काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले लोकतान्त्रिक मूल्य र मान्यतामा सम्झौता नगर्ने प्रष्ट्याएको छ । रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले एक विज्ञप्ति जारी गर्दै तात्कालिक भन्दै तीन वटा प्रस्ताव भदौ २६ गते अघि सार्दै त्यस्तो बताउनु भएको हो ।
घट्नाको छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्न आह्वान गर्दैै सो विज्ञप्तिमा भनिएको छ, ‘रास्वपाले ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबिच सन्तुलन राख्न उचित ठान्दछ ।’
रास्वपाले अघि सारेको प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा ८३ अन्तर्गत सङ्घीय व्यवस्थापिका दुई सदनात्मक हुने तथ्यको स्मरण गर्दै (रास्वपा सोच अनुरूपपछि संशोधनीय) राष्ट्रिय सभाको स्थायी स्वरूप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्ने गरी ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबिच सन्तुलन राख्न रास्वपा उचित ठान्दछ ।’
जेन– जीको भदौ २३ गते आन्दोलनमाथि भएको बर्बर दमन र तत्पश्चात् भएका मानवीय क्षति, निजी र सार्वजनिक सम्पत्तिमाथिको आक्रमण लगायतका अक्षम्य हिंसात्मक घटनाहरूको उच्चस्तरीय न्यायिक छानबिन र २०४६ पछिका उल्लेख्य भ्रष्टाचारका मुद्दाहरूमाथि निष्पक्ष अनुसन्धान र न्यायिक निरूपणका लागि स्वतन्त्र आयोगहरूको गठन नयाँ सरकार बनेको १५ दिनभित्र बनाउन रास्वपाले आव्हान गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेन– जी पुस्तासहितको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारप्रति आफ्नो समर्थन रहेको समेत बताएको छ ।
प्रकाशित मिति २०८२ भाद्र २६, बिहीबार २०:५४ गते