ठूलीबेसी(लमजुङ)– लमजुङ मर्स्याङ्दी गाउँपालिका– ६ को नाइचेमा निर्माणधीन सुपर न्यादी जलविद्युत् आयोजनाका एक कामदारको मृ्त्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् भने तीमध्ये एकको अवस्था गम्भिर भएको हुँदा थप उपचारका लागि चितवनमा रिफर गरिएको साउन २४ गते प्रहरीले जनाएको छ ।
दिउँसो कामदारहरू बसेको क्याम्पमा अचानक आएको पहिरोमा परी एकजनाको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रमेश बोहराले बताउनु भयो । उहाँका अनुसार बेसीसहर नगरपालिका– ८ मा अस्थायी रूपमा बस्ने ४४ वर्षीय लगनध्वज गुरुङको मृत्यु भएको हो ।
त्यसैगरी, घाइते हुनेमा मध्यनेपाल नगरपालिका– ७ बस्ने ३५ वर्षीय प्रितम लामा भन्ने भिमबहादुर तामाङ, दोर्दी गाउँपालिका– ५ का २१ वर्षीय विराज गुरुङ र प्यूठान जिल्ला झिम्रुक गाउँपालिका– ६ का २५ वर्षीय विकास विष्ट रहेको. उहाँको भनाइ छ ।
घाइतेहरूको बेसीशहर नगरपालिका– ८ स्थित प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ । घाइतेमध्येका प्रितम लामालाई थप उपचारका लागि चितवन पठाइएको प्रमुख प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘सो क्याम्पमा करिब ४० जना कामदार बस्दै आएका थिए, अन्य ३६ जना भने सकुशल रहेका छन् ।’
आज शनिबारको विदाको दिन भएको हुँदा कामदारहरू आराम गरेर क्याम्पमा बसिरहेको बेलामा अचानक दिउँसो पैह्रो आएको सोही वडाका वडासदस्य रामचन्द्र गुरुङले बताउनुभयो । उहाँका अनुसार मेरो घरको सामुन्नेमै त्यो घट्ना भएको हो । उनले भने, ‘दिउँसोको समयमा सिमसिम पानी परेको थियो, डम्मै कुहिरो लागेको थियो । त्यसैले पैह्रो नजिक आएपछि मात्र उनीहरूले थाहा पाए ।’ पहिरोले ल्याएको ढुंगाको चोटले मान्छे मर्ने र घाइते हुने भएको हो वडासदस्य गुरुङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यतिबेला पैह्रो थामिएको छ । मैले चारजना केटाहरू पठाएर पहिरो माथिबाट आएको पानी तर्काउन लगाएको छु ।’ अब त थप क्षति हुन्न होला उहाँको भनाइ छ । उनका अनुसार बाकी रहेको ३६ जना कुल्लीहरूलाई त्यही नजिक रहेको जागृति आमा समूहको भवनमा राखिएको छ । उहाँले भन्नुभयो, ‘अर्को व्यवस्था नहुँदासम्म ४, ५ दिन उनीहरू त्यही बस्छन् ।’
यस घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८२ श्रावण २४, शनिबार २१:१४ गते