काठमाडौं– मदन भण्डारी फाउन्डेसन एमालेमा घाँडो बन्ने संकेत देखिएको छ । कुनै दिन एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा खोलिएको प्रतिष्ठानबाट समानान्तर गतिविधि गर्दै पार्टी नेतृत्वमा फड्को मार्न सफल हुनु भएका सो दलका अध्यक्ष केपि ओली अहिले त्यही संस्थाको आलोचना गर्न थालेपछि साउन २६ गते त्यस्तो खुलासा भएको हो ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित मदन—आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्ने क्रममा ओलीले मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको होइन । आफैं बनाएको हो भन्ने बताउनु भएसँगै फाउन्डेसन एमालेमा घाँडो बन्ने संकेत देखिएको हो ।
प्रसङ्ग नेकपा (एमाले) को आठौं महाधिवेशनको हो । त्यसमा अध्यक्ष पदको प्रत्यासी बन्नु भएका केपी शर्मा ओली अर्का उम्मेदवार झलनाथ खनालसँग हारको मार खेप्न पुग्नु भयो । तथापि ओलीले केन्द्रीय सदस्यमा उल्लेख्य मतसहित निर्वाचित हुनु भयो ।
पार्टी विधान अनुसार एमालेमा केन्द्रीय सदस्य र पदाधिकारी दुवै पदमा एकै पटक उम्मेदवारी दिन पाइन्छ । त्यसपछिका दिनमा ओली पार्टीका गतिविधिमा कम सक्रिय भएर मदन भण्डारी फाउन्डेसनमार्फत् आफ्ना गतिविधि आधारभूत तहसम्म विस्तार गरे, समानान्तर भेला र बैठकहरू समेत चलाउनु भयो । कतिपय ठाउँमा समानान्तर कमिटीसमेत गठन भएको एमालेको स्मरणमा ताजै छ ।
त्यसबेला एमालेका अध्यक्ष झलनाथ खनालले ओलीको त्यस्तो गतिविधिपछि सार्वजनिक रूपमा असन्तुष्टि पोख्ने समेत गर्नु भएको थियो । खनाल भन्नुहुन्थ्यो, ‘आफू प्रधानमन्त्री भएका बेला एक पटक पनि ओली बालुवाटार नआएको र केन्द्रीय कमिटी बैठकमा समेत उपस्थित गराउन गाह्रो परेको छ ।’
अहिले भने ओली र खनाल एउटै पार्टीमा रहनु भएको छैन । खनाल एमाले फुटेर माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) को सम्मानित नेता हुनुहुन्छ ।
मदन भण्डारी फाउन्डेसनलाई टक्कर दिन पछिल्लो समय एमालेले मदन–आश्रित स्मृति प्रतिष्ठानलाई सक्रिय बनाउने संकेत देखाएको छ ।
तर मदनकी श्रीमतीसमेत रहनु भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने बताएका बेला ओलीले मदन भण्डारी फाउन्डेसनको आलोचना गर्न थालेको एमालेकै कतिपय नेताहरूको भनाइ रहेको छ ।
भण्डारी पार्टीमा फर्कने घोषणा गर्दै सक्रियता बढाएपछि र फाउण्डेसनमार्फत गतिविधि बढाएकाप्रति अध्यक्ष ओली क्रुद्ध देखिनु हुन्छ । त्यसैले उहाँले पार्टी केन्द्रीय कमिटीको बैठकबाटै भण्डारी राजनीतिमा फर्कने बाटो रोकिदिनुभयो । एमालेको साउन ५ र ६ गते बसेको केन्द्रीय समितिको नवौं बैठकले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कन नमिल्ने निर्णय ग¥यो । योसँगै भण्डारीको दुई वर्षअघि नै नवीकृत सदस्यता स्वतः निष्क्रिय हुन पुगेको छ ।
तथापि एमाले पूर्वउपाध्यक्षको हैसियतले पत्रकार सम्मेलन गरेर उनले मदन भण्डारीले दिएको सदस्यता कसैले खोस्न, खारेज गर्न नसक्ने बताउँदै पार्टी निर्णयलाई चुनौती दिदै हु्नुहुन्छ । उहाँले मुठीभरका मानिसहरूले हुलहुज्जत गरेर आफ्नो पार्टी सदस्य खोस्न नसक्नेसमेत उल्लेख गर्नु भएको स्थिति छ ।
फाउण्डेसनको अध्यक्ष भण्डारीकै छोरी उषाकिरण हुनुहुन्छ । उहाँको अध्यक्षमा यो दोस्रो कार्यकाल हो । फाउन्डेसनले आउँदो वर्ष मदन भण्डारी जन्मिएको ७५ वर्ष पूरा हुने भएकाले हीरक महोत्सवको तयारी गरेको छ । मदन भण्डारी फाउण्डेसनमार्फत् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा क्रियाशीलता बढाउने प्रयासमा देखिनु हुन्छ ।
