काठमाडौं– जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या थपिदै गएर ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको भदौ २६ गते जनाएको हो ।
यसैगरी सो क्रममा घाइते भएकाहरू देशभर विभिन्न अस्पतालमा १ हजार ३६८ जना उपचाररत रहेको बताइएको छ । जसमध्ये ३२१ जना अस्पतालमा उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार हालसम्म ९४९ जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, सिभिल अस्पतालमा ६ जना, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पताल र फ्रन्टलाइन अस्पतालमा ३÷३ जना, केएमसी अस्पताल, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बयोधा अस्पतालमा २÷२ जना, त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको तथ्यांक संकलन भएको छ ।
निसस्त्र प्रदर्शनकारी माथि प्रहरीको सशस्त्र जत्थाले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । त्यसक्रममा घाइते भएकालाई प्रदर्शनकारीहरूले अस्पताल पु¥याएका थिए । कतिपयको बाटैमा र कतिको अस्पतालमा उपचारका क्रममा निधन भएको हो । आन्दोलनको पहिलो दिनमा नै १९ जनाको निधन भएको पुष्टि भएको थियो । बाँकी पछिल्ला तीन दिनको संख्या हो ।
भ्रष्टाचार, सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरूले गरेको प्रदर्शनमा प्रहरीले बर्बर दमन गरेको थियो ।
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो ।
यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजीको प्रदर्शनपछि अहिलेसम्म ३० जनाको मृत्यु भएको र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको मन्त्रालयका सचिव डा. विकास देवकोटाले बताउनु भयो । उहाँका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भएको छ ।
उहाँले भन्नुभयो, ‘मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरी प्राप्त भएको विवरण अनुसार यो संख्या सार्वजनिक गरेको हो ।’
स्मरणीय छ, मूर्त नेतृत्वविहीन अवस्थामा ठूलो समूह आन्दोलनमा होमिंदा जेन–जी आन्दोलन क्रमशः अमूर्त र शंकास्पद बन्दै गएको छ भने अन्य शक्तिले चलखेल थालिसकेका छन् । त्यो खेलमा को सफल हुने हो ? त्यसको पर्दा खुल्न भने अझै केही दिन लाग्न सक्छ ।
प्रकाशित मिति २०८२ भाद्र २६, बिहीबार १४:१९ गते