अन्ततः विघटन भयो प्रतिनिधिसभा : फागुन २१ गते आमनिर्वाचन

अन्ततः विघटन भयो प्रतिनिधिसभा : फागुन २१ गते आमनिर्वाचन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ २८ गते शनिवार ०७:३४

संसद विघटनको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले स्वागत गरेको छ भने अन्य दल काँग्रेस, एमाले र माओवादीले विरोध गरेका छन् ।

प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने जिम्मेवारी तोकिएको छ ।

काठमाडौँ– जेन– जी आन्दोलनको उपलब्धि स्वरुप अन्ततः प्रतिनिधिसभा विघटन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मध्यराततिर प्रतिनिधिसभा विघटन गर्नु भएको हो ।
नवनियुक्त प्रधानमन्त्री नियुक्त हुनु भएकी कार्कीको पहिलो बैठकको निर्णयले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने जिम्मेवारी तोकिएको छ ।
कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुअघि संसद विघटन गर्ने सहमति राष्ट्रपतिसहित सबै पक्षबीच जुटेको थियो ।
राष्ट्रपति पौडेलले तोकेअनुसार नयाँ जनादेशका लागि आगामी फागुन २१ गते बिहीबार प्रतिनिधिसभाको निर्वाचन हुनेछ ।
प्रधानमन्त्री कार्कीले थाल्नु भयो नियमित काम :
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको प्रतिनिधिसभा विघटनको सिफारिसमा राष्ट्रपतिले सदर गर्नु भएको छ । संसद विघटनको माओवादी केन्द्र र एमालेलगायतका दलले विरोध गरेका छन् भने नेपाल बारले पनि यसको कडा भत्र्सना गरेको छ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले हाल कायम प्रतिनिधिसभा विघटनको सिफारिससम्बन्धी निर्णय गरेर आफ्नो कामको थालनी गर्नु भएको छ । शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएर राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथलगत्तै एकल मन्त्रिपरिषद्बाट प्रतिनिधिसभा विघटनसम्बन्धी निर्णय सिफारिस गरेर आफ्नो काम थाल्नु भएको हो ।
राष्ट्रपति कार्यालयका उपसचिव रुपेश जंग थापा मगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिस बमोजिम मिति २०८२ साल भदौ २७ गते शुक्रबार रातको ११ः०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधि सभाको विगठन गर्नु भएको छ ।’
संसद विघटनको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले स्वागत गरेको छ भने अन्य दल काँग्रेस, एमाले र माओवादीले विरोध गरेका छन् ।

प्रकाशित मिति २०८२ भाद्र २८, शनिबार ०७:३४ गते
हजुरको प्रतिक्रिया