‘जेन–जी आन्दोलनले उठाएका भ्रष्ट्राचारको विरोध र सुशासन कायम गर्ने एजेण्डाहरूमा पूर्ण समर्थन र सहयोग गर्छौं ।’ : नेपाल

‘जेन–जी आन्दोलनले उठाएका भ्रष्ट्राचारको विरोध र सुशासन कायम गर्ने एजेण्डाहरूमा पूर्ण समर्थन र सहयोग गर्छौं ।’ : नेपाल

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ २६ गते बिहिबार ०६:२८

राष्ट्रिय सम्पत्ती र धरोहर नै ध्वस्त पार्ने कामलाई सामान्य रूपमा लिन सकिदैन । जेन जी पुस्ताले जुन आदर्श बोकेको छ, त्यसले यस्तो कार्य गर्ने सक्तैन । यस्ता निकृष्ट कुकृत्य त निहित स्वार्थ बोकेको कुतत्वहरूले मात्र गर्न सक्तछन् । अतः त्यस्ता कुतत्वको पहिचान गरी दण्डित गर्नेतर्फ सबै सचेत हुन जरुरी छ ।

लोकतन्त्र नै रहेन भने सामाजिक सञ्जाल मात्र होइन वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र सङ्गठित हुने स्वतन्त्रतालगायत सबै प्रकारका मौलिक हक र नागरिक अधिकार खोसिने छन् ।

