काठमाडौं– सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका ‘जेनजी’ पुस्ताको विरोध प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १५ पुगेको छ । सरकारको बर्बर दमनले १५ जेनजी प्रदर्शनकारीले भदौ २३ गते ज्यान गुमाएका हुन् । स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालसँगको समन्वयमा तयार पारेको तथ्यांकअनुसार भएको घाइते हुनेको संख्या दुई सय नाघेको छ ।
एकपछि अर्को गर्दै प्रदर्शनकारीहरूको ज्यान जान थालेपछि प्रदर्शनकारीहरु झनै आक्रोशित बनेका छन् । सरकारबिरुद्ध आन्दोलनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूमाथि सरकारले बर्बर दमन गरेको छ । सरकारको कफ्र्यूको अवज्ञा गर्दै प्रदर्शनकारीहरू आन्दोलनमा उत्रिएका छन् ।
घाइते भएर अस्पताल पुर्याइएकामध्ये सिभिल अस्पतालमा दुईजना, ट्रमा सेन्टरमा ६, एभरेष्ट अस्पतालमा तीन, काठमाडौं मेडिकल कलेजमा दुई र त्रिवि शिक्षण अस्पताल महाराजगंजमा एकजनाको मृत्यु भएको छ । पछिल्लो पटक ट्रमा सेन्टरमा थप एक जनाको मृत्यु, मृतकको संख्या १५ पुगेको हो ।
कर्फ्युले रोकिएनन् प्रदर्शनकारी :
सरकारले आन्दोलनलाई नियन्त्रणमा लिन कर्फ्यु लगाउँदै सेना परिचालन गरेको हो । सरकारले नयाँ बानेश्वर, माइतीघर, राष्ट्रपति भवन, प्रधानमन्त्री निवासलगायतका क्षेत्रमा कफ्र्यु लगाएको छ ।
प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा कफ्र्यू लगाएको पाँच घण्टा बितिसकेको छ । तर कफ्र्यूअघिको तुलनामा अवस्था झनै तनावपूर्ण बनेको छ । स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेपछि पनि स्थिति नियन्त्रणमा आएको छैन । सेनाको टोली पुग्न नपाउँदै आक्रोशित युवाहरूको प्रदर्शनका कारण बानेश्वर चोक तनावग्रस्त बन्नपुग्यो ।
आक्रोशित प्रदर्शनकारीहरू सडकमा सुतेर सेनाको ट्रकलाई बिच सडकमै रोकेका थिए ।
सिभिल अस्पतालभित्र सुरक्षाकर्मीले हाने अश्रुग्यास :
संसद् भवन छेवैमा रहेको सिभिल अस्पतालमा सुरक्षाकर्मीले अन्धाधुन्ध अश्रुग्यास प्रहार गरिरहेको चिकित्सकहरूले जानकारी दिएका छन् । सिभिलमा घाइते धान्न गाह्रो भएपछि घाइतेहरूलाई अन्य अस्पताल लगिएको छ ।
उता एक प्रदर्शनकारीको संसद् भवनअगाडि प्रहरीको गोली लागेर घट्नास्थलमै ज्यान गुमेको छ ।
आक्रोशित प्रदर्शनकारीहरुले मानव अधिकार आयोगको गाडी समेत जलाइदिएको बताइएको छ ।
प्रधानमन्त्रीको राजीनामा, वैकल्पिक सरकार गठनको माग :
यसैबीच, सरकारले आन्दोलनमा बर्बर दमन गरेपछि जेन–जी पुस्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै वैकल्पिक सरकारको माग गरेको छ । यस्तो अवस्थामा अहिलेको भाषामा ‘जेन–जी’ मानिने सचेत र युवापुस्ताले मुख्यतयाः भ्रष्ट र भ्रष्टाचारलाई निशाना बनाई गर्न लागेको आन्दोलनले सरकारलाई बडार्ने संकेत दिएको छ ।
आन्दोलनमा प्रहरीको गोली लागेर १५ जनाको मृत्यु भइसकेको छ । यो दमनसँगै सरकारको वैधता पूर्णरुपमा समाप्त भएको जेन–जी पुस्ताले निष्कर्ष निकालेको हो । त्यो पुस्ताले सुरक्षा निकायहरूलाई पनि तत्काल दमनकारी गतिविधिबाट पछि हट्न र शान्तिपूर्ण प्रदर्शनलाई सहज बनाउन र जनताको अधिकारलाई सम्मान गर्न आग्रह गरिएको छ ।
सुमना श्रेष्ठद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग :
उता, पूर्व शिक्षामन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्नु भएको छ । प्रधानमन्त्री ओलीले आफ्नो वैधानिकता गुमाएको भन्दै उहाँले राजीनामा माग गर्नु भएको हो ।
उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नु भएको छ,’नेपाली मारेर शासन गरने– बच्चा मारेर शासन गरने – नेपाल सरकार धिक्कार ! मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना !’
जेन–जी पुस्ताको आन्दोलनमा सरकारले व्यापक दमन गरेको छ । प्रहरीको गोली लागेर हालसम्म १४ जनाले ज्यान गुमाइसकेका छन् भने झण्डै डेढ सय जनाभन्दा बढी घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले घटनाको विश्लेषण गर्ने प्रयास भइरहेकाले थप केही बताउन नसकिने प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार, स्थानीय प्रशासन र सुरक्षा समितिले बस्तुस्थिति मूल्यांकन गरेर आफ्नो कदम चालेको भएपनि गृहप्रशासनले आवश्यक समन्वय गरिरहेको छ ।
एकपछि अर्को गर्दै प्रदर्शनकारीहरूको ज्यान जान थालेपछि प्रदर्शनकारीहरु झनै आक्रोशित बनेका छन् ।
त्यसपछि प्रहरीले पनि बारम्बार बल प्रयोग गरिरहेको छ । बानेश्वर क्षेत्रमा बारम्बार अश्रुग्यास प्रहार र गोली प्रहारको आवाज सुनिएको छ ।
ज्यान गुमाउनेहरूको संख्या थप हुन सक्ने संभावना रहेको आन्दोलनकारीहरूले बताएका छन् ।
प्रकाशित मिति २०८२ भाद्र २३, सोमबार १७:४९ गते