गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको मुख्यमन्त्री पाण्डेद्वारा उद्घाटन

गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको मुख्यमन्त्री पाण्डेद्वारा उद्घाटन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन २६ गते सोमबार ०९:२२

प्रदेश सरकारले पत्रकारिताको स्वतन्त्रता र पेसागत अधिकारको रक्षा गर्दै जिम्मेवार सञ्चारलाई प्रोत्साहन दिन आवश्यक नीतिगत, संरचनात्मक र स्रोतगत सहयोग निरन्तर उपलब्ध गराउने उहाँले उल्लेख गर्नुभयो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा पत्रकारिता क्षेत्रको सशक्तीकरण लगायत विभिन्न शीर्षकमा ५ करोड ३० लाख रुपैयाँ विनियोजन भएको उहाँले जानकारी दिनुभयो ।

पोखरा– गण्डकी प्रदेशमा प्रेस रजिष्ट्रार कार्यालयको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवस्थापित कार्यालयको उद्घाटन साउन २६ गते गर्नु भएको हो ।
मुख्यमन्त्री पाण्डेले उद्घाटन मन्तव्य व्यक्त गर्दै लोकतन्त्रको मेरुदण्ड स्वतन्त्र प्रेस भएको बताउनु भयो । उहाँले प्रेस स्वतन्त्रतासँगै उत्तरदायित्व पनि अनिवार्य भएको भन्दै गण्डकी प्रदेश सरकारले प्रेस रजिष्ट्रार कार्यालयको स्थापना गरेको उल्लेख गर्नु भयो । कार्यालयको स्थापनापछि पत्रकारिता व्यवसायमा कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शिता अभिवृद्धि गर्न उक्त कार्यालय अग्रसर रहने विश्वास उहाँले व्यक्त गर्नु भएको छ । उहाले रजिष्ट्रारको कार्यालयलाई कार्यपालिकाबाट कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने जानकारी दिनु भएको थियो ।
मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘प्रेस रजिष्ट्रारको कार्यालय स्वायत्त हुन्छ, यसमा कार्यपालिकाको छाया पर्न दिन्नँ, सञ्चार माध्यमलाई व्यवस्थित गर्दै स्वतन्त्र र व्यावसायिक पत्रकारिताको प्रवद्र्धन, नियमन र अभिलेख राख्न प्रेस रजिष्ट्रारको कार्यालयले सहयोग गर्नेछ ।’ उहाँले थप भन्नुभयो, ‘गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको स्थापना एक ऐतिहासिक कदम हो, जसले पत्रकारिता व्यवसायमा कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शिता अभिवृद्धि गर्नेछ । यसले सञ्चार माध्यमहरूलाई व्यवस्थित गर्दै पत्रकार र सञ्चार संस्था बीचको आपसी विश्वासलाई मजबुत पार्नेछ ।’
प्रदेश सरकारले पत्रकारिताको स्वतन्त्रता र पेसागत अधिकारको रक्षा गर्दै जिम्मेवार सञ्चारलाई प्रोत्साहन दिन आवश्यक नीतिगत, संरचनात्मक र स्रोतगत सहयोग निरन्तर उपलब्ध गराउने उहाँले उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डा. खगेन्द्रप्रसाद सुवेदीले सञ्चार स्वतन्त्रताको संरक्षण र जिम्मेवार पत्रकारिताको विकासमा प्रेस रजिष्ट्रारको कार्यालय महत्त्वपूर्ण बन्ने बताउनु भयो । प्रदेश सरकारले यस संस्थालाई आवश्यक नीति, संरचना र स्रोतसाधनका माध्यमबाट सहयोग गर्ने उहाँको भनाइ छ ।
प्रेस रजिष्ट्रार विमला भण्डारीले कार्यालयको उद्देश्य, कानुनी अधिकार र कार्यक्षेत्रबारे विस्तृत जानकारी गराउनु भएको थियो । उहाँले कार्यालयले गर्ने कार्यहरूलाई स्पष्ट पार्दै कार्यालय केवल दर्ता र नवीकरणको निकाय मात्र नभई पत्रकारिता क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र पेसागत मर्यादा कायम गर्ने अभिभावक संस्था हुने उल्लेख गर्नुभयो । ‘प्रेस रजिष्ट्रारको कार्यालयले सञ्चार माध्यमको दर्ता र नवीकरण मात्र होइन, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको पनि पृष्ठपोषण गर्छ ।’ उहाँको कथन थियो ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा पत्रकारिता क्षेत्रको सशक्तीकरण लगायत विभिन्न शीर्षकमा ५ करोड ३० लाख रुपैयाँ विनियोजन भएको उहाँले जानकारी दिनुभयो । प्रदेशका सञ्चार माध्यमलाई दिँदै आएको लोक कल्याणकारी विज्ञापनलाई निरन्तरता दिने, पत्रकारको क्षमता अभिवृद्धि र लेखनवृत्ति कार्यक्रमलाई प्राथमिकता दिएको भण्डारीले जानकारी दिनुभयो ।
सो कार्यालयले आमसञ्चार क्षेत्रको वार्षिक योजना तथा कार्यक्रम निर्माण, सञ्चार संस्थाको सञ्चालन अनुमतिपत्र प्रदान र नवीकरण, १०० देखि १,००० वाटसम्मको एफएम रेडियोको इजाजत, छापामाध्यम, अनलाइन, टेलिभिजन र केबल वितरकको अभिलेख व्यवस्थापन, फ्रिक्वेन्सी योजना निर्माण, गुनासोको सुनुवाई, अनुसन्धान र मूल्याङ्कन, श्रमजीवी पत्रकारको सेवा–सुविधा अनुगमन, पत्रकारको कल्याणकारी कोष, विज्ञ सूची निर्माण, तालिम तथा छात्रवृत्ति समन्वय, लोककल्याणकारी विज्ञापन वितरण, वर्गीकरण र सिफारिस र प्रदेश सरकार, सञ्चार संस्था तथा पत्रकारबीचको समन्वय जस्ता जिम्मेवारीहरू निर्वाह गर्ने बताइएको छ । सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेसागत पत्रकारिता प्रवद्र्धनलाई थप व्यवस्थित बनाउन स्थापना गरिएको प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको औपचारिक उद्घाटन गरिएको हो ।

प्रकाशित मिति २०८२ श्रावण २६, सोमबार २१:२२ गते
हजुरको प्रतिक्रिया