लमजुङ– नेपालमा अर्बुद रोग निवारण संस्थाको ४३ औं स्थापना दिवसमा क्यान्सर बारे सचेतना कार्यक्रम दुई विद्यालयमा सञ्चालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा अर्बुद रोग निवारण संस्थाको जिल्ला शाखा लमजुङको आयोजनामा बेसीशहर नगरपालिका– ३ को बाहुनबेसीस्थित यशोब्रह्म माविको सभाहलमा भदौ ३१ गते सो कार्यक्रम गरिएको हो । अर्को कार्याक्रम सुन्दरबजार नगरपालिका– ५ को खहरे स्थित विद्याज्योति माविमा भएको हो । 
प्रजिअ पोखरेलले उक्त कार्यक्रमको उदघाटन गर्दै क्यान्सर प्राणघातक रोग हो, यो लाग्न नदिनु नै बेस हो, त्यो स्थितिका लागि हामी सबैले प्रयास गरौं, समयमा स्वास्थ्य जाँच गरौं भन्नुभयो । सचेतनाका लागि यो कार्यक्रमको आयोजक जस्ता संस्थाले प्रयास गरेका छन् । यस्ता कार्यक्रम जिल्लाका सबै विद्यालय, आमा समूह, बाबा समूह, क्लबहरू लगायत गाउँगाउँसम्म पु¥याउन जरुरी रहेको उहाँले सुझाव दिनु भयो ।
आयोजक संस्था आफै ४३ वर्ष भइसकेको छ । यो चानचुने उमेर हैन, यतिको अवधिमा यसले गरेका कामले समाजमा सकारात्मक सन्देश दिन सफल भएको छ भन्दै सरकारलाई नीति निर्माणमा सहयोग गरेकोसमेत उहाँले स्मरण गर्नुभयो ।
अर्को एक प्रसङ्गमा उहाँले क्यान्सर रोगको पीडालाई म आफूले पनि नजिकबाट बेहोर गरेको स्मरण गर्दै आफूले भाञ्जी र दिदीलाई क्यान्सरकै कारणले गुमाउनु परेको प्रजिअ पोखरेलले सुनाउनु भयो । उहाँले ८ वर्षकी भाञ्जीलाई सुरुमा शरिर गल्ने लक्षण देखियो । स्कुल जाने झोला पनि बोक्न नसक्ने, थोरै पनि पैदल हिड्न नसक्ने भयो ।
डाक्टरकोमा लग्दा सुरुमा भिटामिन खान दिइयो, त्यसबाट सुधार नभएपछि भरतपुर अस्पताल लगियो, त्यहाँबाट कान्ति बाल अस्पताल पठाउने काम भयो । कान्तिमा पुगेपछि रोग पहिचान भयो । चार बर्ष जेनतेन उपचारले धान्यो त्यसपछि सकिएन, १२ वर्षकी भाञ्जीलाई गुमाउनु प¥यो । भाञ्जी बितेको दुई वर्षपछि दिदी पनि फोक्सोको क्यान्सरले वित्नु भयो उहाँले स्मरण गर्नु भयो । उहाँले हाम्रो समग्र परिवार साकाहारी समेत भएको हुँदा धुमपान, मद्यपान जस्ता कुलतबाट पनि टाढा थियो र पनि त्यो स्थितिको बेहोर गर्नु प¥यो उहाँले जानकारी दिनुभयो ।
प्रजिअ पोखरेलले प्रदेश अस्पतालमा हरेक शुक्रबार क्यान्सरको स्क्रिनिङ गर्ने गरेको र आयुर्वेद अस्पतालबाट निःशुल्क उपचार हुने गरेको जानकारी दिदै त्यसबाट लाभान्वित हुन समेत सहभागी सबैलाई आग्रह गर्नु भयो ।
सो अवसरमा कार्यक्रमका अतिथि जिल्ला आयुर्वेद औषधालय लमजुङका प्रमुख उत्सव पौडेलले क्यान्सर जस्तो प्राण घातक रोग लागेपछि उपचार गर्नुभन्दा लाग्न नदिने उपयतर्फ लाग्नु जरुरी छ भन्नुभयो । उहाँले स्कूल पढ्ने उमेरदेखिनै यो रोग प्रति सचेत हुनुपर्नेमा जोड दिदै स्कूलमा विद्यालय लक्षित यो कार्यक्रम सान्दर्भिक छ भन्नुभयो । उहाँले आहार विहारमा ध्यान दिएमा क्यान्सरबाट बच्न सकिने उल्लेख गर्दै जंक फुटको सेवनबाट बच्नु पर्छ भन्नुभयो । उहाँले विहार भनेको जीवन शैली हो, विहान सबेरै घाम उदाउनु अघि उठ्ने बानी बसाल्नु पर्नेमा जोड दिदै व्यक्तिगत, पारिवारिक र सामाजिक वातावरणको सरसफाईमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
