लमजुङ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को गण्डकी प्रदेशस्तरीय जुम बैठक सम्पन्न भएको छ । सो बैठकमा सो दलका गण्डकी प्रदेश इन्चार्ज निवर्तमान सांसद शिशिर खनालले आउँदो फागुन २१ गते हुने निर्वाचन केन्द्रीत भई संगठन विस्तारमा लाग्न भदौ ३१ गते निर्देशन दिनु भयो ।
उहाँले निर्देशन दिनु अघि बैठकका सहभागीहरूसँग सुझाव, प्रश्न एवम् गुनासा संकलन गर्ने काम भएको थियो । प्राप्त सुझाव तथा गुनासा र प्रश्नहरूको उठान स्वभाविक भएको उल्लेख गर्दै पार्टीका इन्चार्ज एवम् निवर्तमान सांसद खनालले पार्टीका कुनै पनि नेताले बोलेका कुरा उहाँको व्यक्तिगत धारणा हो, पार्टीको आधिकारिक धारणा प्रायः दिनहुँ जसो केन्द्रको वक्तव्यमा आउने गरेको छ र त्यो हो भन्नुभयो । उहाँले लोकतान्त्रिक पार्टीमा विचार अभिव्यक्तिको स्वतन्त्रता हुने हुदा व्यक्तिगत धारणामा बढी नअल्झन आग्रह गर्नु भएको थियो ।
उहाँले भदौ २३ र २४ गतेको आन्दोलनले फरक ढंगले सोच्न र व्यवहार गर्नु पर्ने स्थिति सिर्जिएको भन्दै चुनौति थपिएको अनुभव सुनाउनु भयो । उहाँले चुनावमा जानुको विकल्प छैन, उच्च मनोबलका साथ निर्वाचनमा जुट्दै संगठन विस्तारमा लाग्नु होला, वर्तमानमा निर्वाचन एकसुत्रीय कार्यक्रम हो भन्ने उल्लेख गर्नुभयो ।
उहाँले असोज १ गते पार्टीको आधा झण्डा झुकाउने, ३ गते श्रद्धाञ्जली सभा गर्ने, आगजनी भएका स्थानको सरसफाई तथा पुनः निर्माणका लागि पार्टीको तर्फबाट स्वम्सेवा गर्ने, घाइतेको उपचारमा सहयोग गर्ने, शहीद परिवारसँग भेटघाट गर्ने, जेनजीले उठाएका अधिकांश मुद्दामा पार्टीकै मुद्दा भएको हुँदा मूलतः भ्रष्टाचार विरुद्धको अभियानलाई तिब्रता दिने र २ गतेदेखि संगठन विस्तारमा लाग्न निर्देशन दिनुभयो ।
निलो क्रान्तिका बाहक हामी हिंसामा विश्वास हुँदैन शान्ति हाम्रो पहिलो सर्त हो भन्दै सभपतिका पक्षमा गरिएका ठूला ठूला आन्दोलनका क्रममा पनि शान्तिपूर्ण तौरतरिकाले गरेको उहाँले स्मरण गर्नुभयो । उहाँले अनुशासनमा जोड दिदै सबै तहका हर नेता÷कार्यकर्ताले पार्टी अनुशासनको पालन गर्नै पर्छ भन्नुभयो ।
आन्दोलनमा मारिने शहीद हुने आगजनी गर्ने अपराधी ?
बैठकमा सहभागी भएकाहरू बाट पार्टीमा अनुशासनलाई कडाई गर्नु पर्ने, केन्द्रीयस्तर नेताहरूबाट दुई धारका कुरा गर्न नहुने भन्दै पार्टीले अर्लिइलेक्सन माग गरेर सामुहिक राजीनामा गरेपछि पनि संसद विघटन गर्नु पर्छ र हुँदैन भन्ने नेताका तर्कले अन्योल सिर्जिएको बताएका थिए । त्यस्तै, आन्दोलनमा मारिनेहरू शहीद भएका छन् भने आगजनी गर्नेलाई अपराधी करार गर्न नहुनेसमेत सुझाव आएको थियो । त्यसैगरी, अनुशासन विभाग निस्कृय भएको र त्यो विभागलाई प्रदेश, जिल्ला र पालिकामा समेत सक्रिय बनाउनु पर्ने सुझाव समेत आएको थियो । त्यस्तै, सुमनाले पार्टी छाड्दै गर्दा उठाइएका टिप्पणी गरिएको थियो । कसैले रास्वपालाई बसको संज्ञा दिइएकोमा ठीक भएको भन्ने तथा पार्टीको यो यात्रा पानी जहाजको जस्तो हुनुपर्ने तर्क पनि सुनिएको थियो ।
सो बैठकमा प्रदेशका ११ सबै जिल्लाका वडा तहदेखि जिल्ला समिति र प्रदेश समितिका करिब दुई सय जनाले भाग लिएका थिए ।
रास्वपाका प्रदेश सभापति राजन गौतमको अध्यक्षतामा भएको बैठकमा उहाँले जेनजी आन्दोलनमा भएको क्षतिको तुलनामा उपलब्धि कम भएको उल्लेख गर्दै बैठकमा सबैलाई सहभागी बनाउन र बोल्ने समय दिन नसकेकोलाई अन्यथा नलिन आग्रह गर्नु भएको थियो ।
रास्वपाको गण्डकी प्रदेशका महामन्त्री नवीन त्रिपाठीले उक्त बैठकको सञ्चालन गर्नु भएको थियो ।
प्रकाशित मिति २०८२ आश्विन १, बुधबार १०:३७ गते