रास्वपा लमजुङको दर खाने पहिलो कार्यक्रम : सहभागी महिलाहरूले गीतमार्फत विकृति, भ्रष्टाचार तथा कुशासन विरुद्ध बोले बाधा

रास्वपा लमजुङको दर खाने पहिलो कार्यक्रम : सहभागी महिलाहरूले गीतमार्फत विकृति, भ्रष्टाचार तथा कुशासन विरुद्ध बोले बाधा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ ४ गते बुधबार ०८:०३

पार्टी सभापति रविलाई अदालतमा आदेश लेखेर न्यायाधीशको सही नहुँदै उहाँलाई पक्रन विस्तारामा पुग्ने प्रहरी, आज लमजुङको सदरमुकाममा रहेको सुनौलो भविष्य सहकारी काण्डमा मुछिएकाहरूको पूर्जीजारी भएको एक महिना बित्दा पनि किन पक्रिएको छैन ? रास्वपाका जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडीको खरो टिप्पणी थियो ।

गण्डकी प्रदेश महिला विभागका उपप्रमुख सन्तोष गौलीले नगरपालिकामा भएको भ्रष्टाचारका बारेमा केही गर्न नसक्दा आफूलाई दुःख लागेको बताउनु भयो ।

सुन्दरबजार(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पहिलो दर खाने कार्यक्रम यहाँको नगर समितिको आयोजनामा लक्ष्मीनारायण मन्दिर परिसरमा भएको छ । सो अवसरमा सहभागी दिदीबहिनीहरूले गीतमार्फत जिल्लामा र केन्द्रमा व्याप्त विकृति, विसंगति, भ्रष्टाचार एवम् कुशासनका विरुद्ध भदौ ४ गते बाधा बोलेका हुन् ।
रास्वपाका नगर सभापति विमल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको उहाँले उदघाटन गर्नु भएको हो । उक्त अवसरमा सो पार्टीका जिल्ला सभापति अशोक सापकोटा प्रमुख वक्ता तथा विशेष वक्तामा सोही दलको गण्डकी प्रदेश महिला विभागका उपप्रमुख सन्तोष गौली र जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी हुनुहुन्थ्यो ।
सभापति सापकोटाले हामी मुलुकमा सुशासनको पक्षमा छौं र सभापति रवि लामिछानेको पक्षमा जनमत जुटाउन लागि रहेको छौं भन्नुभयो । उहाँले यो कार्यमा सबैको साथ आवश्यक छ भन्नु भयो । उहाँले यो अभियानलाई निकट भविष्यमै वडावडा तहमा लगिने जानकारी दिनुभयो । उहाँले रास्वपाका संस्थापक जिल्ला संयोजक एवम् केन्द्रीय संगठन विभागका सदस्य धर्म केसीले यो कार्यक्रमका लागि शुभकामना पठाउनु भएको समेत जानकारी दिनु भएको थियो ।
तर त्यसअघिका वक्ताहरूले उठाएका जिल्लाको सुशासन टुल्सहरू भत्किएका बारेका प्रश्न वा प्रसङ्गहरूमा पार्टीको भूमिका के हुने रु भन्ने बारेमा सभापति सापकोटाले चुँसम्म गर्नु भएन । त्यसपछि भने त्यो मौनताको रहस्य के हो रु भन्ने टिप्पणी हुन थालेको छ ।
वडामा अख्तियार आउदासमेत भ्रष्टाचार ढाकछोप भयो, हामी नीरिह भयौं :
