आज राष्ट्रिय शोक, मुलुकभर सार्वजनिक बिदा

आज राष्ट्रिय शोक, मुलुकभर सार्वजनिक बिदा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज १ गते बुधबार ०७:१७

नेपाल सरकार (मन्त्रिपरिषद्) बाट असोज १ गते नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको हो ।

जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको शवयात्रासहित पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ हिजो अन्त्येष्टि गरिएको थियो ।

काठमाडौं– सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएका शहीदहरूको सम्मानमा आज देशभर शोक बिदा दिएको छ । मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
सामाजिक सञ्चाल बन्द गरिएको र मुलुकमा व्याप्त भएको भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा कम्तिमा ७३ जनाको मृत्यु भएको सम्झनामा आज असोज १ गते राष्ट्रिय शोक मनाइने भएको हो ।
मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताउनु भयो । उहाँका अनुसार सोही निर्णय अनुसार आज देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा छ । यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
सो आन्दोलनमा मृत्यु भएकाहरूको शवयात्रासहित पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ हिजो अन्त्येष्टि गरिएको थियो । कतिपय मृतकहरूको शव उनीहरूकै जिल्लामा पु¥याउने काममा समेत सरकारले सहयोग गरेको थियो ।

प्रकाशित मिति २०८२ आश्विन १, बुधबार ०७:१७ गते
हजुरको प्रतिक्रिया