ठाडोभाका लयमा मादल बजाउने दुई दिने तालिम सुरु

ठाडोभाका लयमा मादल बजाउने दुई दिने तालिम सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन ९ गते शुक्रबार ०९:३२

जसरी पनि भट्याउँदैमा र जुनसुकै गीत वा लयको पुच्छरमा ठाडोभाका जोड्दैमा त्यो ठाडोभाका हुन नसक्ने हुँदा ठाडोभाकाको स्वर, शब्द र शैलीमा मादल बजाउने तालिमको आयोजना गरिएको हो ।

सो प्रशिक्षणमा मादलतर्फ १९ जनाले र बासुरीतर्फ छ जनाले भाग लिएका छन् ।

बेसीशहर– लमजुङको पहिचान र गौरवको रुपमा रहेको ठाडोभाकाको लयमा मादल बजाउने दुई दिने तालिम यहाँ सुरु भएको छ । अन्य भाकामा बाध्यवादन गरिरहेका मादलेहरूका लागि ठाडोभाकाको लय पक्डनका लागि सहज बनाउने उद्देश्यले सो दुई दिने प्रशिक्षण साउन ९ गते सुरु गरिएको हो ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले एक कार्यक्रमका बीच प्रशिक्षणको उदघाटन गर्नु भएको हो । उहाँले लोक संस्कृतिको महत्वमा प्रकाश पार्नु हुँदै बैशाख पूर्णिमाको दिनदेखि असार मसान्तको अवधिसम्म आफूले मादल नबजाउने प्रतिवद्धता आफ्ना गुरु नाच घाँटुका गुरु भीमबहादुर दुराको निर्देशनमा गरेको हुँदा गुरु आज्ञा पालन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो लोक संस्कृति निकै महत्वको र गौरवपूर्ण छ, तर नयाँ पिंढीले त्यसलाई बुझ्नेतर्फ चासो नदिएको स्थिति छ । लोक संस्कृति हराउनु भनेको हाम्रो पहिचान हराउनु हो, पहिचान हरायो भने हामी नेपाली हुनु वा लमजुङे हुनुको अर्थ छैन भन्नुभयो । त्यसैले संस्कारमा जोड दिन आवश्यक छ उहाँको कथन थियो । पुरानकोट जलदेवी तमू समाजबाट यो तालिमको व्यवस्थापनको काम गरेर संस्कृति संरक्षणमा गर्नु भएको योगदानको भोलिका दिनमा उच्च कदर एवम् मूल्यांकन हुनेछ भन्नुभयो ।
उहाँले साउन १ गते अग्नि जागृत गरेपछि रोधिं पनि सुरु हुने प्रचलन रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीहरू तन्नेरी हुने बेलामा कहिले साउन १ गते आउला र रोधिं खुल्ला र रोधिं बसौला भन्ने हुन्थ्यो ।’ उहाँले बैशाख पूर्णिमादेखि साउन १ गतेसम्म करिब अढाई महिनाको अवधिमा किन मादल नबजाउने भन्दा मादलको संगीतको स्वर सुन्दा चराचुरुङ्गीले ओथारो बस्न पनि छाड्ने भएको हुँदा तिनको सन्तान बृद्धिका लागि सहज बनाउन र हामी मनुष्यले वर्षदिनभर खाने खेतीपातिको काम गर्नका लागि हो भन्नुभयो ।
उक्त कार्यक्रमको सञ्चालन गर्दै प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले ठाडोभाकाको मौलिक विशेषता छ । जसरी पनि भट्याउँदैमा र जुनसुकै गीत वा लयको पुच्छरमा ठाडोभाका जोड्दैमा त्यो ठाडोभाका हुन नसक्ने विदितै छ । त्यसैले ठाडोभाकाको स्वर, शब्द र शैलीमा मादल बजाउने तालिमको आयोजना गरिएको हो भन्नुभयो । उहाँले यो भाकाको गायन तरिकामात्र हैन नाच र बाध्यवादन पनि फरक छ । त्यसैले इच्छुकहरूलाई यसको बारेमा जानकारी गराउने सीप सिकाउने उद्देश्यले तालिमको आयोजना गरिएको पहाडीले उल्लेख गर्नु भएको थियो ।
सो तालिममा मादल तथा बासुरीका प्रशिक्षक एवम् लोकसंस्कृतिकर्मी देवेन्द्र गुरुङले हिजोआज ट्याकमा गीत सुनेर नाच्ने प्रचलन बढेको हुँदा गायन प्रतीभाहरू पलायन हुने स्थिति छ, त्यो स्थितिलाई मध्यनजर गर्दै प्रशिक्षणको आयोजना गरिएको बताउनु भयो । उहाँले ठाडोभाका हाम्रो जिल्लाको पहिचानसँग जोडिएको हुँदा पनि यसको संरक्षण र प्रवर्धनको कार्यमा सहयोग पुगोस् भनेर यो प्रयास गरिएको हो भन्नुभयो ।
पुरानकोट जलदेवी तमु समाजको आमा समूहका अध्यक्ष आशकुमारी गुरुङको अध्यक्षतामा भएको सो उदघाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि एवम् ठाडोभाका लोककला प्रतिष्ठानका संरक्षक तथा ठाडोभाका महानायक धम्पुलाई तमु समाजकोतर्फबाट क्रेसी(सेतो फेटा)द्वारा सम्मान गरिएको थियो । अध्यक्ष गुरुङले धन्यवाद ज्ञपान गर्दै उदघाटन सत्रको समापन गर्नु भएको थियो ।
सो अवसरमा उक्त प्रशिक्षणको व्यवस्थापन गर्नु हुने पुरानकोट जलदेवी तमु समाजको बाबा समूहका अध्यक्ष टसबहादुर गुरुङ, आयोजक प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङ, कार्यकारी सदस्य हरि रानाभाट, वरिष्ठ आजीवन सदस्य मीन गुरुङ, आजीवन सदस्यद्वय रमाना भण्डारी तथा बुद्धिमाया गुरुङ, पुरानकोट जलदेवी तमु समाजको आमा समूहका पूर्वअध्यक्ष बुद्धकाशी गुरुङ लगायत तमु समाजका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
बुद्धिमान दुरा धम्पु, देवेन्द्र गुरुङ, तीर्थ गुरुङ, देवराज गुरुङले मादल तथा बासुरीको प्रशिक्षण दिनु भएको छ भने ठाडोभाकाका बारेमा धम्पु, बुद्धिमाया गुरुङ तथा प्रतिष्ठानका कार्यकारी सदस्य मीना गुरुङले प्रशिक्षण दिनु भएको छ ।
सो प्रशिक्षणमा मादलतर्फ १९ जना र बासुरीतर्फ छ जनाले भाग लिएका छन् ।
उक्त तालिमको समापन कार्यक्रम भोलि प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम रहेको आयोजक प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति २०८२ श्रावण ९, शुक्रबार २१:३२ गते
हजुरको प्रतिक्रिया