हीरक जयन्तीको तयारीका लागि बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ । उक्त समितिको कार्यालय थापागाउँस्थित एमालेबाटै २०५४ सालमा काठमाडौं महानगरमा उपमेयर जितेका विदुर मैनालीको घरमा छ । सोही घरमा भण्डारीले सचिवालय राख्ने तयारी छ ।
त्यसो त मदन भण्डारीको हीरक जन्मजयन्तीको मूल व्यवस्थापन समितिको संरक्षकमा पूर्वराष्ट्रपति भण्डारी मात्रै हुनुहुन्छ, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राखिएको छैन ।
यसअघि मदन भण्डारी फाउन्डेसनका हरेक गतिविधि र अभियानको संरक्षक ओली र भण्डारी दुवै हुने गरेको देखिन्थ्यो । तर पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले मदन भण्डारी फाउण्डेसनको संरक्षकमा ओली पनि रहेको बताउनु भएको छ ।
उमहासचिव प्रदीप ज्ञवालीलाई त्यसको अध्यक्ष निर्वाचित गर्दै ओलीले २६ गते शपथ समेत गराउनु भएको छ । उपमहासचिव ज्ञवाली ओलीका विश्वास पात्र मानिनु हुन्छ । ज्ञवालीले पनि पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कन हुँदैन भन्ने मत राख्दै आउनु भएको छ ।
मदन–आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित पदाधिकारीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले मदन भण्डारी फाउन्डेसनलाई पार्टीले गठन नगरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मदन–आश्रित स्मृति प्रतिष्ठान तत्कालीन महासचिव मदनकुमार भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको निधनपछिको शोकको घडीमा जनताको बहुललीय जनवाद (जबज) को वैचारिकतालाई अगाडि बढाउन २०५० जेठ ९ गतेको पार्टी निर्णयबाट खोलिएको हो, पछि पार्टीले मदन जयन्ती मनाउने सन्दर्भमा पनि पर्याप्त ध्यान नदिएको अवस्थामा व्यक्तिगत आधारमा मदन भण्डारी फाउण्डेसन खोलिएको थियो ।’
मदन भण्डारी फाउण्डेसनले पार्टी आन्दोलनप्रति निष्ठा देखाउन छाडेको समेत ओलीले दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यस्ता संस्थाहरू पार्टीसँग निष्ठावान हुनुपर्छ, मदन भण्डारी फाउन्डेसन पार्टी हितविपरीत प्रयोग हुन थालेको छ ।’
एमालेको वर्तमान नेतृत्वले जबज भजाउने तर यसको सम्बद्र्धन, विकासबारे कुने बहस–विमर्श नचलाएको भन्दै त्यो रिक्ततालाई मदन भण्डारी फाउण्डेसनले नै पूर्ति गर्ने अठोट लिएको छ । फाउण्डेसनले मदन भण्डारीको हीरक जयन्तीकै सन्दर्भ पारेर तलतल जनताको बहुदलीय जनवादको बहस–विमर्श चलाउने निर्णय गरेको छ ।
फाउण्डेसनमो एमाले बराबरकै सांगठनिक उपस्थिति देखिन्छ । संघ, प्रदेश र जिल्ला मात्रै होइन, आधारभूत तहसम्मै संरचना छ । एमालेका सदस्यहरू फाउण्डेसनको पनि सदस्य र नेता छन् ।
अध्यक्ष ओलीले स्थापित नेताको सम्मानमा खोलिएका र पार्टीसँग जोडिएका प्रतिष्ठान र संस्थाहरू ठगी खाने भाँडो हुन नहुनेसमेत उल्लेख गर्नुभयो । उहाँले धम्कीपूर्ण शैलीमा भन्नुभयो, ‘मदन भण्डारी फाउन्डेसन अब कसरी जान्छ हेर्नुपर्ने अवस्था बनेको छ ।’
उहाँले पहिला पार्टीले बनाएको प्रतिष्ठान व्यक्तिको हुने गरेको समेत सुनाउँदै पुष्पलाल, मनमोहन प्रतिष्ठान पार्टीले नै बनाएको बताउनु भयो । केही व्यक्तिहरूले पद छोड्दै नछोडेर त्यहाँ काम गर्नेलाई आफ्ना समर्थकका रूपमा बुझ्ने र बहुमत राखेर त्यो नियन्त्रण गर्ने ? ओलीले भन्नुभयो ।
नेताहरूको नाममा प्रतिष्ठानहरू स्थापना गर्ने र पछि व्यक्तिहरुले हडप्ने परिपाटीको अन्त्य हुनुपर्ने प्रधानमन्त्री ओलीको जोड थियो ।
प्रकाशित मिति २०८२ श्रावण २७, मंगलवार ०८:२७ गते