यसैगरी, अर्का अतिथि प्रदेश अस्पताल, लमजुङका शल्यचिकित्सक नारायण शर्माले क्यान्सर के हो ? कसरी हुन्छ ? लक्षण, उपचार विधि लगायतका विषयमा प्रकाश पार्नु भएको थियो । उहाँले शरिरमा कोषहरूको अनावश्यक बृद्धि तथा ट्युमर क्यान्सरको प्रारम्भिक रुप हो भन्ने जानकारी दिनुभयो । उहाँले क्यान्सरलाई चोरसँग तुलना गर्दै चोरको तह र तारिका जस्तै क्यान्सर पनि विभिन्न प्रकारका हुने उल्लेख गर्नु भयो । उहाँले प्रदेश अस्पतालमा हरेक शुक्रबार क्यान्सरको स्क्रीनिङ गर्ने गरेको जानकारी दिदै त्यस्तो आशंका भएमा त्यसका लागि सम्पर्क गर्न आग्रह गर्नु भयो ।
आयोजक संस्थाका जिल्ला सभापति एवम् कार्यक्रमका अध्यक्ष नवराज पहाडीले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै संस्थागत गतिविधिबारेमा जानकारी दिनु भएको थियो । अर्बुद रोग निवारण संस्था केन्द्रमा २०३९ सालमा स्थापना भएको जानकारी दिनुभयो । उहाँले संस्थाको केन्द्रले सुर्तिजन्य पदार्थमा कर लगाउने, बढाउने, विज्ञापनमा रोक लगाउने कार्यमा साथै क्यान्सर रोगीका लागि सरकारले उपलब्ध गराउने एक लाख रुपैयाँको सहुलीयत दिलाउनका लागि सरकारसँग लविङ गरेको पनि जानकारी दिनुभयो ।
संस्थाका सभापति पहाडीले संस्थाले क्यान्सरको अन्तिम स्टेजमा पुगेका बिरामीलाई मृत्यका लागि सहजीकरण गर्नका लागि हस्पिसहरू खोलिएको जानकारी दिदै आफ्नो संस्थाले पनि केन्द्रमा हस्पिसको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले आजका दिनसम्म क्यान्सरको घाउको पीडादायी दुखाई भन्दा ठूलो आजसम्म अर्को घाउँ पत्ता नलागेको बताउँदै हस्पिसहरूमा विरामीको मनोवैज्ञानिक र एलोपेथिक दुवै औषधि निःशुल्क हुने गरेको जानकारी दिनुभयो ।
लमजुङमा २०५३ सालमा स्थापना भएको जानकारी दिनुभयो । २, ३ वर्ष राम्रोसँग संस्था चलेपछि सशस्त्रद्वन्द्व चर्किदै गएपछि संस्था निस्कृय रहेको जानकारी दिदै प्रदेश समितिको सक्रियतामा गत वर्षबाट पुनर्जागृत भएको उल्लेख गर्नु भयो ।
उहाँले शाखाको पुनःस्थापना पछि क्यान्सर डे, धुम्रपान रहित दिवस जस्ता कार्यक्रममा जिल्लाव्यापी अन्तर मावि वक्तृत्वकला प्रतियोगिता सञ्चालन, यस्तै सचेतनाका कार्यक्रमका साथमा गत वर्ष सुन्दरबजारको नमूना सामुदायिक अस्पतालसँग मिलेर दुई दिने निःशुल्क क्यान्सर स्क्रिनिङ र आँखा शिविर सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले शाखामा १३ जनाको जिल्ला समिति, ७ जनाको सल्लाहकार समिति र ३१ जना आजीवन सदस्यबाट जिल्लामा गतिविधि सञ्चालन गरिरहेको र सदस्यता खुला रहेको जनकारी दिनुभयो ।
