सुनौलो भविष्य सहकारी ठगी विरुद्धको मुद्दा तेस्रो पटक सात दिनको म्याद थप, कालिका सहकारीलाई उछिन्यो

सुनौलो भविष्य सहकारी ठगी विरुद्धको मुद्दा तेस्रो पटक सात दिनको म्याद थप, कालिका सहकारीलाई उछिन्यो

नवराज पहाडी

@antaranganews

२०८२ भदौ १६ गते सोमबार ०८:३३

कालिका सहकारीको जस्तै पीडितलाई दबाब र प्रभाव पार्ने क्रम यस सहकारीको मुद्दामा पनि नचलेको भने होइन । पीडितहरू लामो समयदेखि ‘ङ्याउँ गर्ने बिरालोको घाँटीमा घण्टी कस्लो बाध्ने ?’ स्थितिबाट गुज्रिरहेका थिए । कतिपय पीडितहरूले ‘उजुरी गर्न मन त छ तर एक्लै दुक्लै पारेर केही गर्छन् कि ? भन्ने डर छ’ भन्दै निच मारेर बस्ने काम गरेका थिए । तर यही मौकामा पूर्वकी राईकी छोरी यहाँ गुरुङको बुहारी बन्न आउनुभएकी बिनीमायाले उजुरी दिने शृंखलाको चाजोपाजो मिलाएको बुझिएको छ ।