उक्त कार्यक्रममा गण्डकी प्रदेश महिला विभागका उपप्रमुख सन्तोषी गौलीले नगरपालिकामा भएको भ्रष्टाचारका बारेमा केही गर्न नसक्दा आफूलाई दुःख लागेको बताउनु भयो । उहाँले सुन्दरबजार नगरपालिका वडानं १ को कार्यालयमार्फत भएको भ्रष्टाचारका विरुद्धमा अख्तियारमा उजुरी पर्दा समेत काजगपत्र मिलाएर तैं चुप मैं चुप गरियो र त्यसको थप प्रयास जारी छ तर हामीले केही गर्न सकेनौं किन ? भन्नुभयो ।
उहाँले उपसभामुख रानाप्रति सत्तासिन दलहरूले अमानवीय व्यवहार गरेका छन् त्यसका विरुद्धमा चुप बस्न हुन्न भयो । उहाँले हामीलाई चुप बस्ने, आलसी हुने छुट छैन भन्नु हुँदै आत्म विश्वासी भएर अघि बढ्नु पर्छ भन्नुभयो । उहाँले हुन त हामीले चर्को बोल्ने हो भने पनि किन चर्को बोलिस् भनेर पक्रिने हुन् कि ? जस्तो पनि सरकारी व्यवहार छ तर हार मान्ने छुट छैन भन्नुभयो । अर्को एक प्रसङ्गमा उहाँले दिदीबहिनीहरूले परिचय पनि राम्रोसँग दिन नसक्ने अवस्थाबाट माथि उठ्नु पर्छ भन्नुभयो । त्यसका लागि हामी आफूले पनि प्रयास गर्ने र पार्टीले पनि वातावरण बनाउनु पर्छ त्यस कार्यमा मैले व्यक्तिगत रुपमा गर्नु पर्ने सहयोगका लागि सदैव तयार छु उहाँले भन्नुभयो ।
यसैगरी, वरिष्ठ पत्रकार समेत रहनु भएका रास्वपाका जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडीले हामी केन्द्र र अन्य जिल्लाको कुरा गरेर आत्मरतिमा बढी रमाउने गरेका छौं, आत्म मूल्यांकन तथा आत्म समिक्षा गर्न र आफ्नो जिल्लाको धराताल छाम्न जरुरी छ, यो कार्यमा ढिला गर्न हुन्न भन्नुभयो ।
पार्टी मूक दर्शक बनेकोमा कटाक्ष :
जिल्लामा भ्रष्टाचार व्यापक भएको छ । सहकारीका ठगहरू जिल्लाभर सल्बलाएका छन्, प्रहरीको चाल कछुवा गतिको छ तर हामीले पार्टीमार्फत दबाब दिन सकेको खै ? यो प्रश्न म आफैलाई पनि हो भन्दै फेसबुक स्टाटसमा मात्र धेरै क्रान्ति गर्ने र रमाउने काम बढी भो पहाडीले भन्नुभयो ।
उहाँले आफू लामो समय स्वतन्त्र रहेको स्मरण गर्दै रास्वपाको केन्द्रले तत्कालीन सांसद ढाकारामलाई ७२ घण्टे कारवाही गरेको देख्दा आफूले यो पार्टीमा आफूले चाहेको जस्तो सुशासन कायम हुन सक्छ भन्ने विश्वासले प्रवेश गरेको हुँ, तर जिल्लामा पार्टीका पछिल्ला गतिविधि भने आशा अनुरुप हुन नसकेको अनुभूति गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टी सभापति रविलाई अदालतमा आदेश लेखेर न्यायाधीशको सही नहुँदै उहाँलाई पक्रन विस्तारामा पुग्ने प्रहरी, आज लमजुङको सदरमुकाममा रहेको सुनौलो भविष्य सहकारी काण्डमा मुछिएकाहरूको पूर्जीजारी भएको एक महिना बित्दा पनि किन पक्रिएको छैन ?’ यसमा हाम्रो पार्टीले प्रश्न उठाउन र दबाब दिन किन सकेन ?’
सुनौलो भविष्य सहकारी ठगी काण्डमा पक्राउ पूर्जी जारी भएका २३ जनामध्ये दुई जना वडाध्यक्ष छन् । उनीहरू सत्तासिन दुवै ठूला दलका कार्यकर्ता पनि हुन्, त्यसैले सत्ताले थेगिरहेको छ भने अन्यको पनि अवस्था उस्तै छ त्यसमा हाम्रो भूमिका केही हुन सक्दैन भने हामीले सुशासनको गफ किन दिने ? पहाडीले भन्नुभयो ।
