रास्वपा लमजुङद्वारा सामाजिक सञ्जाल बन्दको विरोधमा प्रधानमन्त्रीलाई ज्ञपान पत्र बुझाइयो

रास्वपा लमजुङद्वारा सामाजिक सञ्जाल बन्दको विरोधमा प्रधानमन्त्रीलाई ज्ञपान पत्र बुझाइयो

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ २२ गते आईतबार ०१:५१

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिइयोस्, दुरुपयोग रोक्नका लागि नीतिमा आधारित, प्राविधिक र कानुनी उपायहरू अवलम्बन गरियोस्लगायतका चारवटा माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

कुनै पनि बहानामा सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय जनताको व्यवसाय, सपर्क, शिक्षा लगायत विभिन्न सेवा र हक अधिकार माथिको प्रत्यक्ष प्रहार हो : रास्वपा

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लमजुङले सरकारद्वारा सामाजिक सञ्जाल बन्द गरेको विरोधमा प्रधानमन्त्रीलाई ज्ञपान पत्र बुझाएको छ । रास्वपाको एक टोली जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलमार्फत प्रधानमन्त्रीलाई भदौ २२ गते ज्ञापन पत्र बुझाएको हो ।
सो ज्ञापनपत्रमा ‘सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सञ्चार अधिकार, सूचना प्रवाहमा गम्भिर अवरोध पुर्याएको छ । सामाजिक सञ्जाल आजको डिजिटल युगमा केवल मनोरञ्जन र व्यक्तिगत प्रयोगका लागि मात्र नभई, नागरिकको मौलिक हक, विचार– अभिव्यक्ति, व्यवसाय, शिक्षा, अनुसन्धान र सूचना आदान– प्रदानको प्रमुख माध्यम पनि हो । कुनै पनि बहानामा यसलाई बन्द गर्ने निर्णय जनताको व्यवसाय, सपर्क, शिक्षा लगायत विभिन्न सेवा र हक अधिकार माथिको प्रत्यक्ष प्रहार हो’ भनिएको छ ।
त्यस्तै, सरकारको यो निर्णयले आमनागरिकको व्यवसाय सञ्चालनमा समेत गम्भिर आघात पुगेको छ । दशैं, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरेर बढाइएका व्यवसायहरू जोखिममा परेका छन् भन्दै ज्ञपानपत्रमा विदेशमा रहेका लाखौं युवा तथा परिवारका सदस्यहरूसँग सञ्चारको प्रमुख साधन सामाजिक सञ्जाल रहेकोमा चाडवाडको मुखमा विच्छेद भएको छ । परिवारमा सञ्चार विमुख हुदा सन्नाटा छाएको उल्लेख छ ।
त्यस्तै, नागरिक अधिकार डिजिटल स्वतन्त्रता र जिम्मेवार सञ्चारका लागि रास्वपा सरकारसँग निम्न माग गर्दछ ।
१) सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिइयोस् ।
२) सामाजिक सञ्जालमा हुने दुरुपयोग रोक्ने तर अधिकार र लोकतन्त्र कटौती नहुने गरी बहुअर्थी, अमूर्त प्रावधान बिनाका प्रष्ट कानुनी व्यवस्थासहितको सामाजिक सञ्जाल ऐन वृहत्तर छलफलबाट निर्माण गरियोस् ।
३) दुरुपयोग रोक्नका लागि नीतिमा आधारित, प्राविधिक र कानुनी उपायहरू अवलम्बन गरियोस् ।
४) भविष्यमा नागरिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम नदोहोरिने प्रष्ट प्रतिवद्धता जनाइयोस् ।
सो ज्ञापनपत्रको बोधार्थ सूचना, सञ्चार तथा प्रविधि मन्त्रीका साथै आम नेपाली नागरिक र प्रवासमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई दिइएको ज्ञापनपत्रमा उल्लेख छ ।
प्रजिअ पोखरेलले ज्ञापनपत्र बुझ्दै यो थाहा भएकै विषय हो, यसलाई म तत्कालै सम्बन्धित ठाउँमा पठाउने छु भन्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँसँग रास्वपाको प्रतिनिधि मण्डलले परिचय समेत गर्दै समसामयिक विषयमा केही गुनासा समेत पोख्ने काम गरेका थिए ।
रास्वपाका जिल्ला सभापति अशोक सापकोटाको नेतृत्वमा जिल्ला प्रशासन पुगेको टोलीले प्रजिअ पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । सभापति सापकोटाले ज्ञापन पत्र प्रजिअ पोखरेललाई हस्तान्तरण गर्नु अघि पढेर सुनाउनु भएको थियो । सो अवसरमा रास्वपाको प्रदेश सचिवालय सदस्य हरि धिताल, प्रदेशको शिक्षा विभागका प्रमुख भरत भण्डारी, रास्वपाका जिल्ला उपसभापति तथा बेसीशहर नगरपालिका– ६ का वडाध्यक्ष प्रकाश थापा, रास्वपाको जिल्ला सल्लाहकार परिषदका संयोजक एवम् वरिष्ठ पत्रकार नवराज पहाडी, जिल्ला सदस्य होमबहादुर राउत, सोही दलको बेसीशहर नगरका सभापति कृष्ण राउत, र्याट विभागका जिल्ला उपप्रमुख बेलबहादुर घिमिरे, वडानं– २ का सभापति प्रेम पराजुली, वडानं– ७ का सभापति राजकुमार घिमिरे, वडानं– ६ का उपपभापति राजकुमार राउत, वडानं– ९ का सचिव श्याम अर्याल लगायत दुई दर्जन प्रतिनिधिहरू सहभागी हुनुुहन्थ्यो ।

प्रकाशित मिति २०८२ भाद्र २२, आईतवार १३:५१ गते
हजुरको प्रतिक्रिया