सुनौलो भविष्य सहकारीको घोटाला अर्थात ठगीमा यतिसम्मको कानुन मिच्ने काम गरिएको रहेछ कि, ‘तीन वर्षसम्म नक्कली(घाटामा रहेको संस्थामा नाफा देखाएर) लेखा परीक्षण प्रतिवेदन तयार गरेर १८ प्रतिशतसम्म बोनस बाडिएको रहेछ । जबकी सहकारी ऐन अनुसार १५ प्रतिशतभन्दा बढी बोनस वितरण गर्न पाइदैन ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा सञ्चालनमा रहेका सहकारीहरूमा भएका ठगीका धन्दाका घट्नाले मुद्दाको रुप धारण गर्ने क्रम बढेको छ । यहाँ केन्द्रीय कार्यालय रहेको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूका विरुद्धको ठगी मुद्दामा तेस्रो पटक सात दिनको म्याद भदौ १५ गते थप भएको हो । त्यस मुद्दामा मात्र छ करोड ५४ लाख रुपैयाँ ठगी गरेको विगो दावी गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
सुनौलो भविष्य सहकारी ठगीविरुद्धको मुद्दा तेस्रो पटक सात दिनको म्याद थप भइरहदा सञ्चालकहरूका विरुद्ध जारी भएको पक्राउ पुर्जीको संख्या पनि बढेर ३६ पुगेको छ । यो संख्या यसअघि चलेको त्यस्तै प्रकृतिको तर बहुचर्चित बेसीशहरकै कालिका बचत सहकारीको भन्दा दुई जनाले बढी हो । त्यसो त सुनौलो भविष्य सहकारीमा यो संख्या अझै थप हुन सक्ने र त्यो ४५ सम्म पुग्न सक्ने स्रोतले जानएको छ ।
त्यसरी पक्राउ पूजी जारी भएको सुइको पाएपछि त्यस सहकारीका सञ्चालकहरू अधिकांश जिल्ला छाडेर भागेका छन् भने कोही जिल्लामै भूमिगत भएका छन् । एलेसम्म पक्राउ परेर प्रहरी कष्टडीमा बस्नेमा तीन जना उपाध्यक्ष अरुणकान्त घिमिरे, पूर्वअध्यक्ष एवम् पूर्वव्यवस्थापक पदम रावललगायत मात्र छन् । यो सहकारीको हकमा कालिकाको भन्दा भिन्न संठगीत अपराध मुद्दा समेत जोडिने संकेत मिलेको छ । त्यस्तो भएमा प्रहरी कष्टडीमा बस्नेहरूको समय अझै लम्बिन सक्छ । संठगीत अपराध मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई ९० दिनसम्म आफ्नो कष्टडीमा राख्ने अधिकार कानुनले दिएको छ ।
सुनौलो भविष्य सहकारीको घोटाला अर्थात ठगीका बारेमा पनि कालिका सहकारीको जस्तै गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय पोखराले प्रतिवेदन तयार गरेर प्रहरीलाई बुझाएको थियो । सो प्रतिवेदनमा सुनौलो भविष्य सहकारीका सञ्चालकहरूले मात्र छ करोड ५४ लाख रुपैयाँ हिनामिना गरेको उल्लेख छ । सोही आधारमा उक्त मुद्दाको अनुसन्धान भइरहेको र उक्त सहकारीका पीडित बचतकर्ता तथा सेयर सदस्यहरूलाई उजुरी दिन सम्पर्कमा आउन आह्वान गरेको प्रहरी भनाइ छ ।
पीडित मैत्री प्रहरी :
कालिका सहकारीको पालामा बाध्यताले मुद्दा चलाउनु परे पनि प्रहरी पीडित मैत्री देखिएको थिएन । सो सहकारीका पीडकबाट विशेष आशीर्वाद लिएको प्रहरीले वरिष्ठ पत्रकार नवराज पहाडी र शिक्षक नेतृ नानुमाया पराजुलीको मात्र सेयर फिर्ताको निवेदन लिएको थियो भने अन्य पीडितहरूलाई सम्झाउँदै, थर्काउँदै र धम्काउँदै सेयर रकम मागको बेहोरा हटाउन लगाएको थियो । परिणाम स्वरुप आजका दिनमा पहाडी र पराजुलीले सतप्रतिशत सेयर फिर्ता पाएको छ भने अन्य सेयर सदस्यहरू सो रकम फिर्ता नपाएर त्यो पाउनका लागि कतिपयले हारगुहार गर्दै अनि कति त रुँदै हिडेको अवस्था पनि छ ।
तर यस पटक भने प्रहरीले सहजरुपमा सेयर माग गर्ने सदस्यको सो बेहोराको समेत उजुरी लिएर पीडित मैत्री व्यवहार गरेको बताउँदै पीडितहरूले प्रहरीको तारिफ गरेका छन् । सायद त्यसैले पनि हुनसक्छ, पीडितहरू उजरी दिन प्रहरी कार्यालयमा कहिले त लाइन नै लागेको देखिन्छ ।
मु्द्दा अनुसन्धानकै क्रममा रहेको हुँदा आजका दिनसम्म के कति उजुरी परेको छ ? भन्ने संख्या बताउन प्रहरीले चाहेन । चिति र सिउँडीबारमा सेवा केन्द्र रहेको हुँदा ती क्षेत्रबाट पनि उजुरी आउने क्रम जारी रहेको प्रहरी स्रोतको भनाइ छ । यतिबेला जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख, प्रनाउ रेशम बोहरा विदामा हुनु भएका कारणले पनि प्रहरीले सूचना दिन आनाकानी गरेको स्थिति बुझिएको छ ।
