ठाडोभाका प्रतिष्ठानका कार्यको अन्यले पनि अनुशरण गर्नु पर्छ : प्रजिअ पोखरेल

ठाडोभाका प्रतिष्ठानका कार्यको अन्यले पनि अनुशरण गर्नु पर्छ : प्रजिअ पोखरेल

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन १० गते शनिवार ०९:५०

उक्त दुई दिने प्रशिक्षण सात वर्षका लिरिक्स गुरुङदेखि ७२ वर्षका टसबहादुर गुरुङसमेत तीन पुस्ताका सहभागी हुनुहुन्थ्यो ।

‘गीत संगीतले मानिसलाई खुशी दिन्छ, खुशीले समाजमा अपराधका घट्ना पनि कम हुन्छन् र त्यतिबेला प्रहरीको काम पनि कम हुन्छ ।’ प्रनाउ बोहरले बताउनु भयो ।

बेसीशहर– ‘नेपालको लोकसंस्कृति अनुपम छ, यसको अध्ययन, अनुसन्धान गर्न विदेशीहरू समेत नेपाल आउने गरेका छन् । यसको जर्गेनाका लागि ठाडोभाका लोककला प्रतिष्ठान नेपालबाट जुन कार्य भएको छ, यसको अन्य संस्थाहरूले पनि अनुशरण गर्नु पर्छ ।’ यी भनाई लमजुङका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका हुन् । उहाँले ठाडोभाका लोककला प्रतिष्ठानले आयोजना गरेको दुई दिने ठाडोभाका लयमा मादल बनाउने र बाँसुरी बजाउने दुई दिने तालिमको समापनका अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै साउन १० गते त्यस्तो बताउनु भएको हो ।
‘जय ठाडोभाका !’ भन्दै सुरु गर्नु भएको आफ्नो संक्षिप्त मन्तव्यमा प्रजिअ पोखरेलले विभिन्न कार्यक्रममा गइन्छ, तर यस्तो सांगीतिक कार्यक्रममा जानुको मज्जा नै बेग्लै हुने बताउँदै यहाँ आएर बसेको करिब तीन घण्टाको समय तीन मिनेटझैं पनि लागेन भन्नुभयो । उहाँले लोकभाका नेपालको गौरव हो भन्नुभयो । लमजुङका लोकगीतमा समेटिएका सबै गाउँमा पुग्ने आफ्नो चाहना रहे अनुसार हरेक शुक्रबार आफू यौटा गाउँमा पुग्ने गरेको उहाँले सुनाउनु भयो ।
प्रजिअ पोखरेलले मौलिक लोकभाकाको संरक्षण र प्रवद्र्धन अति आवश्यक छ भन्दै नेपालको लोकसंस्कृति अनुपम छ, यसको अध्ययन अनुसन्धान गर्न विदेशीहरू समेत नेपाल आउने गरेका छन् । यसको जर्गेनाका लागि ठाडोभाका लोककला प्रतिष्ठान नेपालबाट जुन कार्य भएको छ, यसको अन्य संस्थाहरूले पनि अनुशरण गर्नु पर्छ भन्नुभयो । यो अनुपम क्षणको साक्षी हुन पाएकोमा गर्वको अनुभूति भएको बताउँदै उहाँले कलाकारहरूलाई निरन्तर आफ्नो साधनामा लाग्न आग्रह गर्नु भयो ।
कार्यक्रमका विशेष अतिथि प्रहरी नायव उपरीक्षक रेशम बोहराले उस्तै सटिक तर मन छुने मन्तव्य व्यक्त गर्नु भएको थियो । उहाँले दुई दिनदेखि निकै थाकेको थिएँ । यो कार्यक्रमको निम्ता दिनु हुँदा सुरुमा त ‘इनिस्पेक्टरलाई पठाउँछु नि !’ पनि भनेको थिएँ तर पनि म आफै जान्छु भन्ने लाग्यो र आएँ । यहाँ आएपछि दुई दिनको थकाई क्षणभरमै हरायो उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, ‘गीत संगीतले मानिसलाई खुशी दिन्छ, खुशीले समाजमा अपराधका घट्ना पनि कम हुन्छन् र त्यतिबेला प्रहरीको काम पनि कम हुन्छ ।’
