टिचिङमा २८ शवको पोस्टमार्टम, २३ जनाको शव आफन्तले बुझे

टिचिङमा २८ शवको पोस्टमार्टम, २३ जनाको शव आफन्तले बुझे

एजेन्सी

@antaranganews

२०८२ भदौ ३० गते सोमबार ०७:२५

सिभिल अस्पतालमा उपचाररत ५० जनाको शल्यक्रिया गरिएकामध्ये ११ जनाको पुनः शल्यक्रिया गर्नुपरेको सिभिल अस्पतालका मेडिकल डिभिजन प्रमुख डा. दीपक पौडेलले बताउनु भयो । उहाँका अनुसार अहिले यहाँ ९ जना मात्र उपचाररत छन् । उहाँले भन्नुभयो, ‘एकै व्यक्तिलाई ८ वटासम्म रबरको गोली लागेकाले दोहो¥याएर अप्रेसन गर्नुपर्ने अवस्था आयो ।’

ट्रमा सेन्टरमा ५ जना अझै आइसियूमा उपचाररत छन भने १४२ जना डिस्चार्ज भएका छन् ।

काठमाडौँ– त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शवपरीक्षण (पोस्टमार्टम) सकिएको छ । अस्पतालमा जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको भदौ ३० गते साँझ यो समाचार तयार गर्दासम्म शवपरीक्षण कार्य भइरहेको छ ।
हालसम्म ४६ शव परीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीले बताउनु्भयो । उहाँका अनुसार २३ शव आफन्तले बुझेर लगिसकेका छन् भने सात जनाको शव चिन्न नसकिने अवस्थामा रहेको छ । उहाँले भन्नुभयो, ‘त्यसका लागि डिएनए परीक्षण आवश्यक हुन्छ । शव चिन्न नसक्ने अवस्थामा दाँत परीक्षण तथा फिङ्गरप्रिन्टबाट शवपरीक्षण गर्ने गरिन्छ ।’
‘शव गोली लागेको, जलेको र ब्लड इन्जुरी भएका धेरै छन्’ डा चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार पोस्टमार्टमका लागि पत्र आएकाको शवपरीक्षण गरिरहेका छौँ ।’
आन्दोलनका क्रममा घाइते भएकामध्ये शिक्षण अस्पतालमा हाल २२ जना उपचाररत रहेको अस्पताल प्रशासनले जनाएको छ ।
यसैगरी, जेन–जी आन्दोलन क्रममा भदौ २३ गते प्रहरी गोली लागेका सबभन्दा बढी घाइते नयाँबानेश्वरको सिभिल अस्पताल लगिएका थिए । त्यो दिनदेखि २९ गते साँझसम्म ४६० जना घाइतेको उपचार गरेको सिभिल अस्पतालका मेडिकल डिभिजन प्रमुख डा. दीपक पौडेलले बताउनु भयो । उहाँका अनुसार अहिले यहाँ ९ जना मात्र उपचाररत छन् । उहाँले भन्नुभयो, ‘घाइतेमध्ये ३६६ जना सामान्य उपचारपछि डिस्चार्ज भएका थिए भने ५० जनालाई भर्ना गरेर उपचार गरिएको थियो । तीमध्ये आज ३० गते बिहानसम्म ४१ जना डिस्चार्ज भइसकेका छन्, ९ जनाको उपचार जारी छ ।’
उपचाररत रहनेमा २२ वर्षीय प्रकाश बिष्ट, २५ वर्षीय श्रीयांश न्यौपाने, २२ वर्षीय धर्मेन्द्र शाही, ३२ वर्षीया राधिका सुवेदी, २२ वर्षीय आदित्य रावल, १९ वर्षीय सुवास दाहाल, २४ वर्षीय निशेष महरा, २२ वर्षीय विक्रम देउला र ४९ वर्षीय हरिराम जोशी रहेको उहाँको भनाइ छ ।
यी ९ जनाको अवस्था मध्यम छ । शरीरका विभिन्न भागमा गोली लागेर भित्रसम्म असर परेकाले निको हुन केही दिन लाग्ने डा. पौडेलले जानकारी दिनु भयो । उहाँका अनुसार यहाँ ल्याइएका घाइतेमध्ये ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीय माधवसारू मगर, ६० वर्षीय छत्रमान कुथुमी, २२ वर्षीय विमल भट्ट, २४ वर्षीय असब आलम ठकुराई, ३२ वर्षीय विजय चौधरी र २१ वर्षीय अभिषेक चौलागाईं रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘मृत्यु हुनेहरूको टाउको र छातीमा गोली लागेको थियो ।’ घाइतेहरूको उपचार क्रममा ५० जनाको शल्यक्रिया गर्नुपरेको थियो । त्यसमध्ये पनि ११ जनाको पुनः शल्यक्रिया गर्नुपरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘एकै व्यक्तिलाई ८ वटासम्म रबरको गोली लागेकाले दोहो¥याएर अप्रेसन गर्नुपर्ने अवस्था आयो ।’ उपचार गरेर फर्किएका केही घाइते फलोअपमा आइरहेका छन् । उनीहरूको निःशुल्क उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
ट्रमा सेन्टरमा ५ जना अझै आइसियूमा, १४२ जना डिस्चार्ज भए :
जेन–जी आन्दोलन क्रममा सबभन्दा गम्भीर अवस्थाका घाइतेलाई ट्रमा सेन्टर लगिएको थियो । नयाँबानेश्वरको सिभिल अस्पतालले पनि आफू कहाँ चाप धेरै भएपछि बढी गम्भीर अवस्थाका घाइतेलाई ट्रमा सेन्टर पठाउने काम गरेको थियो । आन्दोलन सुरू भएदेखि १८० जना घाइतेलाई ट्रमा सेन्टर ल्याइएकामा आज बिहानसम्म १४२ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।
उपचारका लागि ल्याइएकामध्ये ८ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । तीमध्ये तीन जनाको अस्पताल आइपुग्नुअघि नै मृत्यु भइसकेको थियो भने बाँकी पाँच जनाको उपचार क्रममा मृत्यु भएको ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजालले बताउनु भयो । उहाँका अनुसार ट्रमा सेन्टरमा अहिले ३० जना घाइतेको उपचार जारी छ ।
उपचाररत ३० जनामध्ये पाँच जना आइसियूमा छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर छ । बाँकी २५ जनालाई शल्यक्रियापछि नर्मल वार्ड सारिएको छ । उनीहरूको अवस्था सामान्य रहेको डा. रिजालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ’धेरैजसो घाइते इमर्जेन्सी वार्डबाटै उपचार गरेर फर्किएका थिए, मध्यम घाइते भएकाहरू फलोअपमा आइरहेका छन् ।’
गृहमन्त्री ओमप्रकाश अर्यालले मृतकहरूको अन्त्येष्टी राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेका छन् । मृतकलाई शहीद घोषणा र उनीहरूका परिवारलाई १०– १० लाखका दरले राहत दिने यसअघि नै निर्णय भइसकेको छ ।
बालुवाटारमा नवनियुक्त गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल, ऊर्जा तथा जलस्रोत सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहसचिव गोकर्णमणि दुवडी र प्रधानमन्त्रीको टिममा रहेका डा. अभिषेक सिंहले छलफल गरेका छन् ।

प्रकाशित मिति २०८२ भाद्र ३०, सोमबार १९:२५ गते
हजुरको प्रतिक्रिया