काठमाडौं– अन्ततः नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा आउने बाटो रोक्ने काम गरेको छ । यस बारेमा थप छलफल र बहस नगर्न मातहतका कमिटीलाई अपानि– १२, मार्फत् पूर्वराष्ट्रपति भण्डारीका बारेमा थप छलफल नगर्न साउन १२ गते त्यस्तो निर्देशन दिइएको हो ।
नेकपा एमालेले अन्तर पार्टी निर्देशन (अपानि) १२ जारी गर्दै पुर्व पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै नेता भएकाले पार्टीको कार्यकर्ता बन्न नहुने जनाएको छ ।
एमालेले गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामबरण यादवसमेत सक्रिय राजनीतिमा नआएको दृष्टान्तको समेत स्मरण गराउने काम गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले ३० पेज लामो अपानि १२ जारी गर्दै पार्टीकोतर्फबाट नवौँ केन्द्रीय कमिटी बैठकका निर्णयसहित पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा मातहतका कमिटीमा पठाइएको हो । अध्यक्ष ओलीले जारी गरेको अपानिमा भण्डारी सिङ्गै राष्ट्रको नेता भइसकेकाले अब पार्टीको कार्यकर्ता बन्न नहुने उल्लेख छ ।
अपानिमा केन्द्रीय कमिटीको निर्णय समावेश छ । जसमा पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा सक्रिय नभई सम्मान लिएर बस्न भनिएको छ ।
गत ६– ७ साउनमा सम्पन्न नवौं केन्द्रीय कमिटी बैठकको निर्णय समेत संलग्न गरेर जारी अपानि– १२, मार्फत् पूर्वराष्ट्रपति भण्डारीका बारेमा थप छलफल नगर्न निर्देशन दिइएको जानकारीमा आएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकोे सम्बोधनलाई अपानिमा समेट्दै यस्तो निर्देशन दिइएको हो ।
अपानिमा भनिएको छ, ‘गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आवद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना गरेको देखिदैन ।’ यो तर्क अनुसार पूर्वराष्ट्रपति भण्डारीले संविधानको परिकल्पना अनुसार राजनीतिमा फर्कन मिल्दैन ।
‘पछिल्लो समयमा सम्माननीय पूर्वराष्ट्रपतिका नाममा पार्टी एकतालाई कमजोर बनाउनेगरी सुरु भएको बहस र विवादलाई केन्द्रीय कमिटीको नवौं बैठकले उपयुक्त निर्णय गरी समाधान गरेको छ । अब उक्त विषयमा थप छलफल र बहस गरेर सम्माननीय पूर्व राष्ट्रपतिको गौरव, प्रतिष्ठा र सम्मानमा आँच आउने काम कसैले पनि गर्नु हुँदैन ।’ जारी अपानिमा उल्लेख छ ।
‘सम्माननीय पूर्व राष्ट्रपति पार्टी राजनीतिमा संलग्न हुने सन्दर्भ’ भन्ने शीर्षक राखेर एमालेले पूर्वराष्ट्रपति भण्डारीबारे डेढ पेजको व्याख्या सहितको अपानिमा उल्लेख गरेको छ ।
उक्त व्याख्यामा पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन किन रोक लगाउनु पर्यो भन्ने पुष्ट्याइँको जमर्को गरेको छ । जहाँ राष्ट्रपति संस्थाको गरिमा जोगाउन र संविधानको भावना कार्यान्वयन गर्न एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउनु परेको तर्कलाई लिपिबद्ध गरिएको छ ।
गणतन्त्रको गौरव र गरिमा कायम राख्नकै निम्ति एमालेले गत वर्ष पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरिएको समेत अपानिमा भनिएको छ । ‘नेपालमा लैंगिक समानता र समावेशीताको आइकनका रुपमा रहनुभएको उहाँलाई उहाँका यिनै योगदानका कारण गत वर्ष नेपाल कम्युनिष्ट पार्टीको हीरक वर्ष समारोहमा ‘गणतन्त्र गौरव’को रुपमा सम्मान गरेको सन्दर्भ यहाँनीर स्मरणीय छ ।’ समेत अपानिमा उल्लेख छ ।
‘सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली राजनीतिमा एकजना सम्मानित नाम हो । हिजो आफ्नो पार्टीको केन्द्रीय नेतृत्वमा र उपाध्यक्षको ओहदामा रहँदा होस् या सम्मानित राष्ट्रपतिको जिम्मेवारीमा रहँदा, उहँँले अत्यन्त गरिमामय ढंगले ती ओहदाहरुलाई उचित, न्याय र उत्कृष्ट कार्य सम्पादन गर्नुभएको छ ।’ भन्ने समेत स्मरण गराइएको छ ।
कार्यकर्ता हुन नमिल्ने :
‘सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रुपमा सम्मानित भएर बस्नु पर्दछ । सक्रिय राजनीतिमा आउनु हुन्न । सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा (एमाले) ले कार्यकर्ता बनाउनु हुँदैन, अध्यक्ष भए पनि कार्यकर्ता हो’ बैठकको निर्णय भनेर अपानिमा लेखिएको छ, ‘यहाँ आउनु हुँदैन । पूर्वराष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्र गौरव भएर बस्नुहोस् । उहाँ राष्ट्रको गहना हो । हाम्रो पनि गहना हो ।’
अपानिमा भनिए अनुसार ‘सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्छ । सक्रिय राजनीतिमा आउनु हूँदैन। सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा एमालेले कार्यकर्ता बनाउनु हुँदैन । अध्यक्ष भए पनि कार्यकर्ता हो । यहाँ आउनु हुँदैन । पूर्व राष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस् । उहाँ राष्ट्रको गहना हो । हाम्रो पनि गहना हो,’ उल्लेख छ ।
अपानिमा भण्डारीको सदस्यता नवीकरणको प्रक्रिया नमिलेको उल्लेख गर्दै ‘पार्टी सदस्यता नवीकरण सदर हुँदैन, विधानको धारा ८ अनुसार हुन्छ,’ भनिएको छ ।
एमालेको विधानको धारा ८ (३) मा स्वेच्छाले पार्टी सदस्यता त्यागेको खण्डमा सदस्यता रिक्त हुने व्यवस्था छ ।
स्मरणीय छ, नवौं केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीको पार्टी पुनरागमन रोक्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति २०८२ श्रावण १३, मंगलवार ०८:०१ गते