बेसीशहर– गण्डकी प्रदेश सरकारले सरकारी कामकाजीको भाषाका रुपमा नेपाली भाषा सरह गुरुङ र मगर भाषालाई मान्यता दिएको खुशीयालीमा लमजुङको जिल्ला सदरमुकाम यहाँ दिपावली गरिएको छ । गण्डकी प्रदेशका अर्थ मामिला मन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता डा. टकराज गुरुङको प्रमुख आतिथ्यतामा दिपावली कार्यक्रम भीमसेनस्थान चोकमा साउन ९ गते साँझ गरिएको हो ।
दिपावली कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री गुरुङले सबै जाति, जनजातिका भाषाको संरक्षण र प्रवर्धनमा प्रदेश सरकार लागि परेको छ भन्नुभयो । उहाँले धेरै बलिदानीबाट प्राप्त भएको हालको संविधानको मर्म अनुसार गण्डकी प्रदेश सरकारले प्रदेशको सरकारी कामकाजी भाषाका रुपमा गुरुङ र मगर भाषालाई मान्यता दिलाउनका लागि संसदबाट सर्वसम्मत रुपमा विधेयक पारित गरेको जानकारी दिनुभयो । उहाँले चालु आवदेखि सरकारी पत्र तथा सबै प्रकारका सरकारी कागजातमा अबदेखि तीन भाषाको प्रयोग हुनेछ भन्नुभयो । गुरुङ र मगर भाषालाई मान्यता दिदा नेपाली लगायतका अन्य भाषा के हुन्छ ? भन्ने प्रश्न पनि उठ्न सक्छ तर प्रदेश सरकार सबै प्रकारका भाषाको संरक्षणमा लागि परेको जानकारी गर्दछु भन्नुभयो ।
सो अवसरमा आयोजक पुरानोकोट जलदेवी तमु समाजकोतर्फबाट गण्डकी प्रदेश सरकारलाई बधाई सहितको सम्मानपत्र समेत मन्त्री डा. गुरुङलाई प्रदान गरिएको थियो । मन्त्री गुरुङलाई पुरानोकोट जलदेवी तमु समाजको आमा समुहका अध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष आशकुमारी गुरुङले सम्मानपत्र हस्तान्तरण गर्नु भएको थियो ।
उक्त अवसरमा बेसीशहर नगरपालिका– ८ का वडाध्यक्ष पवित्रा थापा रानाले आजको दिन निकै खुशीको दिन हो, विभिन्न भाषा, जाति, संस्कार, संस्कृति रहेको हाम्रो देशमा यी भाषाको संरक्षणको कार्य हुनु सुखद पक्ष हो भन्नुभयो । संस्कार, संस्कृति जोगिएन भने हाम्रो पहिचान समेत मेटिने हुँदा यस्ता कार्यमा हामी सबै लाग्नु पर्छ उहाँको जोड थियो ।
उक्त दिपावली कार्यक्रमको व्यवस्थापन कार्यमा नेपाल तरुण दलका केन्द्रीय सदस्य एवम् आयोजक संस्थाका सल्लाहकार बृषराज गुरुङले सहयोग गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन आयोजक समाजको बाबा समूहका अध्यक्ष टसबहादुर गुरुङले गर्नु भएको थियो । कार्यक्रमका अध्यक्ष आशकुमारी गुरुङले धन्यवाद ज्ञापनसहित कार्यक्रमको विसर्जन गर्नु भएको थियो ।
सो अवसरमा दिपावलीपछि लमजुङको पहिचानका रुपमा रहेको ठाडोभाका लोककला प्रतिष्ठानको टोलीले ठाडोभाकाको प्रस्तुति समेत गरिएको थियो । ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु, ठाडोभाका वरिष्ठ गायिका बुद्धिमाया गुरुङ, मीना गुरुङ, सीता गुरुङ, सुस्मिता गुरुङ, बुद्धकाशी गुरुङ लागयतले सो कार्यमा साथ दिनु भएको थियो भने उक्त अवसरमा मन्त्री गुरुङ समेत नाच्नु भएको थियो ।
प्रकाशित मिति २०८२ श्रावण १०, शनिबार ०७:५६ गते