काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गर्नु भएको छ । केही बेर अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट आजै भदौ २४ गते राजीनामा दिनु भएको थियो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राजीनामा स्वीकृत भएको बताउनु भएको हो ।
जेन्जीको आन्दोलन चर्केपछि ओलीले पदबाट आज नै राजीनामा दिनु भएको हो । प्रधानमन्त्रीले पद त्याग गर्नु भएको उहाँको सचिवालयले सार्वजनिक गरेको हो ।
प्रदर्शनका क्रममा शीर्ष नेताहरूका आवास, पार्टी कार्यालय, सरकारी निकाय र प्रहरी भवनमा आगजनी र तोडफोड भएका छन् । निरन्तर ढुंगामुढा र आक्रमणका कारण सुरक्षाकर्मीहरू दबाबमा परेका छन् । स्थिति थप जटिल बन्दै गएपछि मन्त्रीहरूलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिदैं राजनीतिक निकासका र समस्या समाधनका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा बुझाउनु भएको हो ।
जेन–जीको आन्दोलन नियन्त्रण बाहिर पुगेपछि राजनीतिक निकासका लागि भन्दै पदबाट राजीनामा दिनु भएको हो ।
प्रधानमन्त्री ओलीले राजीनामा पत्रमा उल्लेख गर्नु भएको छ, ‘२०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु ।’
जेनजी आन्दोलनका क्रममा हिजो १९ जनाको ज्यान जनानुका सार्थै आज पनि देशभर उग्र रुप लिन थालेपछि ओलीले अन्ततः राजीनामा दिनुपर्ने अवस्था सिर्जिएको हो । आन्दोलन आज झनै चर्किएको थियो ।
मुलुकमा राजनीतिक स्थिरता दिने र संविधान संशोधन गर्ने मुल एजेण्डासहित नेपाली काँग्रेससँग सात बुँदे सहमति गरी झण्डै दुई तिहाई बहुमतका साथ उहाँ गत २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त हुनु भएको थियो ।
जेनजी आन्दोलनले देशभर उग्र रुप लिन थालेपछि ओलीले अन्ततः राजीनामा दिनुपर्ने अवस्था आएको हो । राजधानीसहित देशका विभिन्न शहर तथा सञ्चारमन्त्रीको गृह जिल्ला लमजुङमासमेत युवाहरू सडकमा उत्रिएर दुवैको पुत्ला जलाएका छन् ।
यसैबीच, राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म कार्य सञ्चालन गर्न तोक्नु भएको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति २०८२ भाद्र २४, मंगलवार १६:४० गते