तीनपिप्ले(लमजुङ)– लमजुङमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन थालिएको छ । नेपालीहरूका महान चाड बडादशैं, तिहार र छठ आदि भित्रदै गर्दा जिल्लाको पूर्वी क्षेत्रमा रहेको राइनास नगरपालिकाको वडानं– ४ र ५ का बजारमा रहेका दैनिक उपभोग्य सामग्रीका सपलहरूको अनुगमन गरिएको हो ।
अनुगम बजारमा आएको थाहा पाउना साथ व्यवसायीहरू आ–आफ्नो पसल बन्द गरेर भागेको प्रत्यक्षदर्शीले बताए । राइनास नगरपालिकाको वडानं– ४ को सातवीसे बजारको एक छेउबाट अनुगमन सुरु गरी अघि बढ्दै गर्दा अर्कोतर्फका व्यवसायीहरू भने पसल बन्द गरेर भागेको अनुगमन टोलीका सदस्यले जानकारी दिए ।
सो अवसरमा किराना पसल, होटल, फार्मेसी, मासु पसल, एग्रोभेट, कस्मेटिक लगायतका १३ पसलमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अनुगमनका क्रममा सातवीसे बजारमा अनुगमनका क्रममा विल विजक नराखेको र म्याद गुज्रिएका खाद्य सामग्री विक्री गरेको पाइएको हुँदा लिला किराना सप्लायर्सलाई तत्कालै ५ हजार रुपैयाँ जरिवाना गरी तीन दिन भित्र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न निर्देशन दिइएको अनुगमन टोलीका नेतृत्वकर्ता अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतमले बताउनु भयो । उहाँका अनुसार अनुगमनका क्रममा अधिकांश पसलहरू दर्ता बिना सञ्चालन गरेको पाइएको थियो ।
होटल र मासु पसलमा सरसफाई नभएको पाइएको उहाँले जानकारी दिनुभयो । ‘दर्ता बिना व्यवसाय सञ्चालन गर्न नपाइने, विल विजक नराखेमा ५ हजारदेखि २० हजारसम्म जरिवाना लाग्ने र अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएमा २ लाख रुपैयाँ जरिवाना लाग्ने उपभोक्ता हित संरक्षण ऐनले किटान गरेको छ ।’ उहाँले भन्नुभयो । यही ऐनमा टेकेर कस्तो प्रकृतिको कैफियत गरेको छ सो अनुसारको कार्वाही हुनेछ । तीमध्य एकलाई तत्काल जरीवाना अन्य तीनलाई तीन दिनभित्र नगरपालिकामा दर्ता गर्न, पाँचवटालाई सरसफाई लगायतका कार्यमा ध्यान दिन निर्देशन दिइएको गौतमको भनाइ छ ।
‘मदिराजन्य र सुर्तिजन्य पदार्थ विक्री वितरणको अनुमति पत्र नलिएको, म्याद गुज्रिएका खाद्य सामग्री विक्री गरेको अवस्थालाई अनुचित व्यापारिक क्रियाकलापमा राखिएको छ ।’ गौतमले उल्लेख गर्नुभयो ।
यसरी दर्ता विना व्यवसाय गरिरहेकाहरूलाई एक हप्ता भित्र नगरपालिकामा व्यवसाय सूचिकृत गर्न निर्देशन दिदै नगरेमा थप कारबाही हुने चेतावनी दिइएको अनुगमन टोलीले बताएको छ ।
अनुगमनका क्रममा राइनास नगरपालिका– ४ को सातवीसे र वडा नं. ५ को तिनपिप्ले बजारमा रहेका १५ वटा पसलमा अनुगमन गरिएको छ । यी दुबै बजारका व्यवसायी मध्ये धेरैले आफ्नो व्यवसाय सूचिकृत नगरी सञ्चालन गरेको पाइएको छ ।
सहायक प्रजिअको संयोजकत्वमा भएको उक्त अनुगमनमा प्रहरी निरीक्षक राजाराम खतिवडा, राइनास नगरपालिका प्रशासकीय अधिकृत विमला वाग्ले, राइनास नगरपालिका वरिष्ठ प्रशासन पुष्पा लम्साल वाग्ले, नेपाल पत्रकार महासंघका प्रतिनिधि वासुदेव थापा, खरिदार सागर अधिकारी, नायव सुब्बा सुवास नेपाली, प्रहरी हवल्दार सुनिल दवाडी, भरत श्रेष्ठलगायतको हुनुहुन्थ्यो ।
प्रकाशित मिति २०८२ भाद्र १६, सोमबार १६:३५ गते