ठूलीबेसी(लमजुङ)– लमजुङको उत्तरी क्षेत्रमा बाढी पहिरोले वितण्डा मच्चाएको छ । मस्र्याङ्दी गाउँपालिका– ६ को नाइचेमा निर्माणधीन सुपर न्यादी जलविद्युत् आयोजनाका एक कामदारको मृत्यु भएको दोस्रो दिन साउन २५ गते निर्माणको कार्य ठप्प भएको छ । बाढी पहिरोले आयोजनामा पुर्याएको क्षतिले निर्माणको काम कसरी कहाँबाट थाल्ने जस्तो स्थिति बनाएको छ ।

साउन २४ गते आएको बाढी पहिरोले उक्त आयोजनामा ठूलो क्षति पुर्याएको हो । कामदारहरू बसेको क्याम्पमा दिउँसोको समयमा अचानक पहिरो आउँदा बेसीशहर नगरपालिका– ८ मा अस्थायी रूपमा बस्ने ४४ वर्षीय लगनध्वज गुरुङको मृत्यु भयो । उनले शवको पोष्टमार्टम गरी परिवारजनलाई बुझाउने काम २५ गते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रमेश बोहराले बताउनु भयो । उहाँका अनुसार मृतकका परिवारले नियमानुसार पाउने विमाको साढे छ लाख रुपैयाँ पाउँछन् अन्य कम्पनीको नियम पनि होला । उहाँले भन्नुभयो, ‘हामीले सुरक्षाको पाटोबाट गर्ने काम त्यो शवको पोष्टमार्टम गरी सम्बन्धित परिवारजनलाई बुझाउने काम गरिसकेका छौं ।’

घाइतेहरू तीन जनामध्ये एक जनाको मध्यनेपाल नगरपालिका– ७ बस्ने ३५ वर्षीय प्रितम लामा भन्ने भिमबहादुर तामाङलाई चितवन रिफर गरिएको छ । दोर्दी गाउँपालिका– ५ का २१ वर्षीय विराज गुरुङ र प्यूठान जिल्ला झिम्रुक गाउँपालिका– ६ का २५ वर्षीय विकास विष्ट घाइते भएकोमा एक जना प्रदेश अस्पताल लमजुङबाट डिस्चार्ज भएको छन् भने एक उपचाररत छन् । उक्त विद्युत आयोजनाको सो क्याम्पमा ४० जना कामदार बस्दै आएका थिए, अन्य ३६ जना भने सकुशल रहेको प्रनाउ बोहराले बताउनु भयो ।

उता, सोही वडाका वडासदस्य रामचन्द्र गुरुङले भन्नुभयो, ‘आज त कामदारहरूले साथी दुर्घटनामा परेको हुँदा उसको शोक मनाएका छन्, आयोजनाको निर्माणको काम ठप्प छ ।’ गुरुङका अनुसार पैह्रो बीचमा पनि आएर केही भाग अड्किएको छ । त्यसलाई आज बिहान हामीले झार्न प्रयास गर्यौं, माथिबाट पानी पनि लगाएर पनि हेर्यौं तर झर्न मानेन त्यो भाग नझर्दासम्म जोखिम रहिरहन्छ । उहाँले भन्नुभयो, ‘पहिरो नझर्ने भएपछि हिजो जस्तै मैले चारजना केटाहरू पठाएर पहिरो माथिबाट आएको पानी तर्काउन लगाएको छु ।’
क्याम्पमा रहेका बाँकी ३६ जना कामदारहरूलाई त्यही नजिक रहेको जागृति आमा समूहको भवनमा राखिएको गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘विद्युत आयोजनाले विकल्प तयार नगर्दासम्म ४, ५ दिन उनीहरू त्यही बस्छन् ।’

बाढी पहिरोले आयोजनामा ठूलो क्षति :
पहिरोले आयोजनको बेस क्याम्पमात्र हैन आयोजनालाई नै ध्वस्त बनाएको छ । ४० दशमलव २७ मेगावाटको क्षमताको सो विद्युत आयोजनमा भएको घटना तथा क्षतिकाबारेमा थप विवरण लिनका लागि आयोजना प्रमुख विमल ढकालसँग सम्पर्क गर्दा उहाँले आफूहरू मृतक तथा घाइतेको व्यवस्थापन र क्षतिको विवरण संकलन गर्न लागि परेको बताउनु भयो । उहाँका अनुसार मृतक गुरुङका दुई जना छोरी कक्षा– ९ मा र छोरा कक्षा– ४ मा पढ्ने रहेछन्, उनीहरूलाई प्लस टु सम्म पढ्ने प्रवन्ध कम्पनीले गरेको छ । ‘ती दुई बालबालिकालाई पढ्न मासिक खर्च पुग्ने गरी कोषमा विमासहितको रकम निर्माण कम्पनीले राखिदिने गरी सहमति भएको छ ।’ उहाँले भन्नुभयो, ‘घाइतेको हकमा उपचार खर्च सहित अवस्था हेरेर कम्पनीले सहयोग गर्छ ।’

सो कम्पनीको निर्माणको काम झण्डै ७५ प्रतिशत सकिएको अवस्थामा यस्तो घट्ना भएको ढकालले बताउनु भयो । उहाँका अनुसार आयोजना क्षेत्रको २० किमिको दुरीका सडकमा १५ स्थानमा पहिरो गएको छ । पेनस्टकदेखि निर्माण स्थलमा बनाइएका तीनवटा वाल भत्किएका छन् । निर्माण सामग्री बगाएको छ । क्षतिको पूर्ण विवरण आउनु १, २ दिन लाग्न सक्छ उहाँले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति २०८२ श्रावण २६, सोमबार ०७:२० गते