भोलि असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने सरकारको निर्णय

भोलि असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने सरकारको निर्णय

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ ३१ गते मङ्गलबार ०७:०७

सरकारले यसअघि नै जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरिसकेको छ । तर दमनबिरुद्ध छानबिन समिति बनाइएको छैन ।

जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या देशभरी ऐलेसम्म ७२ जना पुगेको छ । शोक दिवस मनाउन सरकारी कार्यालय, विद्यालय, कलेज सबै बन्द हुने ।

काठमाडौँ– सरकारले भोलि असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय भदौ ३० गते गरेको हो ।
प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकपछि गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय पनि गरेको जानकारी दिनु भएको हो । उहाँका अनुसार आन्दोलनमा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय झण्डा ओढाउने निर्णय भएको छ । उहाँले भन्नुभयो, ‘आन्दोलनमा ज्यान गुमाउनेलाई प्रचलनबमोजिम १० लाख क्षतिपूर्ति र ५ लाख खर्चसहित १५ लाख रुपैयाँ दिने निर्णय भएको छ ।’
दमनबिरुद्ध छानबिन समिति बनेन :
सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाउने जेनजीहरूको सम्झनामा जेनजी स्मारक निर्माण गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । तर जेनजी आन्दोलनका क्रममा भएको अत्याधिक दमन र बलप्रयोगबारे छानबिन समिति बनाउनेबारेमा मन्त्रिपरिषद्ले कुनै निर्णय गरेन ।
आन्दोलनमा ज्यान गुमाउनेहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्न र शव स्थानान्तरणमा सरकारले सघाउने निर्णय गरेको छ ।
त्यस्तै, भ्रष्टाचारविरुद्ध आयोग बनाउने विषयमा मन्त्री अर्यालले पहिले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकाय भएकोले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा अन्यौल देखिएको र यसबारे पछि थप छलफल हुने जानकारी दिनुभयो ।
अन्तरिम सरकारकी प्रधानमन्त्रीमा सुशीला कार्की भदौ २७ गते नियुक्त हुनु भएको हो भने ३० गते तीन मन्त्रीहरू रामेश्वर खनाल अर्थ, कुलमान गुरुङ ऊर्जा र ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रालयमा नेतृत्व पाउनु भएको छ । सोही दिन साँझ मन्त्रिपरिषद्को पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा बसेको हो ।
जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या देशभरी भदौ ३१ गते विहान यो समाचार तयार गर्दासम्म ७२ जना पुगेको छ ।
सरकारले यसअघि नै जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरिसकेको छ ।

प्रकाशित मिति २०८२ भाद्र ३१, मंगलवार ०७:०७ गते
हजुरको प्रतिक्रिया