उहाँले कार्यक्रम सम्पन्न गर्नका लागि सहयोग गर्नु हुने प्रमुख अतिथि प्रजिअ पोखरेल, अतिथिहरू, कार्यक्रम स्थल उपलब्ध गराउने विद्यालय परिवार सबैप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
सोही माविका प्रअ सूर्यप्रसाद बरालले क्यान्सर जस्तो रोगका बारेमा सचेतनाको कार्यक्रमका लागि आफ्नो विद्यालय रोजेर कार्यक्रम राखेकोमा आयोजक सहित प्रजिअ, अतिथिहरूको गरिमामय उपस्थितिले विद्यायलले गौरवबोध गरेको बताउँदै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
आयोजक संस्थाका सहसचिव भरतबाबु घिमिरेले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमा सोही विद्यालयकी शिक्षिका एवम् पत्रकार सिर्जना बरालले सञ्चालन गर्नु भएको थियो । सो कार्यक्रमको बीचबीचमा सो विद्यालयका छात्रछात्राहरू कक्षा– ४ की रोशनी तामाङ, कक्षा– ५ का सोहन परियार, सुशीला विक, सुनिता रानाले गीत गाएका थिए भने रोहन परियार र सुनिल विकले नाच्नेसमेतका कार्य गरेर मनोरञ्जन दिएकाथिए ।
सो अवसरमा गीत र नाच प्रस्तुत गर्नेहरूलाई प्रमुख अतिथि पोखरेल र कार्यक्रमका अध्यक्ष पहाडीले पुरस्कृत गर्नु भएको थियो । पोखरेलले पुरस्कार वितरण गर्नु भएको थियो भने पहाडीले टिका लगाएदिन् भएको थियो ।
उक्त कार्यक्रममा आयोजक सस्थाका उपाध्यक्ष नवराज बराल, सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष तिलकबहादुर दुलाल, आयोजक संस्थाका कोषाध्यक्ष तैमाया गुरुङ, सहसचिव भरतबाबु घिमिरे लगायतको सहभागिता थियो ।
विद्याज्योति माविमा पनि सचेतना कार्यक्रम :
यसैबीच, सो आयोजक संस्थाको ४३ औं स्थापना दिवस सुन्दरबजार नगरपालिका– ५ को खहरे स्थित विद्याज्योति माविमा पनि क्यान्सरका विरुद्धको सोही सचेतना कार्यक्रम गरिएको थियो । आयोजक अर्बुद रोग निवारण संस्था सचिव विराट न्यौपानेको संयोजकत्वमा उक्त कार्यक्रम भएको हो । सो अवसरमा कक्षा ७ देखि १० का विद्यार्थीहरू सहभागी थिए । उनीहरूलाई दुईबाट सेसनमा सो कार्यक्रम सञ्चालन गरिएको थियो ।
उक्त अवसरमा नमुना सामुदायिक अस्पतालका प्रमुख एवम् आयोजक संस्थाका सल्लाहकार हेमन्त श्रेष्ठ, सोही अस्पतालका डा बिबेक पौडेलले क्यान्सरको सचेतना विषयमा विशेष जानकारी दिनु भएको थियो । त्यस्तै, कक्षा ९÷१० लाई नगरपाकिलाको स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाले क्यान्सर र स्थानीय प्रदेश र संघ सरकारको भुमिका बारे प्रशिक्षण दिनु भएको थियो ।
त्यस्तै, कक्षा– ७÷८ का विद्यार्थीहरूलाई संस्थाका सचिव एवम् पत्रकार बिराट न्यौपाने दिवसका विविध पक्षका साथमा प्रकाश पार्नु भएको थियो । यसैगरी, सोही नगरपाकिलाको स्वास्थ्य शाखाका प्रमुख पियाले क्याम्सर रोगको बारेमा जानकारी दिनु भएको थियो ।
कार्यक्रमको समापनका अवसरमा सोही माविका प्रअ सुर्यबहादुर केसीले धन्यबाद मन्तव्य राख्नु भएको थियो ।
प्रकाशित मिति २०८२ भाद्र ३१, मंगलवार २२:५१ गते