
खत्रीठाँटी(लमजुङ)– लमजुङमा आयोजना गरिएको दोस्रो खुला तीज गीत प्रतियोगितामा सहभागीहरूले समाजका विकृति औंल्याएका छन् । गण्डकी प्रदेशका वन तथा वतावारण मन्त्री भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा संयुक्त खस क्षेत्री नेपाल सुन्दरबजार नगर समितिको आयोजनामा सुन्दरबजार नगरपालिका– ६ खत्रीठाँटीमा सो प्रतियोगिता भदौ ६ गते सञ्चालन गरिएको हो ।
गण्डकी प्रदेशका वन तथा वतावारण मन्त्री भेषबहादुर पौडेलले उक्त प्रतियोगिताको उद्धाटन गर्नु भएको छ । उहाँले चाडपर्वहरू हाम्रा पहिचान हुन् भन्दै यस्ता प्रतियोगिताले संस्कृतिको संरक्षणमा टेवा पुग्ने उल्लेख गर्नु भयो ।
प्रतियोगीहरूले देशमा बढी रहेको विकृति तथा राजनीतिक कारणले बढेको भ्रष्टाचार, महंगी, बेरोजगारीको समस्या, कुशासन, विभिन्न समसामयिक घटनाक्रम तथा परिवेशहरूलाई गीतमार्फत प्रस्तुत गरेका थिए ।
सो प्रतियोगितामा महिलाहरूको उत्साहजनक सहभागिता थियो । उक्त प्रतियोगितामा लमजुङ र तनहूँका कुल १५ समुहले भाग लिएको आयोजक समितिका अध्यक्ष विष्णु खड्काले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा सहभागी सम्ुहलाई गीत गायनका लागि प्रतिसमूह १० मिनेट समय दिइएको थियो ।
उहाँले भन्नुभयो, ‘प्रतियोगितामा नयाँ बजार आमा समुह सुन्दरबजार नगरपालिका– ९ भोटेओडार पहिलो, भुपु लोटस मन्टेश्वरी सुन्दरबजार नगरपालिका– ९ सिउँडीबार दोस्रो, फ्युचर स्टार आमावि सुन्दरबजार नगरपालिका– ९ सिउडीबार तेस्रो तथा लालिगुराँस आमाविले सान्त्वना स्थान प्राप्त गरेका थिए ।’
त्यसैगरी, पाउँदी अन्तर आमा समुह, सुन्दरबजार नगरपलिका– ७ सो प्रतियोगितामा प्रस्तुत नृत्यमा उत्कृष्ट नृत्यका रुपमा पुरस्कृत भएको थियो । उक्त तीज गीत प्रतियोगिताबाट पहिलो हुने समुहलाई २० हजार रूपैंया, दोस्रो हुने समुहलाई १५ हजार रूपैंया, तेस्रो हुने समुहलाई १० हजार रूपैंया र सान्त्वना स्थान हासिल गर्ने समुहलाई तीन हजार तथा प्रतियोगितामा उत्कृष्ट नृत्य प्रदर्शन गर्ने समुहलाई नगद दुई हजार रुपैया पुरस्कार प्रदान गरिएको आयोजक समितिका अध्यक्ष तथा समारोहका अध्यक्ष विष्णु खड्काले जानकारी दिनुभयो ।
विजयी प्रतियोगीहरूलाई राइनस नगरपालिकाका निवर्तमान मेयर सिंहबहादुर थापा र आयोजक समितिका अध्यक्ष तथा समारोहका अध्यक्ष समेत रहनुभएका कृष्ण खड्काले पुरस्कार वितरण गर्नु भएको थियो ।
लोक गायक विवेक धितालले ‘सुन्दरबजार कटेसी कुन्छा ……. ’ बोलको गीत गाएर दर्शकहरूलाई चनाउँदै मनोरञ्जन प्रदान गर्नु भएको थियो । आयोजक समितिका उपाध्यक्ष हिरा सापकोटाले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको सञ्चालन सचिव रमेश सापकोटाले गर्नु भएको थियो ।
आयोजकहरूले समय व्यवस्थापन गर्न नसकेको हुँदा कार्यक्रम अस्तव्यस्त जस्तो देखिनुका साथै साँझ अबेर नतिजा घोषणा गरिएको थियो ।
प्रकाशित मिति २०८२ भाद्र ९, सोमबार १७:२२ गते