संगीतबाट मानिसको मन हल्का हुन्छ, दुःख पीडा भुलिन्छ, हिजो आजका मानिसहरू मोवाइलमा रमाउने हु्ँदा धेरै मानसिक समस्या झेलिरहेका छन्, गीत संगीतले मानिसलाई नयाँ उर्जा दिन्छ, हसाउँछ र खुशी हुन सिकाउँछ यसैले यसको जगेर्ना गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्र्नु पर्छ उहाँले जोड दिदै भन्नुभयो । ठाडोभाका लोककला प्रतिष्ठान र पुरानोकोट जलदेवी तमु समाजबाट भएको यसको व्यवस्थापन कार्य सराहनीय छ प्रनाउ बोहराले भन्नुभयो ।
यसैगरी ठाडोभाका लोककला प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले संसार जित्ने छोराछोरी जन्माउने आमाहरूले जाबो मादल बजाउन नजान्ने भन्ने पनि हुन्छ र ?! भन्नुहुँदै यहाँका आमाहरूले गर्नु भएको प्रयास उत्कृष्ठ छ । त्यसलाई निरन्तरता दिनु होला भन्ने कामना उहाँले गर्नु भयो ।
कार्यक्रमका अध्यक्ष समेत रहनु भएका ठाडोभाका लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले आफ्नो प्रतिष्ठान गैरनाफामूलक संस्था भएको हुँदा पुरानोकोट जलदेवी तमु समाज जस्ता सहयोगी र मनकारी आमा– बाबा समूह भएका ठाउँमा आफ्ना कार्यक्रमहरू लग्ने गरेको बताउनु भयो । उहाँले प्रनाउ बोहराले भन्नुभएको ‘गीत संगीतले मानिसलाई खुशी दिन्छ, र खुशी समाजमा अपराध कम हुन्छ ।’ भन्ने भनाइको स्मरण गर्दै त्यस्तो खुशी समाज बनाउने दायित्व तीनै तहका सरकारको समेत हो, तर ती सरकारमा बस्नेहरूले आजका दिनसम्म विकास भनेको भौतिक निर्माणमात्र हो भन्ने ठान्ने प्रवृत्तीको आफूहरू शिकार हुनु परेको उल्लेख गर्नु भयो । उहाँले यो कार्यक्रमले तिनै तहका सरकारको पदमा बस्नहरूको सोच एवम् चिन्तनमा परिवर्तन गर्न सकोस् भन्ने कामना गर्नु भयो ।
उहाँले नयाँ पुस्तामा ठाडोभाका हस्तान्तरणका लागि आफूहरूले पछिल्ला वर्षमा प्रशिक्षणमा जोड दिएको बताउनु भयो । प्रशिक्षणले नयाँ पुस्तामा ठाडोभाका हस्तान्तरणका लागि वातावरण बनाउनुका साथै हरेक वर्ष प्रतिष्ठानले सञ्चालन गर्ने प्रतियोगितामा सहभागी बढाउनसमेत मद्दत गरेको हुँदा त्यस्तो कार्य गरिरहेको बताउनु भयो । अध्यक्ष पहाडीले उक्त कार्यक्रमलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
ठाडोभाका लोककला प्रतिष्ठानका कार्यकारी सदस्य रमाराज खनियाले स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै लमजुङको पहिचान र गौरवका रुपमा रहेको ठाडोभाका यो प्रतिष्ठान नभएको भए सायदै बाच्थ्यो होला, प्रतिष्ठानले दुर्गम गाउँमा समेत प्रशिक्षणका कार्यक्रम गरेर यसको संरक्षणमा विशेष योगदान गरेको उल्लेख गर्नुभयो ।
उक्त समापन कार्यक्रमको सञ्चालन ठाडोभाका लोककला प्रतिष्ठानका कार्यकारी सदस्य एवम् प्रशिक्षक देवराज गुरुङले गर्नु भएको थियो ।
उक्त प्रशिक्षण सात वर्षका लिरिक्स गुरुङदेखि ७२ वर्षका टसबहादुर गुरुङसमेत तीन पुस्ताका सहभागी हुनुहुन्थ्यो । उक्त दुई दिने तालिमका सहभागीहरू अधिकांश महिला रहेको उक्त प्रशिक्षणमा मादल बजाउनेतर्फ १९ जना र बाँसुरी बजाउनेमा छ जनाले भाग लिएका थिए ।

 

प्रकाशित मिति २०८२ श्रावण १०, शनिबार २१:५० गते
हजुरको प्रतिक्रिया