हामी मुखले नयाँ पार्टी र नयाँ बाटो हिड्ने भने पनि पुरानो धङ्धङी अझै बाँकी भएको देखिन्छ भन्दै उहाँले सांकेतिक रुपमा जोड दिदै भन्नुभयो, ‘ढाकाराम पनि क्यास लिदै गरेको बेलामा पक्राउ गरेर पार्टीले कारवाही गरेको होइन, घुसको डिलमात्र गरेका थिए, हाम्रो जिल्लामा पनि यदि कसैले त्यस्तोमा संलग्न भएको संकेत पाइयो भने दोस्रो ढाकाराम हुन तयार हुनु पर्छ ।’
मौलिक संस्कृतिको अभियान्तासमेत रहनु भएका पहाडीले अर्को एक प्रसङ्गमा दिदीबहिनीहरूलाई भन्नुभयो, ‘नेपालको मौलिक संस्कृति बचाउने जिम्मा दिदीबहिनीहरूको काँधमा पनि छ । तर तीजको बेलामा ‘सारी जति माथि सार्यो, झन् तल खस्छ’ भन्ने जस्ता गीत गाएर तीजको मौलिक संस्कृति जोगिन्न भन्दै ध्यानाकर्षण गर्नु भएको थियो ।
नगरपालिकाद्वारा डेंगुको बैठक भत्ता पचाएको चर्चा :
सो अवसरमा सुन्दरबजार नगरपालिकाले गत वर्ष टोल विकास संस्थाका अध्यक्षहरूका लागि सञ्चालन गरेको डेंगुको एक सचेतना तथा अभिमुखीकरण कार्यक्रमका सहभागीका लागि प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता पाउने भनिएको थियो । त्यो रकम गत माघमै निकासा भएको भएता पनि सो कार्यक्रमका सहभागीहरूले आजका मितिसम्म पनि रकम नपाएको विषयसमेत चर्को रुपमा उठेको थियो ।
कार्यक्रममा जिल्ला संगठन विभागका प्रमुख बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य, आवश्यकता र औचित्यका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले प्रदेशको दर कार्यक्रममा जाने तयारी गरेर पनि अन्तिम समयमा रोकिनु परेको हुँदा पालिकास्तरमा भने पनि गरौं भन्ने सल्लाह अनुसार यो कार्यक्रमको आयोजना गरिएको हो भन्नुभयो ।
उक्त कार्यक्रमका सभापति एवम् रास्वपाका नगर सभापति विमल अधिकारीले आफ्नो अध्यक्षयीय मन्तव्यका साथ हामीले गर्नु पर्ने धेरै काम बाँकी रहेको बताउँदै नगरपालिकामा विकृति के कति छ भन्ने महालेखाकै प्रतिवेदनको अध्ययन गर्ने हो भने पनि छर्लङ्ग हुन्छ भन्दै यस्तो कुरामा संगठित हुन योजनाबद्ध तरिकाले आवाज उठाउन जरुरी छ र त्यो हामी गर्छौं भन्नुभयो । उहाँले सभापति रविको सहासको प्रशंसा गर्नु पर्ने उल्लेख गर्दै रुपन्देहीको चुनावमा रविको प्रभाव नहोस् भन्नका लागि सरकारले जेल सार गरेको बताउनु भयो । 
रास्वपाका सदस्य एवम् सयपत्री आमाविका प्रिन्सिपल ज्ञानेन्द्र शर्माले सञ्चालन गर्नु भएको उक्त कार्यक्रम सहभागी सबैलाई परिचय दिन लगाइएको थियो । उक्त दर कार्यक्रममा सहभागी रास्वपाका महिला कार्यकर्ताहरूले गीतमार्फत देश तथा समाज र जिल्लामा व्याप्त विकृति, भ्रष्टाचार तथा कुशासनविरुद्ध बाधा बोलेका छन् ।

प्रकाशित मिति २०८२ भाद्र ४, बुधबार २०:०३ गते
हजुरको प्रतिक्रिया