बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम यहाँ दुराडाँडा– बेसीशहर समाजको दर कार्यक्रममा मौलिक तीजका गीत गाएर उत्साहबर्धक रुपमा मनाइएको छ । बेसीशहर नगरपालिका– ८ को सेरा स्थित अर्थ्ली प्याराडाइज आमाविको सभाहलमा सो कार्यक्रम भदौ १ गते भएको हो ।
सो अवसरमा तीजका मौलिक परम्परागत गीत गाइएका थिए । सो अवसरमा सहभागी हुनु भएका आमाहरू सरस्वती अधिकारी, विमला अधिकारी राधिका घिमिरेले पुराना गीत गाएर तथा नाचेर नयाँ पिढीलाई हस्तान्तरणको प्रयास गर्नु भएको थियो । सो अवसरमा रञ्जिता अधिकारी घिमिरे तथा नारायणी अधिकारी, शिव अधिकारीलगायतले पनि आफ्नो गीत सिर्जना क्षमता तथा गायन एवम् नृत्यकलाको प्रस्तुति गरेर मनोरञ्जन दिनु भएको थियो ।
उक्त कार्यक्रममा नृत्य गर्नेहरूमा लुब्धकुमारी पाण्डे, अम्बिका अधिकारी, अञ्जना विष्ट न्यौपाने, सुधा ढकाल पहाडी, रमा न्यौपाने, सावित्री न्यौपाने, अजिता अधिकारी, कमला भन्टना न्यौपाने, रीता अधिकारीलगायत हुनुहुन्थ्यो । आमा, दिदी, बहिनीहरूको गायन तथा नृत्यमा बाध्यवादन बजाएर नारायण कुसुमले साथ दिनु भएको थियो ।
तीजका नाउँमा जस्ता ‘बरिलै’ विनाका विक्रितिजन्य गीतलाई बहिस्कार गर्दै तीजका अर्गानिक गीत गाउने र नाच्ने गरिएको थियो । आमाहरूले ‘टुप्पै बस्यो जुरेली नि ! बरिलै ……… ’ लगायतका गीत गाएर मनोरञ्जन गराउनु भएको थियो । 
समाजका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उहाँले नेपाली चेलीहरूको महान चाडका अवसरमा दिदी बहिनीहरूसँग भेटघाट गर्ने, आपसी सम्बन्धलाई प्रगाढ बनाउने र मौलिक संस्कृतिको संरक्षण गर्ने हेतुले कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।
समाजका सचिव विनोद न्यौपानेले सञ्चालन गर्नु भएको सो कार्यक्रममा समाजका कार्यकारी सदस्य उदयनाथ न्यौपाने, वरिष्ठ पत्रकार नवराज पहाडी, अर्थ्ली आमाविका प्रिन्सिपल उद्धव घिमिरेलगायत डेढ दर्जन बढी समाजका पुरुष सदस्यहरूको समेत सहभागिता रहेको थियो ।
समाज पनि बसाईसराईको चपेटामा :
दुराडाँडा– बेसीशहर समाज पनि बसाई सराईको चपेटामा परेको छ । कुनै दिन दुराडाँडाका ९५ परिवार बेसीशहरमा बसोबास गरिआएका थिए । यतिबेला भने त्यो संख्या घटेर ५८ मा झरेको समाजका सदस्य पुष्पराज अधिकारीले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति २०८२ भाद्र १, आईतवार २१:०६ गते