सिउँडीबार उपशाखाको तुलनामा चिति उपशाखा क्षेत्रबाट बढी उजुरी आएको बुझिएको छ । किनकि, सो उपशाखामा उक्त सहकारीका संस्थापक अध्यक्ष एवम् प्रवन्धक रहेका शिवप्रसाद जोशीको क्षेत्रमा पर्दछ स्रोतले बताएको छ । त्यसैले बेसीशहर नगरपालिका– ११ को वडाध्यक्ष समेत रहेका जोशी समेत नेताहरूको शरणमा पुगेका छन् । उता, सुन्दरबजार नगरपालिका– ८ का वडाध्यक्ष विजेन्द्र थापा हालको बहालवाला सहित दुई कार्यकाल लेखा समितिमा विताएको देखिन्छ– पनि आफ्ना नेताहरूको छत्रछायामा सुरक्षित हुन काठमाडौं पुगेको बताइन्छ । त्यसो त धेरै पीडकहरू आ–आफ्ना नेताहरू शरणमा पुगेको स्रोतको भनाइ छ ।
कालिका सहकारीको जस्तै पीडितलाई दबाब र प्रभाव पार्ने क्रम यस सहकारीको मुद्दामा पनि चनलेको भने होइन । पीडितहरू लामो समयदेखि ‘ङ्याउँ गर्ने बिरालोको घाँटीमा घण्टी कस्लो बाध्ने ?’ स्थितिबाट गुज्रिरहेका थिए । कतिपय पीडितहरूले ‘उजुरी गर्न मन त छ तर एक्लै दुक्ले पारेर केही गर्छन् कि ? भन्ने डर छ’ भन्दै निच मारेर बस्ने काम गरेका थिए । तर यही मौकामा पूर्वकी राईकी छोरी यहाँ गुरुङको बुहारी बन्न आउनुभएकी बिनीमायाले उजुरी दिने शृंखलाको चाजोपाजो मिलाएको बताउनु हुन्छ । उहाँका अनुसार यसका लागि सहकारी रजिष्टार कार्यालय पोखरामा कति पटक धायो । उहाँले भन्नुभयो, ‘बल्लतल्ल त्यो कार्यलयलाई तताउने काम गरेको हुँ ।’ उहाँका अनुसार आफूले सात लाख रुपैयाँ नगद २०८० को साउनमा एक वर्षका लागि जम्मा गरेको तर समय पुगेपछि पनि नदिएपछि सहकारीको कार्यालयमा धाउदा धाउदा हैरात भएपछि उजुरी दिने तिर लागेको जानकारी दिनु भयो ।
कालिका सहकारीको जस्तै ‘खोदा पहाड, निक्ला चुहाँ’को शैलीमा तथाकथित मिलापत्रको नाटक गरेर मुद्दालाई झिसमिस बनाउने सोच र योजनामा रहेको सुनौलो भविष्य सहकारीका सञ्चालकहरू संगठीत अपराधको मुद्दा लाग्ने भएपछि भने थप चिन्तित बनेको स्रोतको भनाइ छ ।
सुनौलो भविष्य सहकारीको घोटाला अर्थात ठगीमा यतिसम्मको कानुन मिच्ने काम गरिएको रहेछ कि, ‘तीन वर्षसम्म नक्कली(घाटामा रहेको संस्थामा नाफा देखाएर) लेखा परीक्षण प्रतिवेदन तयार गरेर १८ प्रतिशतसम्म बोनस बाडिएको रहेछ । जबकी सहकारी ऐन अनुसार १५ प्रतिशतभन्दा बढी बोनस वितरण गर्न पाइदैन । यस्तो तारतम्य मिलाउनेमा अन्य कोही नभएर नेपाली काँग्रेसका बहालवाला जिल्ला उपसभापति आनन्द घिमिरे रहेको सहकारी रजिष्टार कार्यालयको अनुसन्धान प्रतिवेदनमा किटान गरिएको छ ।
स्रोतका अनुसार कालिका सहकारीको मुद्दा मिलापत्रबाट झिसमिसको प्रयास गरिएपछि त्यो मुद्दा न्याय परिषद र अख्तियारको समेत नजरमा पुगेको हुँदा पनि हिजोका दिनमा कालिकाकोजस्तै मिलापत्रबाट झिसमिस पार्ने योजना तुहिन सक्ने स्थिति बलियो बन्दै गएको छ । किनकि, कालिका सहकारीका कारणले मेलमिलापको नाटक मञ्चन गर्ने जिल्ला सरकारी वलिकको कार्यालयले १० पटक सोच्ने स्थिति उत्पन्न भएको स्रोतको दावी छ । स्रोत भन्छ, ‘कालिका सहकारीको मेलमिलापमा गलत रबैया अपनाएकै कारणले न्यायाधीशको लाइनमा रहेका जिल्ला सरकारी वकिल कृष्णचन्द्र पाण्डेको त्यो सपना समेत तुहिने बलियो सम्भवनातर्फ त्यो मुद्दा अघि बढेको छ ।’ अर्कोतिर कतिपय पीडितहरू ०८४ साल पछि पनि सो ठगी मुद्दालाई जगाउन सकिन्छ भन्नेमा ढुक्क देखिएका छन् ।
यो सबै परिस्थितिका बीचमा गुज्रिरहेको सुनौलो भविष्यको ठगी मुद्दाको सबै नतिजा थाहा पाउनका लागि भने केही महिना कुर्नु पर्ने स्थिति उत्पन्न भएको छ ।

प्रकाशित मिति २०८२ भाद्र १६, सोमबार ०८:३३ गते
हजुरको प्रतिक्रिया