रास्वपा सभापति रविको कारागारबाट आग्रह– जेनजीलाई विवेक प्रयोग गर्नु

रास्वपा सभापति रविको कारागारबाट आग्रह– जेनजीलाई विवेक प्रयोग गर्नु

एजेन्सी

@antaranganews

२०८२ भदौ २३ गते सोमबार ०९:५१

जेनजी पुस्तालाई विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, कलाकार, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति र स्वतन्त्र युवाहरूले समर्थन गरेका छन् ।

बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले पनि अनुमति दिएको छ ।

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले आज हुने जेनजीहरूको प्रदर्शनमा नख्खु कारागारबाट आफ्नो ऐक्यबद्धता रहेको जनाउनु भएको छ । उहाँले आफ्नो निजी सचिवालयमार्फत जेनजीहरूलाई सन्देश पठाउँदै घुसपैठबाट सचेत हुन समेत भदौ २२ गते आग्रह गर्नु भएको हो । युवाहरूले नेतृत्वविहीन तर उद्देश्यप्रस्त आन्दोलनको तयारी गरेका हुन् ।
सामाजिक सञ्जाल बन्दको विरोधमा आज भदौ २३ गते जेनजीहरूले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा प्रदर्शन गर्दैछन् । जसलाई इतिहासको नयाँ सुरुवातको दिन भन्दै सभापति रविले विवेक प्रयोग गर्न आग्रह गर्नु भएको छ । काठमाडौंको माइतीघर मण्डला र संसद् भवन अगाडि ‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप’ भन्ने नारासहित नयाँ पुस्ता, जेनजीले आज सडक आन्दोलन गर्दैछन् ।
उहाँले विज्ञप्तिमार्फत भन्नु भएको छ, ‘सत्ता र शक्तिको नशामा चुर अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरूलाई थाहा छैन, तपाईँहरूको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ,’ लामिछानेले भनेका छन्, ‘भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हो । घुसपैठ हुनसक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन्, विवेक प्रयोग गर्नुहोस् ।’
प्रदर्शनप्रति शुभेच्छा, सद्भाव र ऐक्यबद्धता जाहेर गर्दै भन्नु भएको छ, ‘भोलिबाट तपाईँहरू सडकमा ओर्लँदै हुनुहुन्छ । तपाईँहरूमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ । शासकहरूले तपाईँहरूलाई विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दुःख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे,’ सभापति लामिछानेले आफ्नो सन्देशमा भनेका छन्, ‘तपाईंको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईँकै हातबाट लेखिँदैछ । नख्खु जेलको कालकोठरीबाट म तपाईँहरूप्रति शुभेक्षा, सदभाव र ऐक्यबद्धता प्रकट गर्दछु ।’
स्मरणीय छ, यसअघि रास्वपाले विज्ञप्ति जारी गर्दै जेनजीको आन्दोलनमा नबिथोल्न खबरदारी गरेको थियो ।
माइतीघरमा जुटे जेनजी, अव्यवस्थाविरुद्ध प्रदर्शन :
भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेन जी)हरूले प्रदर्शन सुरु गरेका छन् । कतिपय युवाहरू कलेज र स्कुल पोशाकमा समेत देखिएका छन् । उनीहरू स्वतःस्फूर्त रुपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनमा उत्रिएका हुन् । बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले पनि अनुमति दिएको छ ।
उनीहरूले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् । सामाजिक सञ्जाल बन्द भए पनि आन्दोलनको घोषणाले व्यापक समर्थन पाइरहेको छ । पुराना पुस्ताका नागरिकहरूले पनि जेनजीको विद्रोहलाई सकारात्मक रूपमा हेरेका छन् र साथ दिने घोषणा गरेका छन् ।
पहिले सामाजिक सञ्जालका पोष्टमा मात्र सीमित सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई जेनजी पुस्ताले सडकमा उतारेका हुन् ।
‘दी फाइनल रिभोलुसन’, कस्तो होला आन्दोलन ? शान्तिपूर्ण हुन्छ : आयोजक :
आन्दोलन शान्तिपूर्ण हुने युवाले बताएका छन् । सत्ताको मनोमानी, भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध आवाज उठाउन बाध्य हुनुपरेको आन्दोलनकारी युवाले जनाएका छन् । जेनजीले यो आन्दोलनलाई ‘नयाँ संघर्ष’को रूपमा चित्रण गरेका छन्
टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका माध्यममा ‘नेपो बेबी ट्रेण्ड’ले नेताका छोराछोरीको विलासितालाई उजागर गर्दै जनआक्रोश बढाएको छ । यही डिजिटल आक्रोशले सडकमा उत्रिने ऊर्जा दिएको छ ।
यो विद्रोह केवल डिजिटल ट्रेण्ड होइन— यो पुस्तान्तरणको संकेत भएको धेरैले प्रतिक्रिया दिइरहेका छन् ।
प्रशासनले सो प्रदर्शनमा ‘घुसपैठ’ हुनसक्ने सुरक्षा विश्लेषण गरेको छ । २८ वर्षभन्दा मुनिको उमेर समूहका युवा पुस्ताले गर्ने प्रदर्शनमा घुसपैठ हुनसक्ने आकलन गरिएको उपत्यका प्रहरी कार्यालयका डीआईजी ओम रानाले बताए । उनले भने, ‘हामीले त्यहीअनुसार सुरक्षा रणनीति तयार गरेका छौँ ।’
राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने चेतावनी :
जेनजी पुस्ताले सरकारको बेथितिविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गर्दैछन्, जसलाई प्रशासनले अनुमति दिएको छ । प्रशासनले प्रदर्शनमा हुनसक्ने अराजकता र तोडफोडलाई रोक्न एकीकृत सुरक्षा योजना लागू गरेको छ ।
प्रदर्शनकारीले शान्तिपूर्ण आन्दोलन गर्ने प्रतिबद्धता जनाएका छन् र घुसपैठको आकलन गर्दै सुरक्षा रणनीति बनाइएको छ ।
आन्दोलनकारीले राजनीतिक दल र नेताहरूलाई यो प्रदर्शनलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनी दिएका छन् । उनीहरूले यो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई नेपालको भविष्यका लागि भएको स्पष्ट पारेका छन् ।
जेन जीले सरकार र राज्यका निकायहरूलाई पनि शान्तिपूर्ण प्रदर्शन गर्ने आफ्नो अधिकारको सम्मान गर्न माग गरेको छ । यदि आन्दोलनमाथि हिंसा वा अवैध बल प्रयोग गरिएमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने र त्यस्ता कार्यहरू मानवअधिकार उल्लङ्घन हुने पनि उनीहरूले चेतावनी दिएका छन् ।
प्रदर्शनमा रास्वपा सभापतिका अतिरिक्त चैत १५ मा हिंसात्मक प्रदर्शन गरेर भर्खरै थुनामुक्त भएका दुर्गा प्रसाईंले पनि ऐक्यबद्धता जनाएका छन् । त्यस बाहेक विभिन्न व्यक्ति र समूहले प्रदर्शनमा ऐक्यबद्धता जनाइरहेका छन् ।
उच्छृंखल क्रियाकलाप गर्नेहरूबारे सूचना संकलन गर्न सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ ।
युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेवी’ ट्रेन्ड चलाएका छन् । कसैका बुवा ठुलो पदमा पुगेको आडमा छोराछोरीले मोजमस्ती गरेको भन्दै उनीहरूले त्यस्ता छोराछोरीको विरोध गर्ने भएका हुन् ।

प्रकाशित मिति २०८२ भाद्र २३, सोमबार ०९:५१ गते
हजुरको प्रतिक्रिया