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (स्वीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले ‘जेन–जी आन्दोलनले उठाएका भ्रष्ट्राचारको विरोध र सुशासन कायम गर्ने एजेण्डाहरूमा पूर्ण समर्थन र सहयोग गर्छौं ।’ भन्नु भएको छ । उहाँले एक विज्ञप्ति जारी गर्र्दै त्यस्तो जानकारी भदौ २६ गते बताउनु भएको हो ।
उहाँले हामीले २३ गते नै पार्टी सचिवालयको बैठकबाट औपचारिक निर्णय गरी जेन जी पुस्ताका जायज मागहरू संबोधन गर्नुपर्छ र कुनै प्रकारको दमन हुनुहुँदैन भन्ने धारणा सार्वजनिक गरेका थियौं भन्ने स्मरण समेत गर्नु भएको छ । प्रस्तुत छ सो विज्ञप्तिको पूर्ण पाठ :
आदरणीय जनसमुदाय,
सामाजिक सन्जालमाथि गरिएको नियन्त्रण तथा भ्रष्ट्राचार र कुशासनको विरोधमा २०८२ भदौ २३ मा भएको जेन जी पुस्ताको आन्दोलनमाथिको बर्बर दमन र नरसंहारको घटना पश्चात आज मुलुकमा असामान्य परिस्थिति उत्पन्न भएको छ । प्रदर्शनमा सरकारले अत्यधिक बल प्रयोग गरी दमन गर्दा हालसम्म ३० जनाभन्दा वढीको अमूल्य ज्यान गएको छ भने सयौंको संख्यामा घाइते भएका छन् । म सर्वप्रथम ज्यान गुमाएकाहरू सबैप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै घाइतेहरूको शिघ्र स्वस्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी नहोस् भन्ने माग पनि गर्दछु ।
हामीले २३ गते नै पार्टी सचिवालयको बैठकबाट औपचारिक निर्णय गरी जेन जी पुस्ताका जायज मागहरू संबोधन गर्नुपर्छ र कुनै प्रकारको दमन हुनुहुँदैन भन्ने धारणा सार्वजनिक गरेका थियौं । निहत्था युवाहरूमाथि गरिएको दमन र ज्यादतीको विरोध, निन्दा तथा भत्र्सना गर्दै प्रधानमन्त्रीको राजीनामा, घाइतेहरूको उचीत उपचारको प्रबन्ध तथा उच्च स्तरीय न्यायीक छानविन समिति गठन गरी उक्त घटनाका दोषीहरूमाथि कारवाही गर्न माग गर्दै हाम्रो पार्टी तथा प्रतिपक्षी दलहरूको तर्फबाट २४ गते विहानै पनि माग गरिएको थियो ।
सत्ताधारी दलहरू तथा नेतृत्वको दम्भ र अहंकारको कारण प्रधानमन्त्रीले राजीनामा दिन ढिलाई गर्दा भाद्र २४ गते मुलुकले अकल्पनीय अवस्था व्यहोर्नुपरेको छ। आन्दोलनभित्र घुसेर आफ्नो निहित राजनीतिक स्वार्थसिद्ध गर्न चाहने तत्वद्वारा हाम्रा ऐतिहासिक धरोहरहरु सिंहदरवार, राष्ट्रपति भवन, सङ्घीय संसद भवन, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी कार्यालयहरु, विभिन्न सरकारी कार्यालयहरु, राजनीतितक दलका कार्यालयहरू, स्थानीय सरकारका कार्यालयहरु लगायतमा तोडफोड र आगजनी गरेर भौतिक संरचना मात्र होइन ऐतिहासिक, अमूल्य एवम् दुर्लभ अभिलेख, दस्तावेज र लिखतहरू जलाएर नष्ट पार्ने काम भयो । होटल, डिपार्टमेन्टल स्टोर, केवलकार, गाडीका शोरुम, बैंकलगायत सार्वजनिक सम्पत्ती र व्यक्तिका निजी निवास एवम् सम्पत्तीमा तोडफोड, लुटपाट र आगजनी गरियो । यस खालको राष्ट्रिय सम्पत्ती र धरोहर नै ध्वस्त पार्ने कामलाई सामान्य रूपमा लिन सकिदैन । जेन जी पुस्ताले जुन आदर्श बोकेको छ, त्यसले यस्तो कार्य गर्ने सक्तैन । यस्ता निकृष्ट कुकृत्य त निहित स्वार्थ बोकेको कुतत्वहरूले मात्र गर्न सक्तछन् । अतः त्यस्ता कुतत्वको पहिचान गरी दण्डित गर्नेतर्फ सबै सचेत हुन जरुरी छ ।
जेन जी पुस्ताको माग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ वढी जनपक्षीय बनाउने हो तर घुसपैठियाले लोकतन्त्रलाई नै समाप्त पार्ने, अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गर्दछन् । जेन जी पुस्ताको माग वर्तमान संविधानको खारेजी र संसदको विघटन थिएन तर लोकतन्त्र विरोधीहरूले यही मौकामा संसद विघटन र संविधान खारेज गरी लोकतन्त्रको अन्त्य गर्न खोज्दै छन् । यसमा जेन–जी पुस्ता सचेत हुन जरुरी छ । लोकतन्त्र नै रहेन भने सामाजिक सञ्जाल मात्र होइन वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र सङ्गठित हुने स्वतन्त्रतालगायत सबै प्रकारका मौलिक हक र नागरिक अधिकार खोसिने छन् । यसका साथै लोकतन्त्र विहिन राज्यमा भ्रष्ट्राचार र कुशासन