काठमाडौं– नेकपा एमालेको निर्वाचन समितिले पार्टी निकट पत्रकारहरूको संगठन प्रेस चौतारीको अधिवेशन बारे कुनै जानकारी नभएको बताएको छ । निर्वाचन आयोगको प्रतिवेदनमा प्रेस चौतारीको १०औं महाधिवेशनको कुनै औपचारिक सूचना आयोगमा नपुगेको भदौ २१ गते उल्लेख गरेसँगै त्यस्तो खुलासा भएको हो ।
ललितपुरको गोदावरीमा जारी एमालेको दोस्रो विधान अधिवेशनमा प्रतिवेदन पेश गर्दै निर्वाचन समितिका संयोजक डा. विजय सुब्बाले चौतारीले अधिवेशन गर्दा आयोगसँग कुनै समन्वय नगरेको गुनासो गर्नु भएको छ । डा. सुब्बा नेतृत्वको समितिले अधिवेशनमा प्रस्तुत प्रतिवेदनमा पनि चौतारीको अधिवेशनबारे आयोगलाई कुनै औपचारिक जानकारी नभएको उल्लेख गरिएको हो ।
आयोगले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, ‘नेकपा एमालेको जनसंगठन प्रेस चौतारी नेपालको १०औं केन्द्रीय महाधिवेशन, २०८१ चैत १०– १२, विराटनगरमा सम्पन्न भएको भएता पनि आयोजक कमिटीले उक्त अधिवेशनको सहजीकरण वा निर्वाचन सम्पन्न गर्नका लागि कुनै पत्र केन्द्रीय निर्वाचन आयोगमा प्राप्त हुन नआएको ।’
यसैगरी, आयोगको प्रतिवेदनमा रिटर्नी फेडेरेसन नेपालको दोस्रो महाधिवेशनमा पनि निर्वाचनको मनोनयन कार्य नहुँदै अध्यक्ष मण्डलले कमिटीको नाम बन्दसत्रमा घोषणा गरेको उल्लेख छ ।
फेडेरेसनको अधिवेशन १५ र १६ चैत २०८१ मा काठमाडौंमा सम्पन्न भएको सम्बद्ध नेताहरूको भनाइ छ ।
प्रकाशित मिति २०८२ भाद्र २१, शनिबार १९:२५ गते