समस्या समाधानका लागि वार्तामा बस्न सेना प्रमुख सिग्देलद्वारा आह्वान

समस्या समाधानका लागि वार्तामा बस्न सेना प्रमुख सिग्देलद्वारा आह्वान

एजेन्सी

@antaranganews

२०८२ भदौ २४ गते मङ्गलबार ०९:५८

नेपाली सेनाले आन्दोलनका कार्यक्रम नरोकिए अहिले राति १० बजेदेखि नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्ने स्पष्ट पारेको छ ।

नेपाली सेनाले हाल भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैलाई शान्तिपूर्ण समाधानका लागि आग्रह गरेको हो ।

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले वार्ताका लागि सबै पक्षसँग आह्वान गर्नु भएको छ । प्रधान सेनापति सिग्देलले भिडिओ सन्देशमार्फत सम्बोधन गर्दै जेनजी पुस्ताको आन्दोलनका लागि सबै पक्षलाई भदौ २४ गते आह्वान गर्नु भएको हो ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा ‘विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पु¥याउने काम’ गरेको भनिएको छ । यस्तोमा त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण राष्ट्रवासीलई सहयोगका लागि अपिल समेत गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस विषयम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तवरले निकास दिनको लागि आन्दोलनरत समूहलाई आन्दोलनका सबै कार्यक्रम स्थगन गरी वार्ताका निमित्त आह्वान गर्दछु ।’
उहाँको थव भनाइ छ, ‘वर्तमान असहज परिस्थितिलाई सामान्य बनाउँदै आम नागरिक, कूटनीतिक नियोग र जनतालाई सुरक्षाका दिनु हामी सबैको साझा कर्तव्य हो ।’
राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने ?
यसैबीच, नेपाली सेनाले आन्दोलनका कार्यक्रम नरोकिए अहिले राति १० बजेदेखि नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्ने स्पष्ट पारेको छ ।
आज दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । नेपाली सेनाले सेनासहित अन्य सुरक्षा निकाय पनि तैनाथ हुने जनाउँदै भनेको छ– यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भदौ २४ गते रातिको १० बजेबाट दृढ रहने प्रतिवद्धता जानकारी गराउदछौँ ।’
‘तत्पश्चात सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
नेपाली सेनाले हाल भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैलाई शान्तिपूर्ण समाधानका लागि आग्रह गरेको हो ।
अराजक समूह पशुपतिनाथमा पुगेपछि खटियो सेना :
अराजक समूह पशुपतिनाथमा पुगेर लुटपाट गर्न सक्ने स्थिति देखेपछि नेपाली सेनाको टोली त्यहाँ पुगेको छ । सैनिक प्रवक्ता राजाराम बस्नेतले नेपाली सेनाको टोली त्यहाँ पुगिसकेको पुष्टि गर्नु भएको छ । उहाँका अनुसार जेनजी प्रदर्शनकारीका अगुवाहरूले चाहिँ साँझ प्रदर्शनमा घुसपैठ भएको छ ।
अराजक समूहले पशुपतिनाथ मन्दिरका ढोकामा तोडफोड गर्न थालेपछि नेपाली सेनाको टोली खटिएको हो ।
‘खासमा यति धेरै आगजनी राति अबेरसम्म यस्तो स्थिति बनाउने हाम्रो योजना नै होइन,’ एक जेनजी प्रदर्शनकारीले भने । उनका अनुसार हाम्रो माग अनुसार नै परिस्थिति अघि बढिरहेका बेला केही अराजक जथ्थाले मन्दिरमा पुगेका रहेछन् ।
यसैबीच, जेनजी प्रदर्शनकारीले राष्ट्रपतिले आह्वान गरेको वार्तामा बसेर समाधान निकाल्ने बताएका छन् ।
प्रधानसेनापतिको सम्बोधनको पूर्ण पाठ :
आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,
नेपालको इतिहास देखि नै नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रहँदै आएको तथ्य हामी सबैलाई सर्वविदितै छ ।
नेपालमा हाल भइरहेको आन्दोलनको क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति नेपाली सेना हार्दिक संवेदना र सहानुभूति प्रकट गर्दछ ।
साथै, घाइते बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्दछौँ। आन्दोलनको क्रममा हालसम्म धेरै जनधनको क्षति भइसकेको हुँदा जनधनको थप क्षति हुन नदिन र शान्ति, सुरक्षा, अमन चयन एवं राष्ट्रिय एकता र सद्भाव कायम गर्नु हामी सबै नेपालीको साझा दायित्व हो। वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रिय एवं ऐतिहासिक सम्पदा, सार्वजनिक एवं नागरिकहरूको सम्पत्ति, आम नागरिक, मित्र राष्ट्रका कूटनीतिक नियोग तथा नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिई राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु हामी सबैको साझा कर्तव्य हो ।
तसर्थ, यस विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तवरले निकास दिनको लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रमहरू स्थगन गरी वार्ताको निमित्त आह्वान गर्दछौँ ।
जय मातृभूमि ! जय देश !

प्रकाशित मिति २०८२ भाद्र २४, मंगलवार २१:५८ गते
हजुरको प्रतिक्रिया