विरुद्धका आन्दोलन त के बोल्न समेत नपाइने अवस्था सिर्जना हुन्छ । जेन जी पुस्ताले उठाएका मागको संवोधन वर्तमान संविधान र संसदभित्रैबाट गर्न सकिन्छ । भ्रष्ट नेताहरूलाई कारवाही गर्न सकिन्छ, उच्च स्तरीय सम्पत्ति छानविन आयोग गठन गर्न सकिन्छ, जुन माग हाम्रो पाटीले पहिलेदेखि नै राख्दै आएको छ । संविधान संशोधन गरेर जेन जीले भने जस्तो बनाउन सकिन्छ । छिटोभन्दा छिटो संविधान संशोधन गरेर चुनावमा जान सकिन्छ र ताजा जनादेश लिएर सरकार चलाउन सकिन्छ । उल्लेखित विषयहरूमा गम्भीरतापूर्वक अघि बढ्न र आन्दोलनरत जेन जी सहित सम्बन्धित सम्पूर्ण पक्षसँग सहकार्य गर्न हाम्रो पार्टी सदैव तयार रहेको छ ।
राजनीतिक परिवर्तन पश्चात त्यसको व्यवस्थापन सहित आर्थिक एवम् सामाजिक परिवर्तनको स्पष्ट मार्गचित्र बनाई अघि बढ्न नसक्दा जनतामा उत्पन्न चरम निराशा, आक्रोश, बेरोजगारी तथा युवा पलायन जस्ता विषयले हालको परिस्थिति उत्पन्न भएको यथार्थलाई हामीले स्वीकार्नु पर्दछ। त्यसैले केही सीमित नेतृत्वको कुशासन र अहमताका कारण हामीले लामो संघर्ष र बलिदानी पश्चात प्राप्त गरेका उपलब्धीहरूलाई गुम्न दिनु हुँदैन भन्नेमा फेरी पनि हामी सचेत हुनुपर्दछ । अतः अहिले पनि हाम्रो राष्ट्रलाई असफल हुने खतराबाट जोगाउनुपर्छ, संवैधानिक रूपमा र कानूनसम्मत रूपमै जेन–जी आन्दोलनका मागहरू तथा जनताको हितलाई सर्वोपरी राखेर वर्तमान सङ्कटलाई चिर्नुपर्दछ भन्ने हाम्रो धारणा रहेको छ ।
समग्र परिदृष्यको विश्लेषणको आधारमा नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै नेपाली विशेषताको समाजवादी कार्यक्रममार्फत नेपालको आर्थिक एवम् सामाजिक रूपान्तरण गर्न सकिन्छ भनेर नै हामीले तात्कालिन मुख्य नेतृत्वसँग विद्रोह गरी नेकपा (एकीकृत समाजवादी गठन गरेका थियौं। सुशासन र रोजगारी, समाजवादको तयारी भन्ने नारासहित हामीले अघि सारेका १० वटा मागहरूमध्ये भष्ट्राचारको छानवीन गर्न शक्तिशाली आयोग गठन गर्ने, युवालाई रोजगारी प्रदान गर्ने, सुशासन कायम गर्ने, विदेश जानुपर्ने वाध्यता रोक्ने, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, विभेदको अन्त्य, संविधानको पनरावलोकनको लागि राष्ट्रिय सम्मेलन गर्ने लगायतका मागहरू अहिले जेन जी अभियानले उठाएको आन्दोलनका मागहरूसंग मिल्दाजुल्दा छन् । ती विषयहरूका सन्दर्भमा हामीले गरेका प्रयास तथा कमजोरीहरूलाई स्वीकार गरौं र जैन जीका यी मागहरूप्रति शुरुकै दिनमा हामीले समर्थन तथा ऐक्यवद्धता जनाएका थियौं भन्ने कुरा नभुलौं ।
आजको विषम परिस्थितिमा धैर्यता र संयमताका साथ जेन–जी आन्दोलनले उठाएका भ्रष्ट्राचारको विरोध र सुशासन कायम गर्ने एजेण्डाहरूमा पूर्ण समर्थन र सहयोग गर्ने, जेन जी आन्दोलनका क्रममा भएको चरम दमनको विरोध गर्ने, दोषिहरूलाई कारवाहीको माग गर्ने, मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने, उनीहरूका परिवारलाई समवेदना तथा सहानुभूति दिने, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने जस्ता कामलाई जनताको घरसम्म पुगेर गर्नु पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता एवम् समर्थक शुभचिन्तकहरूको काम अनि कर्तव्य हो । यसका साथै जेन–जीको आन्दोलनमा घुसेर भौतिक संरचनाहरू ध्वस्त गर्ने मानिसहरूका व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने मानिसलाई घरभित्रै राखेर आगो लगाउने तथा समाजमा हिंसा मच्चाएर कानून तथा व्यवस्थालाई हातमा लिने कार्यलाई कदापी स्वीकार्न सकिदैन । यस्ता कार्यको उचित छानविन तथा दोषी उपर कडा कारवाही हुनु पर्दछ । अतः यस्ता कार्यको निन्दा एवम् भर्त्सना गर्दै संविधान र कानूनको रक्षार्थ खटिन एवम् सामाजिक सद्भवा कायम गर्दै जनताको सेवामा अविचलित रूपमा लागिरहन सम्पूर्ण पार्टी पंक्तिमा हार्दिक अपिल गर्दछु ।
माधव कुमार नेपाल
अध्यक्ष, नेकपा एकीकृत समाजवादी
तथा पूर्वप्रधानमन्त्री
२६ भदौ २०८२

प्रकाशित मिति २०८२ भाद्र २६, बिहीबार १८:२८ गते
हजुरको प्रतिक्रिया