जिल्ला अदालतद्वारा आशिका तामाङलाई पाँच दिन कैद, पाँच सय जरिवाना

जिल्ला अदालतद्वारा आशिका तामाङलाई पाँच दिन कैद, पाँच सय जरिवाना

एजेन्सी

@antaranganews

२०८२ भदौ १२ गते बिहिबार ०७:४३

सरकारी वकिलको भने उनीहरू दुवै जनालाई तीन वर्षकैद र तीस हजार रुपैयाँ जरिवाना हुनुपर्ने अभियोग दाबी थियो ।

तामाङ उक्त कसुरमा अनुसन्धानको क्रममा २४ दिन थुनामा रही २० हजार धरौटीमा रिहा भएकी थिइन् ।

भक्तपुर– आफूलाई अभियान्ता बताउने आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले आपराधिक उपद्रो सम्बन्धी कसुरमा दोषी ठहर गरेको छ । गत माघमा जिल्ला अदालत भक्तपुरमा दायर भएको मुद्दामा उनलाई भदौ १२ गते दोषि ठहर गरेको हो ।
न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले फैसला गर्दै तामाङलाई आपराधिक उपद्रव मुद्दामा दोषी ठहर गरेको जिल्ला अदालत भक्तपुरकी सूचना अधिकारी हिराकुमारी भण्डारीले बताउनु भयो । उहाँका अनुसार कसुर ठहर भए पनि सजाय कम गरिएको छ । उहाँले भन्नुभयो, ‘तामाङ र अर्का प्रतिवादी शरण तिरुवालाई पाँच दिन कैद र पाँच सय जरिवाना तोकिएको छ ।’ दामासाहीले ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति र पीडित राहतकोषमा जनही २०० रुपैयाँ भराउने आदेश भएको समेत उहाँको भनाइ छ ।
सरकारी वकिलको भने उनीहरू दुवै जनालाई तीन वर्षकैद र तीस हजार रुपैयाँ जरिवाना हुनुपर्ने अभियोग दाबी थियो ।
गत वर्ष असोज ७ गते तामाङ र तिरुवाले भक्तपुर र काभ्रको सीमा पर्ने साँगास्थित झोलुङ्गे पुलमा वारपार गर्नेसँग २० रुपैयाँ लिएको भन्दै लफडा गरेकी थिइन् । तर मुद्दा चलिसकेपछि भने तामाङले साँगाको झोलुङ्गे पुलमा भएको घटनाबारे प्रहरी, सरकारी वकिल र अदालतमा समेत गल्ती महसुस गरेकी थिइन् ।
त्यहाँ उनले कर सङ्कलन गर्ने रसिदसमेत तामाङले कर्मचारीबाट खोसेर जलाई दिएकी थिइन् भने होडिङबोर्ड च्यातेकी थिइन् ।
तामाङको त्यस कार्यका विरुद्ध नगरपालिकाले प्रहरीमा आपराधिक उपद्रव कसुर गरेको भन्दै जाहेरी दिएको थियो ।
तामाङ उक्त कसुरमा अनुसन्धानको क्रममा २४ दिन थुनामा रही २० हजार धरौटीमा रिहा भएकी थिइन् ।

प्रकाशित मिति २०८२ भाद्र १२, बिहीबार १९:४३ गते
हजुरको प्रतिक्रिया