रहेका तीन पालिकाका भजन समूहरूलाई पनि आआफ्नो प्रतीभा देखाउन र शिव महिमा गाउनका लागि आमन्त्रण गरिएको छ ।
साउन २६ गतेका दिन लमजुङको तीनपिप्ले निवासी तोयनाथ भट्ट जो विभिन्न धार्मिक अनुष्ठानमा शिवजीको भेषमा देखिने र नाच्ने गरिआउनु भएको छ । उहाँले सो दिन आफ्नो कलाकारिता देखाउनु हुने भएको ओलियाले भन्नुभयो । उहाँका अनुसार साउनभर यहाँ कम्तिमा पाँच हजार जना तिर्थालु भक्तजनको आगमन हुने आंकलन गरिएको छ । उहाँले भन्नुभयो, ं‘प्रत्येक सोमबारका दिन यहाँ आउनु हुने भक्तजनका लागि प्रसादको प्रवन्ध आश्रमकोतर्फबाट गरिएको छ ।’
प्रकाशित मिति २०८२ श्रावण ३, शनिबार १७:२७ गते