लमजुङ– जिल्ला सदरमुकार रहेको बेसीशहर नगरपालिका आज जनप्रतिनिधिहरू बिहीन मात्र थिएन कार्यालय प्रमुखसमेत थिएनन् । त्यतिमात्र हैन यो प्रतिनिधि त्यो कार्यालयमा पुग्दा नगरपालिकाका निमित्त प्रमुखसमेत फेला परेनन् । नगरपालिकामा सेवा लिन गएका सेवाग्राहीहरू निन्याउरो अनुहार लगाउँदै साउन २९ गते फर्किरहेका देखिन्थे ।
आज प्याब्सन लजमुङले नगरपालिकामा ज्ञापन पत्र बुझाउने दिन हो, ज्ञापन पत्र बुझाउन गएको सो टोलीले झण्डै एक घण्टा कुर्दा पनि नि. प्रमुख नभेटिदा उनीहरू अक्कन पक्क परेका थिए । अन्ततः उनीहरू नगरपालिकाको जिम्मेवार व्यक्ति कोही फेला नपरेपछि दर्ता फाँटमा गएर ज्ञापनपत्र दर्ता गरेको छाडेको प्याब्सन लमजुङका जिल्ला सचिव विमल अधिकारीले बताउनु भयो । उहाँका अनुसार सके मेयर नभए प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउन भनेर आएका हौं । अधिकारीले भन्नुभयो, ‘उहाँहरू कोही पनि कार्यलयमा नभएको र आज आउनु हुन्न भन्ने बुझे पछि, कार्यालयमा आएको दिनमा हेर्नु होला ! भन्ने विश्वासले दर्ता फाँटमा ज्ञापनपत्र दर्ता गरेर फर्कियौं ।’
नगरपालिकामा ज्ञापन पत्र बुझाउन प्याब्सनका जिल्ला उपाध्यक्ष ईश्वर पौडेलको नेतृत्वमा प्याब्सनको प्रतिनिधि मण्डल पुगेको थियो । सो टोलीमा प्याब्सनका जिल्ला कोषाध्यक्ष विनोद गुरुङ, सदस्यहरू उद्धव घिमिरे, सागर चुडाल, किरण श्रेष्ठलगायतको टोली थियो । उहाँहरूले नगरपालिकाको गेटमै पत्रकारहरूलाई ज्ञापनपत्रको बेहोरा सुदाउँदै आफ्ना मागहरू खासगरी चारवटा रहेको उल्लेख गर्नु भयो । ज्ञापन पत्र प्याब्सनका जिल्ला उपाध्यक्ष ईश्वर पौडेलले पढेर सुनाउँदै पत्रकारहरूका जिज्ञासाको जवाफ दिनुभएको थियो ।
यसैगरी, सेवाग्राहीको रुपमा नगरपालिका कार्यालयमा पुग्नु भएका प्रभुराम प्रधानले ‘दुई पटकसम्म नगरपाकिलाकामा जाँदा पनि कोही भेटिएन के लाज मर्नु हो ?’ भन्ने सुनासो यो प्रतिनिधिसँग सुनाउँदै फर्कनु भएको थियो । नगरपालिका कार्यालयमा कतिपय जनप्रतिनिधि तथा कर्मचारीका न्यामप्लेटमा बाहिर लेखिएको भएता पनि कार्यकक्षका ढोका भने खुलै देखिन्थे । राइनास नगरपलिकाका निवर्तमान मेयर सिंहबहादुर थापासमेत नगरपलिकामा पुगेर रित्तै फर्कनु भएको थियो । 
बेसीशहर नगरपालिकाको कार्यालयमा रहेका तल्लो तहका कर्मचारीहरूसँग बुझ्दा जनप्रतिनिधिहरू मेयर, उपमेयर तथा वडाध्यक्षहरू, कार्यपालिकाका सदस्यहरूसहित कार्मचारीहरूको दलबलको सिंगो टिम गत वर्षको योजनाको समिक्षाको बहानामा तनहुँको बन्दीपुर घुम्न हिजैदेखि गएको भन्ने बुझियो ।
स्मरणीय छ, कुनै संघ संस्थाका नाउँमा बजेट माग्दा र नगरपालिकाले दिदा आफ्नो पालिकाको बजेट खर्चदा पालिका भित्रमात्रै खर्चनु पर्ने भन्ने सर्त तेर्स्याउने गरिन्छ । तर यस प्रकार नगरपालिकाका जनप्रतिनिधिहरूको जम्बो टोलीसहित कर्मचारीहरूका दलबलले दुईसम्म जनताका नाउँमा आएको तथा जनताले तिरेको करको रकममा गरिएको राइँदाईँ भोलिका दिनमा बेरुजु निस्कला कि ! निस्कन्न होला ? त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति २०८२ श्रावण २९, बिहीबार १७:५८ गते