अन्ततः विघटन हुने भयो संसद : सुशीला कार्कीको प्रधानमन्त्री पदमा शपथ आजै राती ९ बजे

अन्ततः विघटन हुने भयो संसद : सुशीला कार्कीको प्रधानमन्त्री पदमा शपथ आजै राती ९ बजे

एजेन्सी

@antaranganews

२०८२ भदौ २७ गते शुक्रबार ०८:१३

प्रधानसेनापति अशोकराज सिग्देलले संकटकाल लगाउनुपर्ने अवस्था आउनसक्ने चेतावनी दिदै आज साँझसम्म सरकार नबने उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन संकटकाल लगाउनुपर्ने कार्कीसमेतलाई ब्रिफिङ गर्नु भएको थियो । संकटकाल लगाउने पक्षमा ठूला भनिने राजनीतिक दलका कतिपय शीर्ष नेताहरूले समेत सहमति जनाए पनि दोस्रो तहका नेताहरूदले त्यस्तो कुरा सुन्नै चाहेनन् । उनीहरूले त्यस्तो भएमा सडकमा उत्रिने जवाफ प्रधानसेनापति सिग्देललाई दिएका थिए ।

अन्ततः केही बेर अघिमात्र जेन–जीकै मागअनुरूप संसद विघटन गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो ।

काठमाडौं– नयाँ अन्तरिम सरकार गठनका लागि भएको पहल स्वरुप अन्ततः संसद विघटन हुने भएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्री पदमा शपथ आज भदौ २७ गते राती ९ बजे हुने भएको छ । कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री हुने हुनु भएको छ ।
आन्दोलनरत जेन–जी युवाहरूको मागअनुरूप सुरूमै संसद विघटन गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको शितल निवास स्रोतले बताएको छ ।
राष्ट्रपति कार्यालय शितल निवासमा आज विभिन्न चरणमा भएको छलफलले प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेल र जेन–जीबाट प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीबीच कसको सिफारिसमा संसद भंग गर्ने भन्ने कुरा मिल्न नसकेपछि प्रधानमन्त्री नियुक्तिमा विलम्ब हुन गएको थियो ।
राष्ट्रपति पौडेलले कार्कीलाई ’म तपाईंलाई प्रधानमन्त्री नियुक्त गर्छु’ र प्रधानमन्त्री भएपछि पहिलो बैठकबाटै संसद विघटन र निर्वाचन मिति निर्णय गरी ल्याउनु भन्नु भएको थियो । तर आन्दोलनरत जेन–जीका प्रतिनिधि भने संसद विघटन गरेर मात्र अन्तरिम सरकार गठन हुने अडान नछाडेपछि त्यसै आधारमा वार्ता लम्बिँदै गएको थियो ।
अन्ततः केही बेर अघिमात्र जेन–जीकै मागअनुरूप संसद विघटन गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो ।
शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहनु भएका राष्ट्रपति पौडेल जेन– जीको अडानका कारण पछि हट्नु भएको शित्तल निवास स्रोतले बताएको छ । स्रोतका अनुसार केही वार्तामा रहेका युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपछि पौडेल पछि हट्न बाध्य हुनुभएको हो । काठमाडौंका मेयर बालेन शाहले समेत सहमतिका लागि न्यूनतम बटमलाइन नै संसद्भ विघटन भएको बताउँदै आएका थिए ।
स्रोत भन्छ, ‘अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा गर्ने लगायतका काम भइरहेको छ ।’
आज दिउँसो समेत कुनै सहमति जुट्ने छाँट नदेखिएपछि प्रधानसेनापति अशोकराज सिग्देलले संकटकाल लगाउनुपर्ने अवस्था आउनसक्ने चेतावनी दिनु भएको थियो । उहाँले आज साँझसम्म सरकार नबने उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन संकटकाल लगाउनुपर्ने कार्कीसमेतलाई ब्रिफिङ गर्नु भएको थियो ।
संकटकाल लगाउने पक्षमा ठूला भनिने राजनीतिक दलका कतिपय शीर्ष नेताहरूले समेत सहमति जनाए पनि दोस्रो तहका नेताहरूदले त्यस्तो कुरा सुन्नै चाहेनन् । उनीहरूले त्यस्तो भएमा सडकमा उत्रिने जवाफ प्रधानसेनापति सिग्देललाई दिएका थिए ।
यी र यस्ता तीब्र दबाबका बीच जेनजीको माग अनुसार नै कार्कीको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको हो ।
अन्तिममा दलहरूका शीर्ष नेताहरू जेनजी आन्दोलनको मर्म अनुसार, नयाँ सरकार गठनका लागि सहयोग गर्न पार्टी तयार रहेको सन्देश दिएका थिए । तर, त्यसका लागि संसद् विघटन नगरी कार्कीलाई अघि बढाउने बाटो खोज्नुपर्ने उनीहरुको दबाबपूर्ण सुझाव थियो ।

प्रकाशित मिति २०८२ भाद्र २७, शुक्रबार २०:१३ गते
हजुरको प्रतिक्रिया